गौरिश्वर पाण्डे ##
पदार्थले चेतनाको विकास गर्दछ । त्यसकारण भौतिक परिस्थितिले चेतनाको निर्धारण गर्दछ भन्ने कुरा हामीले द्वन्द्वात्मक भौतिकवादको सामान्य अध्ययनबाट बुझेको कुरा हो । तसर्थ कुनै पनि विषयमा टीकाटिप्पणी गर्नका लागि पहिले त्यो विषयसित सम्बन्धित पदार्थ हाम्रा अगाडि हुनुपर्यो अनि मात्र त्यस सकारात्मक र नकारात्मक विषयमा हामीलाई बहस छलफल गर्न सजिलो हुन्छ ।
हामीले प्रकृतिमा भएभन्दा छुट्टै वस्तु प्राप्त गर्न सक्दैनौँ, केवल प्राकृतिक जगत्मा भएका वस्तुको पहिचान गरी तिनीहरूलाई बढीभन्दा बढी मानवोपयोगी बनाउने कोसिस गरिएको हुन्छ† जस्तै : पहिले जङ्गली युगमा मानिसहरू जङ्गलमा बस्दथे† जङ्गलका जडिबुटी र किराफट्याग्राका साथै विभिन्न जङ्गली जनावरको सिकार गर्दथे भने त्यति बेला सभ्यताको विकास भएको थिएन । आगो पत्ता लागेको थिएन । खासमा जङ्गली मान्छेहरूको चेतनास्तर पनि त्यही प्रकारको थियो ।
पछि समाज विकासको क्रम बढ्दै गयो । मानिसहरूको चेतनास्तर पनि विकसित हुँदै गयो । जङ्गली युग, सामन्ती हुँदै पुँजीवादी युगमा प्रवेश गरिसक्दा मानिसका आवश्यकता बढ्दै जानुका साथै चेतनास्तर पनि त्यही प्रकारले विकास हुँदै गयो । राज्यको उत्पत्ति र व्यक्तिगत सम्पत्तिको विकास हुँदै जाँदा समाज वर्गमा विभाजित भयो ।
वर्ग विभाजन भएपछि मानिसहरूको बिचमा सम्पत्ति र आफ्नो समूह कसले बलियो बनाउने भन्ने विषयमा प्रतिस्पर्धा हुँदै जान थाल्यो । राज्यसत्ता सञ्चालनमा रहेका टाठाबाठाहरूले राज्यसत्ताबाहिर भएकालाई दबाउने, उनीहरूसँग भएका मालसामान खोस्ने, लुट्ने र आफूले प्रयोग गर्ने गर्न थाले र दलितलाई आफ्नो आवश्यकताअनुसार खेताला, गोठाला, हली, भरियाको रूपमा प्रयोग गर्दै जान थाले । साथै राज्यसत्ताबाट विमुख भएका मानिसलाई दासताको व्यवहार गर्ने कार्य गरे भने पीडितहरू लामो समयसम्म निरीह बनेर मालिकको इच्छा पूरा गर्ने साधनको रूपमा प्रयोग हुँदै गए ।
यो क्रम जारी रहँदै जाँदा विकासक्रम बढ्दै जाने क्रममा पीडितहरूको पनि चेतनास्तर बढ्दै गयो । आफूमाथि राज्यका मालिकबाट हुने अन्यायका विरुद्ध आक्रोश पैदा हुन थाल्यो । त्यस क्रममा उनीहरूमध्ये केही सचेत व्यक्तिले मालिकको आदेश नमान्ने मालिकका विरुद्ध हल्ला गर्ने, मालिकमाथि बलियोले आक्रमण गर्ने जस्ता गतिविधि बढाउन थाले । त्यसपछि मालिकहरूले पनि आफू सुरक्षित हुने नयाँ तरिका अपनाउँदै जाने क्रममा उनीहरूले बलिया युवा र मूर्ख व्यक्तिलाई आफ्नो पक्षमा पार्न विभिन्न प्रकारका भ्रम, आश्वासन दिएर आफ्नो सुरक्षाका लागि मालिकको प्रयोग गर्न भने । उता, पीडितहरू पनि मालिकको आक्रमणबाट जोगिन एकजुट बन्न थाले । अब एकार्काको खतराबाट बच्न आआफ्नो समूह बलियो बनाउने प्रक्रिया अगाडि बढ्यो ।
