काठमाडौं । जातीय समता समाजले यही फागुन २२, २३ र २४ गते बुटवलमा गर्न गइरहेको राष्ट्रिय सम्मेलन स्थगित गरेको छ । मंगलबार वक्तव्य प्रकासित गरी समाजका अध्यक्ष दिलबहादुर विकले ‘अर्को निर्णय नहुँदासम्म सम्मेलन स्थगित गरिएको’ स्पष्ट पार्नुभएको छ ।
कोरोना भाइरसको संक्रमणको जोखिमका कारण सरकार, संघसंस्था तथा राजनीतिक दल तथा भातृ संस्थाहरुले भेला, सम्मेलन जस्ता धेरै मानिस जम्मा हुने कार्यक्रम धमाधम स्थगित गरेका छन् ।
यस्तो छ वक्तव्यः
‘विश्वव्यापी रुप लिँदै गइरहेको कोरोना भाइरसले नेपालमा पनि गम्भीर रुप लिने खतरा रहेको र विश्व स्वास्थ्य सङ्गठनले पनि नेपाललाई उच्च जोखिममा रहेको बताइरहेको अवस्थामा सरकारले समेत सतर्कताको लागि कुनै पनि सार्वजनिक भेला, सम्मेलन, सभा, विवाह एवं महोत्सवहरु आयोजना नगर्न आव्हान गरेको स्थितिलाई मध्यनजर गर्दै हामीले केन्द्रीय समितिको सहमतिमा २०७६ फागुन २२, २३ र २४ गते बुटवलमा सम्पन्न हुन गइरहेको जातीय समता समाजको चौथो राष्ट्रिय सम्मेलनलाई अर्को निर्णय नहुँदासम्मको लागि स्थगित गरेका छौँ ।’

