पोखरा । गण्डकी प्रदेशलाई आर्थिक वर्ष २०८०/८१ मा “उज्यालो गण्डकी प्रदेश” घोषणा गरिने भएको छ ।
सरकारको आव २०८०/८१ को बजेटमा गण्डकी प्रदेशभर बिद्युतीकरण र वैकल्पिक ऊर्जाको विस्तार गरी यसै वर्ष “उज्यालो गण्डकी प्रदेश” बताइएको हो ।
बिद्युत् सेवाबाट वञ्चित रहेका प्रदेशभित्रका बाँकी घरधुरीमा सौर्य ऊर्जा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री जीतप्रकाश आलेले बताउनुभयो ।
क्षतिग्रस्त लघु जलबिद्युत् आयोजनाको मर्मतसम्भार तथा निर्माण गरी लघुजलबिद्युत् आयोजनाबाट उत्पादन भएको बिद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्न रु एक करोड ७५ लाख बजेट विनियोजन गरिएको छ ।
प्रदेशभित्र वायु ऊर्जा र फ्लोटिङ सोलारबाट ऊर्जा उत्पादनका लागि सम्भाव्यता अध्ययन कार्य प्रारम्भ गरिने बताउँदै मन्त्री आलेले एलपी ग्यासलाई प्रतिस्थापन गरी बिद्युतीय चुलो प्रयोगकर्ताको सङ्ख्या अभिवृद्धि गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
सार्वजनिक कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, शिक्षण संस्थामा नियमित बिद्युत् उपलब्ध गराउने उद्देश्यले संस्थागत सौर्य ऊर्जा जडान कार्यलाई निरन्तरता दिइएको छ ।
उच्च हिमाली भेगका बर्थिङ सेन्टर सञ्चालित स्वास्थ्यचौकीमा कम्तीमा एउटा कोठालाई तताउने गरी सौर्य ऊर्जा प्रविधि जडान कार्य सुरु गर्न संस्थागत सौर्य ऊर्जा प्रविधि जडान कार्यक्रम सञ्चालन गरिने र त्यसका लागि रु एक करोड विनियोजन गरिएको सरकारले जनाएको छ ।
प्रदेशभित्र सञ्चालित लिफ्ट खानेपानी र लिफ्ट सिँचाइ आयोजनामा शत्प्रतिशतसम्म बिद्युत् महसुलमा अनुदान व्यवस्था मिलाइएको र त्यसका लागि रु पाँच करोड विनियोजन गरिएको मन्त्री आलेले बताउनुभयो ।





