रामप्रकाश पुरी ##
लोकप्रियतावाद (पपुलिजम) ले अराजकता र जुनसुकै प्रकारको खराब परिस्थिति निम्त्याउन सक्दछ । यसको दार्शनिक र सैद्धान्तिक आधार त हुँदैन नै, त्यसका साथै संघर्षको कुनै पृष्ठभूमि पनि हुँदैन । लोकप्रियतावाद, जसलाई पपुलिजम भनेर बढी उच्चारण गरिन्छ । उग्रवामपन्थी विचारधाराको खण्डन गर्दा नेपालमा पहिले मोहनविक्रम सिंहले पपुलिस्ट सोचाइको आलोचना गरेको पाइन्छ ।
पछिल्लो समयमा लोकप्रियतावाद अर्थात् पपुलिजमबारे नेपालमा चर्चा हुन थालेको छ र यसप्रति मानिसहरूको ध्यान जान थालेको छ । यो स्वागतयोग्य कुरा हो ।
संसदमा पपुलिजम शीर्षकमा २०७९ भाद्र १० गते अनलाइन खबरमा रघुनाथ बजगाईंको एक सामग्री प्रकाशित भयो । उक्त सामग्रीमा नेपाली काँग्रेसका नेता गगन थापाले एमसीसीको वकालत गर्दा प्रयोग भएका सस्तो लोकप्रियताका शब्द पाइन्छन् : “यस (एमसीसी) लाई राष्ट्रघाती भनिएको छ । यो सम्झौताका कारण स्वाधीनता तल–माथि हुन्छ भनिएको छ । कहींकतै तल–माथि भयो भने नेपालले जे व्यहोर्छ म हस्ताक्षर गर्ने सांसद भएर सरी भनेर मात्र पाउँदिनँ ।
त्यस्तो भयो भने म काठमाडौंको सांसद हुँ । थानकोट कटाइयोस्, नागरिकता खोसियोस्, चारपाटा मुडियोस् । सम्पत्ति विवरण बुझाएको छु, सम्पत्ति खोसियोस् । माननीयज्यूहरू तयार हो ?” उनको त्यो भनाइबारे राजनीतिशास्त्री प्रा.डा. लोकराज बरालको भनाइ पनि त्यहाँ उल्लेख छ : “उहाँ जत्तिको सार्वजनिक छवि र सामाजिक पूँजी भएको सांसदले यो तहको भाषा प्रयोग गर्नै पर्दैनथ्यो । एमसीसी किन देशका पक्षमा छ भनेर शालीन प्रस्तुति दिएको भए पुग्थ्यो । यो बढी नै लोकरिझ्याइँ भयो ।” सोही मितिकै उक्त अनलाइन खबरको अर्को सामग्रीमा विद्या भट्टराईले रघुनाथ बजगाईँसँगको कुराकानीमा यो बताएकी छन् : “लोकप्रिय हुन जे बिक्छ, त्यही बोल्ने प्रवृत्ति छ ।”
बराल र भट्टराईका उपर्युक्त टिप्पणीबाट यो थाहा हुन्छ कि नेपालमा पपुलिज्मको प्रयोग हुने प्रयास भइरहेको छ । अनुचित प्रकारले प्रकट भएर लोकरिझ्याइँ गर्ने कार्य लोकचाहनाको दोहन गर्ने प्रयत्न हो । त्यसरी लोकचाहनाको दोहन गरिसकेपछि स्वयम् लोकचाहनामाथि फासिस्ट शासन चलाउन कुनै शक्ति निर्माण हुन्छ भने त्यो जनतामा हुने पपुलिस्ट सोचाइका कारणले हुने गर्दछ । त्यो सामग्रीमा यो कुरा पनि उल्लेख छ : “लोकप्रिय मतबाट निर्वाचित सार्वभौम जनताका प्रतिनिधि सांसदहरू ‘भाइरल’ हुने लोभमा तत्काल कार्यान्वयन गर्न असम्भव, तथ्यका दृष्टिले अपुष्ट र शैलीगत रूपमा पनि उत्तेजक र अस्वाभाविक भाषा प्रयोग गरिरहेका छन् ।” संसदमा फस्टाएको पपुलिजमबारे त्यहाँ अरू पनि महत्वपूर्ण विवरण दिइएका छन् ।
