काठमाडौं । नेकपा (मसाल) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवम् नेकपा (माओवादी केन्द्र) का सल्लाहकार सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
बुधबार मृत्युवरण गरेकी दाहालप्रति मसालले सम्मानसहित श्रद्धाञ्जली अर्पण गरेको हो । महामन्त्री मोहनविक्रम सिंहले एक शोक वक्तव्य प्रकाशित गरी सीता दाहाल कम्युनिस्ट पार्टीको एउटा सक्रिय कार्यकर्ता तथा प्रचण्डको सहयोद्धा रहेको उल्लेख गर्दै उहाँले अप्ठ्यारो र कठिन परिस्थितिमा समेत पार्टी र प्रचण्डलाई धेरै नै मदत पुर्याएको स्मरण गर्नुभएको छ ।
यसअघि बुधबार पशुपति आर्यघाटमा दाहालप्रति अन्तिम श्रद्धाञ्जली दिन महामन्त्री सिंहसहित पार्टीका नेता कार्यकर्ताहरु उपस्थित हुनुभएको थियो ।
यस्तो छ श्रद्धाञ्जली वक्तव्य
का. सीता दाहालको मृत्युबाट हामीलाई धेरै दुःख लागेको छ । उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो र आज उहाँको दुःखद निधन भएको छ । त्यो अवस्थामा उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दै हामीले उहाँको सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।
का. सीता दाहाल कम्युनिस्ट पार्टीको एउटा सक्रिय कार्यकर्ता तथा का. प्रचण्डको सहयोद्धा पनि हुनुहुन्थ्यो । उहाँले धेरै अप्ठ्यारो र कठिन परिस्थितिमा पार्टी र आफ्नो पार्टीका नेता प्रचण्डलाई समेत धेरै नै मदत पु¥याउनु भएको थियो ।
हामीलाई यसको लागि पनि धेरै दुःख छ कि का. प्रचण्डले थोरै समयभित्र नै धेरै पीडा सहनु परेको छ । उहाँको जेठी छोरीको क्यान्सरद्वारा मृत्यु भएको थियो भने उहाँको एक मात्र छोरा प्रकाशको ह्दयघातबाट मृत्यु भएको थियो । उहाँकी पत्नी सीता लामो समयदेखि विरामी मात्र हुनु हुदैनथ्यो, उहाँ एक प्रकारले लामो समयदेखि मृत्युशैयामा नै हुनुहुन्थ्यो । आज उहाँको पनि मृत्यु भयो । यी सबै पारिवारिक दुःख र पीडाका लागि हामीले उहाँप्रति हार्दिक र गहिरो समवेदना प्रकट गर्दछौँ ।
यहाँ यो पनि उल्लेखनीय छ कि उहाँको सम्पूर्ण परिवार, पत्नी, छोराछोरीहरु सबै उहाँले सञ्चालन गरेको सशस्त्र सङ्घर्षमा उहाँका साथ सहभागी थिए । यस्ता नेताहरू कमै हुन्छन, जसले आफ्नो सम्पूर्ण परिवारलाई आफ्नो सिद्धान्त, उद्देश्य र आस्था समेतका लागि, त्यो पनि अत्यन्त प्रतिकूल परिस्थितिमा साथै होमेका हुन्छन् । का. प्रचण्डको परिवार त्यही प्रकारको थियो । त्यो कारणले पनि हामीले उहाँ र उहाँको परिवारप्रति ठूलो सम्मान प्रकट गर्दछौँ । खासगरेर अहिले पार्टीका धेरै नेता र कार्यकर्ताका परिवारका धेरै जसो सदस्यहरूमा आफ्ना बुवाआमाका आदर्शहरुलाई छाडेर आफ्ना व्यक्तिगत महत्वकांक्षा र उपभोत्तावादी चिन्तनलाई पूरा गर्नेतिर नै बढी लाग्ने गरेको पृष्ठभूमिमा का. प्रचण्डको त्यो परिवार हामी सबैको लागि एउटा आदर्श उदाहरण हुन सक्दछ । अन्तमा, का. सीता दाहालप्रति हामीले पुनः श्रद्धाञ्जली प्रकट गर्न चाहान्छौँ ।
२०८० असार २७ गते ।
मोहनविक्रम सिंह
महामन्त्री