बागलुङ बजार । बागलुङका सबै स्थानीय तहका वडा वडामा पशुचौपायालाई लम्पिस्किन रोगबाट बचाउन औषधि र खोप पठाएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र्रले औषधि र खोप पठाएको हो ।
दुई हजार नौ सय पशु बिरामी भएकोले पालिका तहका प्राविधिकमार्फत खोप र औषधि पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा ऋषिराम सापकोटाले बताउनुभयो । केन्द्रले बागलुङ नगरपालिकाका लागि पाँच सय पशुलाई पुग्ने खोप पठाएको छ ।
लम्पिस्किनबाट बागलुङमा एक सय ६६ गाईको मृत्यु भएको छ । लम्पिस्किन लागेका गाईगोरुको शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा एक सय चार डिग्रीभन्दा बढी ज्वरो आउने हुन्छ । फार्म नै सञ्चालन गरेका किसानका गाईगोरु यस रोगबाट बढी बिरामी भएको पाइएको छ ।
वैशाखमा बागलुङको बडिगाड गाउँपालिकामा पहिलोपटक लम्पिस्किनको सङ्क्रमण देखिएको थियो । त्यसपछि क्रमश: अन्यत्र फैलिएको सापकोटाले बताउनुभयो ।
पशु बिरामी हुँदा दुध उत्पादन घटेको छ । मृत्यु भएका पशुको कारण किसानले लाखौँ क्षति व्यहोरेका छन् । ढोरपाटन नगरपालिकाका एक हजार दुई सय गाईगोरु यसबाट बिरामी छन् । निसीखोलामा पाँच सय १३, गलकोट नगरपालिकामा एक सय ४२, बडिगाड गाउँपालिकामा एक सय ८१ र तमानखोलामा एक सय ८९ गाई बिरामी परेका छन् । बागलुङ नगरपालिकामा पनि दुई सय २१ गाईमा पनि लम्पिस्किन देखिएको छ ।
सङ्क्रमण बढेपछि स्थानीय तहले खोप किनेर लगाएका थिए । भेटेरिनरी अस्पतालले चार हजार पाँच सय डोज खोप पालिका तहमा पठाएको सापकोटाले बताउनुभयो । सबैभन्दा धेरै सङ्क्रमण देखिएको ढोरपाटनमा प्राविधिकको अभावमा खोप लगाउन नसकिएको उहाँले बताउनुभयो ।
किर्ना, डाँस, भुसुना र लामखुट्टेबाट पशुमा यो रोग सङ्क्रमण फैलिने तथा गोठ फोहोर हुँदा पनि सङ्क्रमण बढी हुने गरेको पाइएको छ । (रासस)