लोकप्रियतावादको हावाबाट सबैभन्दा बढी मध्यमवर्गीय चरित्र प्रभावित हुने गर्दछ । स्वार्थी, महत्वाकांक्षीहरू मात्र होइन, राजनीतिमा न्यून चेतनास्तर भएका मानिसहरूको ठूलो भीड पपुलिजमको कित्तामा जाने सम्भावना रहन्छ । उनीहरूले बनाएको त्यो चक्रव्यूहमा सबैभन्दा पहिले जनताको स्वतन्त्रतालाई फाँसीमा चढाउन थालिन्छ । सकारात्मक परिवर्तनका लागि भएका उपलब्धिलाई समाप्त गरेर जनताका समर्थन प्राप्त गरेका बढी खराब तत्वहरू शक्तिसम्पन्न हुन्छन् ।
पपुलिजमबाट खराब नतिजा बाहेक अरू हुँदैन भन्ने स्पष्ट गर्दै ने.क.पा.(मसाल)को गत वैशाख १३ र १४ गते सम्पन्न राष्ट्रिय प्रशिक्षण भेलाले यो निष्कर्ष दिएको थियो : “संसारमा लोकप्रियताको लहर वा लोकप्रियतावादबाट उत्पन्न भएको जनमतका कारणले पनि कैयौँ गलत तत्वहरूले चुनावमा भारी विजय प्राप्त गर्ने गरेका उदाहरणहरू थुप्रै पाइन्छन् । लोकप्रियतावादको लहरको अर्थ हुन्छ, कुनै सिद्धान्त, नीति, कार्यक्रम वा जनहितैषी कार्यक्रमका आधारमा होइन, एक वा अर्को प्रकारका गलत भावनालाई उभारेर गलत तत्वहरूले चुनाव जित्नु नै हुन जान्छ । संसारमा त्यस प्रकारका थुप्रै उदाहरणहरू छन् ।
तर यहाँ हामीले अन्तर्राष्ट्रिय स्तरका दुईवटा उदाहरणको मात्र चर्चा गर्ने छौँ । प्रथम, हिटलरको नाजीवाद । हिटलरले जातिवादको, यहुदीको विरोध र जर्मन जातिको श्रेष्ठताका जातीय व्याख्याका आधारमा व्यापक जनमत जुटाएका थिए र चुनावमा सफलता पनि प्राप्त गरे । जर्मनका इतिहासकारहरूले यो मत प्रकट गरेका छन् कि महिलाहरूका व्यापक समर्थन र भारी मतका कारणले नै हिटलरले विजय प्राप्त गरेका थिए ।
जर्मनका महिलाहरूको अत्यधिक मतले हिटलरलाई विजय बनायो तर पछि हिटलरले चलाएको आतङ्क र अत्याचारका कारणले ठूलो सङ्ख्यामा उनीहरूका पति, पिता, छोरा आदि वा स्वयम् महिलाहरूलाई पनि हिटलरद्वारा यातना दिने वा हत्या गर्ने काम गरिएको हुनाले जर्मनी मात्र हैन, संसारभरि नै महिलाहरूमा ठूलो रूवाबासी भएको थियो ।
द्वितीय, भारतमा हिन्दु धर्मको समर्थन र मुसलमानको विरोधका भावनाहरूलाई उभारेर भारतीय जनता पार्टीले चुनावमा बारम्बार सफलता प्राप्त गर्दै आएको छ । यस सन्दर्भमा नेपालमा केही उदारहरणहरूको चर्चा गर्नु पनि अप्रासाङ्गिक हुने छैन ।
राजा महेन्द्रले वीपी सरकारका विरुद्ध पैदा भएका जनमत र भ्रष्टाचार समेतका विरुद्धका जनभावनाहरूलाई उभारेर पञ्चायती व्यवस्था कायम गरेका थिए र त्यो व्यवस्था तीस वर्षसम्म रहेको थियो ।
