बागलुङबजार । बाँदरका कारण बर्सेनि खेतीमा नोक्सानी खेप्दै आएका बागलुङबासीमा बालीबिमाप्रति आकर्षण बढ्न सकेको छैन ।
वर्षा, हिमपात, असिना, हावाहुरी तथा जङ्गली जनवारले बालीमा क्षति पुर्याए पनि उनीहरूमा आकर्षण नदेखिएको हो ।
बाँदरका कारण किसानको बालीमा बर्सेनि नोक्सानी भइरन्छ तर नोक्सानीको भरणपोषणका लागि आवश्यक रहेको बालीबिमातर्फ भने यहाँका किसान आकर्षित नभएको पाइएको छ । कृषि ज्ञान केन्द्र बागलुङले बालीबिमा गर्नका लागि किसानलई ‘प्रिमियम रकम’ समेत प्रदान गर्दछ । बालीको सम्भावित क्षतितर्फ किसानको ध्यान नगएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गत आवमा किसानलाई बालीबिमाको प्रमियम भुक्तानीका लागि कृषि ज्ञान केन्द्रले रु दुई लाख ४० हजार रकम विनियोजन गरेको थियो । हजारौँ किसान रहेको बागलुङमा बालीबिमा कार्यक्रमबाट लाभान्वित हुने किसानको सङ्ख्या १३ जना रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईका अनुसार किसानले गरेको बालीबिमाका आधारमा केन्द्रले बिमाको प्रिमियम रकम प्रदान गर्ने भने पनि १३ किसानले रु २७ हजार प्रिमियम रकम लगेको बताउनुभयो ।
बाँदरलाई जङ्गली जनवारको क्षतिको रूपमा बिमा दाबी गर्न सकिने जनाउँदै बालीबिमा गर्न किसानलाई प्रोत्साहनस्वरूपको कार्यक्रम कार्यान्वयन भए पनि उनीहरु आकर्षित नभएको उहाँको भनाइ छ । भुक्तानी प्रक्रिया झन्झटिलो भएका कारण किसानले बिमा गर्नेतर्फ आकर्षित नभएको जिल्ला कृषि सहकारी सङ्घका अध्यक्ष नरबहादुर थापाले जानकारी दिनुभयो । (रासस)





