काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले नेपालमाथि हस्तक्षेप गर्नका लागि अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादको माझमा प्रतिष्पर्धा भइरहेको बताउनुभएको छ ।
२०८० जेठ २७ गते शनिबार राजमो काठमाडौँको छैटौँ सम्मेलनमा उद्घाटनपछि प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
‘पहिले पहिले अमेरिका ब्याक रोलमा थियो’ उहाँले भन्नुभयो– ‘अहिले अमेरिकी साम्राज्यवाद भारतीय साम्राज्यवादलाई पछि धकेल्दै अगाडि आएको छ ।’
उहाँले यद्यपि अमेरिकाको यस्तो भूमिका भारतलाई मन नपरेको बताउनुभयो ।
उहाँले एम.सी.सी. पास गर्न सफलता प्राप्त गरे पनि अमेरिकाले एस.पी.पी. पास गर्ने प्रयासमा रहेको दाबी गर्नुभयो ।
‘लगभग तीन वर्षको प्रयासपछि अमेरिकाले नेपालमा एम.सी.सी. पास गर्नमा सफलता प्राप्त गरेको छ तर ऊ त्यत्तिमा सन्तुष्ट छैन’ उपाध्यक्ष पौडेलले अगाडि भन्नुभयो– ‘अब अमेरिका एस.पी.पी. पारित गर्न चाहान्छ किनकि नेपालले एस.पी.पी. पारित गर्यो भने अमेरिकी सेनाले चीनसीमासम्म पहुँच राख्ने छ ।’
उहाँले एस.पी.पी. पारित गर्नकै लागि अमेरिकाले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेको दाबी गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत् नेपालको राजनीतिमा अमेरिकी प्रभाव बढेको उल्लेख गर्दै उहाँले त्यसबारे सचेत रहन पनि आग्रह गर्नुभयो ।
सम्बोधनको क्रममा उहाँले अहिले गणतन्त्र र धर्मनिरपेक्षतामाथि गम्भीर खतरा आइलागेको बताउँदै त्यसको रक्षाका लागि एकजुट हुन आग्रह गर्नुभयो ।
वर्तमान सरकारलाई यिनै दुई मुख्य उपलब्धिको रक्षार्थ नैतिक समर्थन दिइएको उहाँको भनाइ थियो ।
‘यो सरकार गणतन्त्र र धर्मनिरपेक्षताको रक्षार्थ उभिएको छ’ उहाँले भन्नुभयो– ‘यदि हामीले यो सरकारलाई समर्थन गरेनौँ भने ओली, राप्रपा र रास्वपा जस्ता प्रतिगामी तत्त्वको समर्थनमा अर्को सरकार बन्ने छ । त्यसले गणतन्त्र र धर्मनिरपेक्षताको विरुद्धमा काम गर्ने छ ।’
राजमो नेतृ पौडेलले जनआन्दोलनका यी दुई उपलब्धिको रक्षा वर्तमान राजनीतिको मुख्य विषय भएको दाबी गर्दै त्यसको रक्षा अहिलेको गम्भीर विषय भएको बताउनुभयो ।
अमेरिका तीन प्रकारले आयो : शर्मा
सम्मेलनलाई सम्बोधन गर्दै वामपन्थी नेता आनन्द शर्माले अहिले अमेरिकी साम्राज्यवाद तीनओटा फरक फरक माध्यमबाट नेपालमाथि हस्तक्षेपमा उत्रिएको बताउनुभयो ।

