तानसेन । पाल्पा रामपुर नगरपालिका–१० स्थित होस्दीमा इन्टरनेटको सहायताबाट बङ्गुरपालन व्यवसाय सञ्चालन भइरहेको छ ।
यहाँका यमबहादुर सारूले बङ्गुरका पाठापाठी हुर्काउने र बिक्री गर्ने कार्यक्रममा इ्रन्टरनेटको सहायता लिनुभएको हो ।
पाँच वर्षसम्म बैदेसिक रोजगारीबाट गाउँ फर्केपछि उहाँले बङ्गुरपालन व्यवसाय रोज्नुभएको हो । विभिन्न पेसा, व्यवसायको खोजीमा रहनुभएका सारू फुर्सदको समय इन्टरनेटमा अध्ययन गरेर अन्तत: बङ्गुरपालन व्यवसायलाई आयआर्जनको माध्यमको रूपमा रोजेको उहाँ बताउनुहुन्छ ।
‘व्यवसाय गर्न औपचारिक शिक्षा नै लिनुपर्छ भन्ने छैन । इन्टरनेटको सुविधा छ । त्यहीँ आफूले खोजेका सबै कुराको जानकारी लिन पाइन्छ । इन्टरनेट हेरेर थालनी गरेको व्यवसाय अहिले राम्रै भइरहेको छ । यसमा म सन्तुष्ट छु’ उहाँले भन्नुभयो ।
कक्षा ७ सम्मको अध्ययन गर्नुभएका ३६ वर्षीय सारूले कुनै पनि तालिम नलिइकन इन्टरनेटबाट हेरेर सो व्यवसाय थालनी गर्नुभएको हो । तीनओटा बङ्गुरबाट व्यवसाय सुरु गर्नुभएका सारूले विदेशको कमाइभन्दा स्वदेशकै कमाइमा रमाउँदाको मज्जा नै बेग्लै रहेको बताउनुभयो ।
सारूलाई व्यवसायमा पत्नी यममाया सारूले साथ दिँदै आउनुभएको छ । अहिले उहाँको फार्ममा चार माउसहित हुर्कंदै गरेका १४ ओटा बङ्गुर छन् । माउ १२ ओटा पुर्याउने लक्ष्य छ । व्यवसायबाट पत्नी, तीन छोराछोरीको लालनपालन राम्रोसँग चलेको छ ।
उत्पादन भएका बङ्गुरका पाठापाठी छिमेकी जिल्ला स्याङ्जाका विभिन्न स्थानमा बिक्री हुने गरेको छ । एकओटा पाठापाठी रु पाँच हजार पाँच सयमा धमाधम बिक्री भइरहेको सारू बताउनुहुन्छ । उहाँले एक वर्षमा एक सय ५० भन्दा बढी पाठापाठी बेच्नुहुन्छ । यस व्यवसायबाट वार्षिक रु पाँच लाख बराबरको कमाई हुने गरेको सारूले बताउनुभयो ।
रामपुर नगरपालिकाले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत ब्याज अनुदान कार्यक्रममा छनौट भएपछि बङ्गुरलाई व्यावसायिक रूपमा पाल्नुभएको हो । नगरपालिकाको सहयोगमा दुई वर्षसम्म रु छ लाख रकमको ब्याज अनुदानले व्यवसायमा ठूलो सघाउ पुगेको उहाँको भनाइ छ । ब्याज अनुदान कार्यक्रम कृषि तथा पशुपालनको क्षेत्रमा केही व्यवसाय गर्छु भन्नेका लागि अति राम्रो रहेको उहाँ बताउनुहुन्छ । (रासस)