अब म यो विषयमा यति नै लेख्दछु र शीर्षकअनुसारको विषयवस्तुमा प्रवेश गर्दछु । खासमा यो लेखको शीर्षक सङ्गठन निर्माण र परिचालनसम्बन्धमा भएकाले मैले यसै विषयमा केही प्रष्ट पार्न चाहन्छु ।
सङ्घसंस्था वा सङ्गठन भन्नाले दुई वा सोभन्दा बढी मानिस मिलेर निश्चित लक्ष्य र उद्देश्य प्राप्त गर्नका लागि बनाएको एउटा मानव निर्मित संस्था हो । यसका आआफ्नै विधान कार्ययोजना, नीति, सिद्धान्त र लक्ष्य, उद्देश्य रहेका हुन्छन्† जस्तै : कसैले स्कुल बनाएका हुन्छन्† कसैले सहकारी निर्माण गरेका हुन्छन् । कसैले विभिन्न प्रकारका उपभोक्ता समिति निर्माण गरेका हुन्छन्† कसैले विभिन्न प्रकारका समूह निर्माण गरेका हुन्छन् । यी सबैको आआफ्नै लक्ष्य, उद्देश्य रहेका हुन्छन् ।
अब हामीले राजनीतिक लक्ष्य, उद्देश्यका साथ गठन र परिचालन गरिने सङ्गठनको विषयमा केही कुरा लेखौँ ।
राजनैतिक प्रकारले गठन हुने सङ्गठनको मुख्य उद्देश्य आफ्नो विधान, कार्ययोजना, घोषणापत्र र दर्शनअनुसार राज्यसत्ता आफ्नो पहुँचमा लिएर आफ्नो अनुकूलतामा सञ्चालन गर्नु हो ।
यस सम्बन्धमा कुरा गर्न जति सजिलो छ, व्यवहारमा उतारेर हेर्न हजारौँ गुणा कठिन छ । सङ्गठन वर्तमान राज्यसत्ता ध्वस्त पारी आफ्नो पहुँचमा लिन मात्र निर्माण गरिँदैन, वर्तमानमा राज्यसत्तालाई अहिलेको भन्दा अझ बलियो र व्यवस्थित बनाएर आफ्ना प्रतिक्रियावादी प्रारूपलाई जोगाइराख्नका लागि पनि निर्माण गरिन्छ । त्यसकारण कम्युनिस्ट पार्टीले वर्तमान राज्यसत्तालाई कमजोर बनाउँदै भविष्यमा आफ्नो नेतृत्वमा सशस्त्र सङ्घर्ष गरी यो राज्यसत्ता ध्वस्त पारी नयाँ जनवादी समाजवाद हुँदै अन्तमा साम्यवादी समाज स्थापनासँगै राज्यसत्ताको अन्त्य गर्ने लक्ष्य र उद्देश्यका साथ सङ्गठन निर्माण गर्नुपर्दछ र गरिएको हुन्छ ।
पहिलो कुरा हामीले सङ्गठन निर्माणमा गम्भीर प्रकारले ध्यान दिनुपर्दछ । कम्युनिस्ट पार्टीको सङ्गठन निर्माण गर्दा हामीले उपरी प्रकारको सोचाइ राख्नुहुँदैन ।
सङ्गठन बनाउन मानिसको खाँचो पर्दछ । कम्युनिस्ट पार्टीको सङ्गठन बनाउनको लागि आफ्ना आधारभूत वर्गमाथि आधारित हुनुपर्दछ । कम्युनिस्ट पार्टीको आधारभूत वर्ग भनेका किसान र मजदुर नै हुन् । त्यसकारण हामी हाम्रा आधारभूत वर्गका बिचमा गएर आफ्नो गतिविधि सुरु गर्नुपर्ने हुन्छ । यो काम त्यति सहज छैन । कम्युनिस्ट पार्टीको काम सजिलो काम पनि पर्दैन । कम्युनिस्ट कार्यकर्ताले सजिलो कामको आशा तत्काल गर्नु पनि हुँदैन । आधारभूत वर्गका बिचमा हामी जाँदाबित्तिकै कोही पनि हाम्रो लक्ष्य उद्देश्यअनुसार सङ्गठनमा बस्न मान्दैनन् । उनीहरूको इच्छा, चाहनाबिना सङ्गठनमा राख्यौँ भने त्यो सङ्गठन चल्दैन । त्यसैले पहिलो काम आधारभूत वर्गलाई हाम्रा लक्ष्य, उद्देश्य, हाम्रो सिद्धान्त र राजनीति र सङ्गठनको बारेमा पटक पटक प्रशिक्षण, प्रचार प्रसार, प्रकाशन, अन्तरक्रियाद्वारा बुझाउने कोसिसका साथ सङ्गठन निर्माण गर्नुपर्दछ । त्यसरी हाम्रो राजनीति बुझाएर निर्माण गरेको सङ्गठन तुलनात्मक हिसाबले टिकाउ हुन्छ ।
तर सङ्गठन निर्माण गर्नु मात्र ठुलो कुरा होइन, त्यसलाई कम्युनिस्ट पार्टीको लक्ष्यअनुसार परिचालन गर्न अत्यन्त कठिनाइ छ ।
पहिलो कुरा हाम्रो पिछडिएको क्षेत्रमा र निम्नपुँजीवादी चिन्तनबाट ग्रसित अवस्थाका कारण कुनै पनि काममा निरन्तरता देखिँदैन । दोस्रो कुरा, व्यक्तिगत महŒवाकाङ्क्षा कारण दृष्टिकोण स्पष्ट हुँदैन भने अर्कोतिर, प्रतिक्रियावादी राज्यसत्ताका मतियारले चौतर्फी आक्रमण गरेका हुन्छन् । यी सबै कुरालाई छिचोलेर सङ्गठन परिचालन गर्नु सजिलो विषय होइन ।
हाम्रो काम सुरु गर्ने र त्यो कामलाई निरन्तरता दिने बानी बसेको छैन । हामीले मौसमी प्रकारका काम गर्ने गरेका छौँ । यस प्रकारको बानीले सङ्गठन निर्माण र परिचालन व्यवस्थित हुन सक्दैन ।
एउटा भनाइ छ : “सही बुहारी, रही व्यापार” । यसको अर्थ हुन्छ, बुहारी सासु बन्नका लागि धेरै कुरा सहनुपर्दछ । दु:खकष्ट र अप्ठ्यारामा नआत्तिएर पार गर्नुपर्दछ र पछि सासुको भूमिकामा पुग्न सकिन्छ । साथै व्यापार गर्ने व्यापारीले पनि कुनै समयमा व्यापारमा घाटामा गयो भनेर तुरुन्त व्यापार छोडियो भने त्यो व्यापारी सफल हुन सक्दैन । कठिन परिस्थितिको सामना गरी धैर्यताका साथ व्यापार गर्यो भने मात्र व्यापारी सफल हुन्छ । व्यापारीले तुरुन्त नाफा खोज्नु गलत हुन्छ ।
सावा रहे नाफा कहिले बढी हुन्छ, कहिले कम । जोगाउने सावा हो भने जस्तै राजनीति गर्नेले पनि सङ्गठन सानो भयो भनेर छोडेर भाग्ने, ठुलो हुँदा अनावश्यक जोस देखाउनेभन्दा पनि सङ्गठनको सिद्धान्त र राजनीतिअनुसारको स्थिति जोगाउने कोसिस गर्नुपर्दछ ।
हाम्रो आवश्यकताले भन्दा पनि आधारभूत वर्गको कुरा बुझेर यो पार्टीबाहेक अरूमा हाम्रो मुक्ति छैन भन्ने अवस्था सृजना हुँदाको बखत् सबै हाम्रो पार्टीमा गोलबन्द भएर आफ्ना दुस्मनका विरुद्ध युद्ध छेड्ने कुरामा कुनै शङ्का छैन । त्यसकारण हामीले जुनसुकै बेला पनि सङ्गठन निर्माण र परिचालनमा कसरी सफलता प्राप्त गरी अगाडि बढ्न सकिन्छ भनेर सोचविचार गर्दै योजनाका साथ अगाडि बढ्नुपर्छ ।

