काठमाडौं । किसान र बिक्रेताले कालिमाटी तरकारी बजारबाट टमाटर सडकमा फ्याँकेका छन्। टमाटरसहितका नेपाली तरकारीले भाउ नपाएको भन्दै कालिमाटी तरकारी बजारका बिक्रेताहरुले सडकमा पोखेका हुन्।
आइतबार बिहान कालीमाटी बजारमा विरोध प्रदर्शनका क्रममा उनीहरुले बजार क्षेत्रदेखि सडकसम्मै टमाटर पोखे। भारतबाट आयातित तरकारीका कारण स्वदेशी उत्पादनले उचित भाउ पाउन नसकेको किसान र बिक्रेताको गुनासो छ ।
उनीहरूले सरकारले भारतीय तरकारीलाई प्राथमिकतामा राखेको पनि आरोप लगाएका छन्।

भारतीय तरकारीले स्वदेशी उत्पादन मारमा परेको, नेपाली किसानको उत्पादन बिक्री नभएको र सरकार पनि रमिते भएको गुनासोसहित उनीहरुले विरोध जनाएका हुन्।
नेपालमा उत्पादित तरकारीबाट लागत मूल्य उठाउन पनि गाह्रो भएको किसान र बिक्रेताको गुनासो छ। किसानले टमाटर सडकमा पोखेपछि त्यसलाई हटाउन डोजर नै लगाइएको छ।
किसानहरुले कृषिमन्त्री बेदुराम भुसालको राजीनामा पनि मागेका छन्।