तर त्यो पञ्चायती कालमा जनतामाथि कति भ्रष्टाचार, तस्करी र महिलाहरूमाथि बलात्कार समेत भए । त्यो कुराको इतिहास साक्षी छ । त्यही प्रकारको परम्परालाई अगाडि बढाउँदै अहिले पनि राजावादी, “स्वतन्त्र पार्टी” वा कतिपय स्वतन्त्र व्यक्तिहरूले पुराना पार्टी, भ्रष्टाचार आदिको कुरा उठाउँदै आफ्नो पक्षमा जनमत तयार पार्ने प्रयत्न गर्दै आएका छन् ।
जनताले पनि लोकप्रियतावादी विचारहरूका कारणले संसारमा भएका कैयौं गम्भीर परिणामहरूमाथि विचार नगरिकन अन्धाधुन्द प्रकारले राजावादी वा साम्राज्यवादपरस्त तत्वहरूका पछाडि लाग्ने काम गरिरहेका छन् । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यस प्रकारको लोकप्रियतावादी लहरका गम्भीर दुष्परिणाम हुने छन् ।
त्यसकारण नेपाली जनताले लोकप्रियतावाद जस्तो गलत जनमतका आधारमा शक्तिशाली बन्न खोजिरहेका राजावादी र अमेरिकी साम्राज्यवादपरस्त तत्वहरू र अमेरिकी साम्राज्यवाद समेतका विरुद्ध उच्च प्रकारको सतर्कता अपनाउनुपर्ने र उनीहरूबाट सम्भावित खतराका विरुद्धको सङ्घर्षमा जोड दिनुपर्ने आवश्यकता छ ।” (तात्कालिक राजनीतिक प्रस्ताव, २०८०, पृ. ७–९)रातो पाटी अनलाइन खबरमा २०८० असार २१ गते बीरेन्द्र कटुवालको “नीति नियम अपहरणमा परेको सूचना” शीर्षकमा एक सामग्री प्रकाशित भएको छ । त्यसमा उनले बताएका छन् : “असल नेताहरूको खोजी गर्ने ध्याउन्नमा विधि र पद्धतिलाई गौण मान्न पुगियो भने पनि अपेक्षित परिणाम हात लाग्दैन । त्यसको फाइदा ‘पपुलिस्ट’हरूले लिन्छन् । र, पपुलिस्टहरूले अन्ततोगत्वा समाजलाई पछाडि धकेल्ने नै हो ।
वर्तमान परिप्रेक्ष्यमा अन्तर्राष्ट्रिय जगतमा डोनाल्ड ट्रम्प, नरेन्द्र मोदी र नेपालको हकमा रविन्द्र मिश्रलाई हेरे पुग्छ । त्यसो भएको हुनाले असल विधि र पद्धति पनि त्यति नै महत्त्वपूर्ण हुन्छ, जति असल नेताको हुन्छ । व्यक्ति प्रधान कि नीतिप्रधान भन्ने बहसले त्यति महत्व राख्दैन । नेता र नीति एकअर्कोमा अन्योन्याश्रित सम्बन्ध सूत्रमा बाँधिनुपर्छ । त्यसो भयो भने मात्रै संस्थाले लक्षित र अपेक्षित परिणाम हासिल गर्न सक्छन् ।”
नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाको “पपुलिजम : लोकतन्त्रको खतरा” शीर्षकको लेख २०८० असार २४ गतेको कान्तिपुर साप्ताहिकमा प्रकाशित भयो । त्यो लेखबाट नेपालमा लोकप्रियतावादको स्थिति र त्यसले भविष्यमा लोकतन्त्रका विरुद्ध निर्माण गर्ने नकारात्मक प्रभावको स्थितिलाई राम्रोसँग बुझ्न सकिन्छ ।
तत्काल सबैमाथि हाम्रो ध्यान पुग्न नसकेको भएपनि पपुलिजमले देशमा निम्त्याउन सक्ने नकारात्मक परिस्थितिबारे अरू लेखक र राजनीतिक वृत्तले पनि विभिन्न सञ्चार माध्यम र स्थलमा अवश्य पनि बहस चलाएका छन् भन्ने हामीलाई विश्वास छ ।
