काठमाडौँ । केही दिनयता कतिपय स्थानीय तहले भारतीय चलचित्रमाथि प्रतिबन्ध लगाएपछि सो प्रतिबन्ध खुलाउन माग गरिएको छ ।
चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घले यस्तो माग गरेको हो ।
त्यस क्रममा भारतीय चलचित्रको प्रदर्शन रोक्ने काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्णय विरुद्ध उच्च अदालतमा रिटसमेत दायर गरेको छ ।
बुधबार सङ्घको तर्फबाट रिट दर्ता भएको पाटन उच्च अदालतका प्रवक्ता मन्दिरा शाहीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘रिट दायर भएको छ । उहाँहरूले सम्पूर्ण हिन्दी चलचित्रको प्रदर्शन रोक्ने निर्णयलाई खारेज गर्ने माग गर्नुभएको छ । आउँदो बिहीबार यसको सुनुवाइ हुने छ ।’
महानगरपालिकाले भारतीय चलचित्र “आदिपुरुष” मा “सीता भारतीय छोरी हुन्” भन्ने आशयको संवाद नहटाएको भन्दै गत सोमबारदेखि १७ चलचित्र भवनमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएको थियो ।