काठमाडौँ । गायक प्रकाश सपुतले अर्को म्युजिक भिडियो ल्याएर आएका छन्, “दमाई महाराज” ।
यसअघि सार्वजनिक भइसकेको ‘बोल माया’ (‘गलबन्दी’) को अघिल्लो कडीको रूपमा उनले २०८० साउन ५ गते शुक्रबार सो भिडियो सार्वजनिक गरेका हुन् ।
भिडियोको कथावस्तु ‘गलबन्दी’ मा मन्दिर पसेबापत गाउँनिकाला गरिएको प्रसङ्गसँग जोडिन्छ । गाउँनिकाला गरिएको उक्त बालक पन्ध्र वर्ष बाहिर बसेर हिन्दु धर्मग्रन्थ अध्ययन गर्दछ । पछि फर्केर उसले गाउँमै मन्दिर पुननिर्माण तथा विद्यालय भवन निर्माण गर्न धार्मिक सप्ताह लगाउँछ ।
धार्मिक सप्ताहको अन्तिम दिन मुख्य पण्डितलाई कार्यक्रमबाट उठेको रकम आयोजकलाई हस्तान्तरण गर्न अनुरोध गर्दा मुख्य पण्डित नै ‘दमाई महाराज’ को रूपमा उही पन्ध्र वर्षअघि गाउँनिकाला गरिएको दलित बालक भएको खुलासा गर्दछन् ।
भिडियोमा ‘दमाई महाराज’ को उपर्युक्त स्वीकारोक्तिपछि पनि उपस्थित जनताले सप्ताहबाट उठेको दान स्वीकार गरेको देखाइएको छ ।
भिडियोको शब्द, सङ्गीत, स्वर, निर्देशन प्रकाश सपुतको रहेको छ । महिला स्वर शान्तिश्री परियारले दिएकी छिन् ।
प्रकाश सपुत, अञ्जली अधिकारी, गीता ढुङ्गानालगायतको अभिनय रहेको उक्त भिडियोको म्युजिक एरेन्ज सुदीप सागरले गरेका छन् ।
सपुतका यसअघिका “पिर” र “सकम्भरी” विवादमा परेका थिए । त्यस क्रममा उनले कतिपय दृष्य हटाउनुपरेको थियो ।