लोकप्रियतावादको कुनै दार्शनिक तथा वैचारिक आधार नभएपनि तात्कालिक नकारात्मक परिस्थितिको विकल्पमा कोरा सपना बाँडेर झन् जनतालाई आकर्षित गर्दछ । गत चुनावमा देखिएको लोकप्रियतावादबाट न त राम्रो पुँजीवाद चाहने व्यवस्थाको परिकल्पना छ, न त कुनै समाजवाद र साम्यवादको परिकल्पना नै छ । तर पनि त्यो अगाडि आइरहेको छ । दर्शन, विचार, सङ्गठन, सङ्घर्ष आदिको पृष्ठभूमिको धरातलबाट हेर्दा फगत व्यक्तिका पछाडि दौडिएका मानिसहरुको भीड अनिष्ट निम्त्याउने पूर्व सुचनाको रूपमा बुझ्न सकिन्छ ।
पपुलर भोटको आधारमा हत्यारा, अपराधी, भ्रष्टचारी, तस्करी आदि नीति निर्माण गर्ने स्थानमा पुग्न सफल हुनु, साम्राज्यवादी तत्व शक्तिशाली बन्न सफल हुनु, प्रतिगमनकारी तत्वको पुनरागमन हुनु आदि लोकतन्त्र, गणतन्त्र वा अग्रगामी परिवर्तनको लागि कहिल्यै पनि सकारात्मक कुरा हुन सक्दैन । राजनीतिक पृष्ठभूमि, दर्शन, विचार र परिश्रम बिना नै कुनै शक्ति जब्बर भएर उदाउनुमा पपुलिष्ट मतले भूमिका खेल्दछ ।
अनलाइन खबरमा २०८० जेठ ०७ गते डम्बर खतिवडाको “नयाँको प्रियतावाद कि पुरानाको अक्षमता” शीर्षकमा एक सामग्री प्रकाशित भएको छ । त्यसमा भनिएको छ : “आजको प्रियतावादसँग लड्ने नैतिक अधिकार पनि तिनीहरूसँग मात्रै हुन्छ, जो प्रियतावादको स्रोतसँग हिजोदेखि नै लडेका थिए ।” पपुलिजम अगाडि आउनका लागि हिजोको दिनमा सामाजिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेका विद्यमान राजनीतिक शक्तिको गलत कार्यशैली र जनताप्रतिको अनुत्तरदायी रबैया जिम्मेवार रहेको छ । आफ्नो कार्यशैलीमा सुधार नल्याएमा देशका लागि अनिष्टकारी समयको आमन्त्रण हुन्छ ।
त्यसले देशको भलो नगर्ने कुराबारे कुनै दार्शनिक वहसको आवश्यकता छैन । लोकप्रियतावाद समाजलाई लक्ष्यमा पु¥याउने साधन र साध्य दुबै होइन । वास्तवमा लोकप्रियतावाद खराब हो ।
त्यसले लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि भलो नगर्ने कुरा निश्चित छ । हिजोको दिनमा लोकतन्त्रका लागि लडेका शक्तिहरूले लोकप्रियतावादका विरुद्ध लड्ने नैतिक शक्ति गुमाए भने लोकप्रियतावादीहरूको सामाथ्र्य बढेर जानेछ । त्यसपछि देशमा अरू डरलाग्दो अवस्थाको सिर्जना हुन्छ । लोकतन्त्रबाट आर्जित नागरिक अधिकार नष्ट हुँदै जाने प्रक्रिया सुरु हुनेछ ।
त्यसैले लोकतन्त्रको सान्दर्भिक र संस्थागत विकासलाई केन्द्रमा राखेर उच्च नैतिक शक्ति निर्माण गर्नेतर्फ लोकतन्त्र र गणतन्त्रवादी शक्तिहरूले आफूलाई मूर्त बनाउनु जरूरी छ ।
२०८० असार २६ गते ।