‘एम.सी.सी. जबर्जस्ती संसद्बाट पारित गर्नमा अमेरिकी साम्राज्यवादले सफलता प्राप्त गरिसकेको छ । अब उसको अर्को प्रयास भनेको एस.पी.पी. पारित गर्नु हो’ उहाँले भन्नुभयो– ‘यो एउटा तरिका हो ।’
त्यस्तै उहाँले इसाईकरण अमेरिकी साम्राज्यवादको हस्तक्षेपको अर्को औजार भएको बताउनुभयो ।
‘अमेरिकाले क्रिस्चियन मिसनरीमार्फत् नेपालमा इसाईकरण बढाइरहेको छ’ उहाँले अगाडि भन्नुभयो– ‘इसाई धर्मावलम्बीलाई घण्टी चुनाव चिह्नमा भोट हाल्न लगाएर अमेरिकाले नेपालमाथि दोस्रो प्रकारले हस्तक्षेप गरेको छ ।’
नेता शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर अमेरिकी साम्राज्यवादले प्रत्यक्ष रूपमा नै तेस्रो प्रकारले हस्तक्षेप गरेको धारणा राख्नुभयो ।
‘नेपालमा आफ्नो कठपुतली राजनीतिक पार्टी गठन गर्नका लागि अमेरिकाले करिब तीन वर्षदेखि प्रयास गर्दै आइरहेको थियो’ उहाँले अगाडि भन्नुभयो– ‘एकातिर, नेपालस्थित अमेरिकी दूतावासले युएस काउन्सिल गठन गरेर र अर्कोतिर, अमेरिकाबाटै भ्वाइस अफ अमेरिकामार्फत् राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्न भूमिका खेलियो ।’
उहाँले अमेरिकी साम्राज्यवादको यस खालको नयाँ हस्तक्षेपको विरुद्धमा नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा प्रष्ट दृष्टिकोणका साथ आएको बताउनुभयो ।
उहाँले अमेरिकी साम्राज्यवादी खतराका विरुद्ध लगातार सङ्घर्षको आवश्यकता रहेको पनि औल्याउनुभयो ।
शुभकामना मन्तव्य
सम्मेलनलाई नेकपा (मसाल) सम्बद्ध भाइचारा सङ्गठनका प्रतिनिधिहरूले पनि शुभकामना दिनुभएको थियो ।

यसरी शुभकामना मन्तव्य व्यक्त गर्नेहरूमा राजमो केन्द्रीय सदस्य तथा बागमती प्रदेश अध्यक्ष लालबहादुर थापा, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल कानुन व्यवसायी सङ्घका अध्यक्ष अधिवक्ता पदम रोका, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष समीर सिंह, प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, जातीय समता समाजका महासचिव भक्तबहादुर विक, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव डम्मर कार्की, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला सदस्य प्रेम मोक्तान, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का बागमती प्रदेश अध्यक्ष केबी घले, नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मी, राजमो भक्तपुरका सचिव ईश्वरी शर्मा र राजमो ललितपुरका प्रतिनिधि लालमणि बन्जाडे हुनुहुन्थ्यो ।

सो असरमा राजमोका कोषाध्यक्ष मधु क्षेत्री, पूर्व महासचिव हरि आचार्य, केन्द्रीय सदस्यहरू सुधा शर्मा, यामलाल पोखरेल, कल्याणी श्रेष्ठ, लक्ष्मी केसी र पियारी थापाको पनि आतिथ्य रहेको थियो ।

उद्घाटन शत्रको अध्यक्षता झविन्द्र बेलबासेले, सञ्चालन अधिवक्ता लक्ष्मणदेव पाण्डेले र स्वागत छवि खनाल तथा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले गर्नुभएको थियो ।

बन्दशत्र
उद्घाटनलगत्तै अधिवक्ता पदम रोका, लक्ष्मी केसी र बेगमबहादुर खड्कासहितको अध्यक्षमण्डल गठन भएको थियो ।
पाँचौँ जिल्ला समितिको तर्फबाट साङ्गठनिक प्रतिवेदन अध्यक्ष झविन्द्र बेलबासेले र आयव्यय रिपोर्ट सचिव छवि खनालले प्रस्तुत गर्नुभएको थियो । दुवै प्रतिवेदन छलफलपछि एकमतले पारित भएका थिए ।

तत्पश्चात सल्लाहकार रमेश पौडेलले पुरानो समिति विघटनका साथै २१ पूर्ण र सात सल्लाहकारसहितको नयाँ समिति प्रस्तावित गर्नुभएको थियो । हाउसले सो सङ्ख्या र नामावली पनि पास गरेको थियो ।
यस्तो छ नयाँ समिति
सम्मेलनले झविन्द्र बेलबासे अध्यक्ष रहनुभएको राजमो काठमाडौँको छैटौँ जिल्ला समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा राजेन्द्र शर्मा, सचिवमा छवि खनाल, सहसचिवमा पियारी थापा, कोषाध्यक्षमा दानबहादुर खड्का तथा सचिवालय सदस्यमा पदाधिकारीका साथै छविलाल गैरे र प्रेम भण्डारी रहनुभएको छ ।

त्यसैगरी, सदस्यहरूमा प्रेम मोक्तान, केबी घले, अन्जु श्रेष्ठ, लक्ष्मी केसी, विष्णु ओली, ऋतु केसी, पूर्णकला विक, रोशन दानी, यामलाल खनाल, हीरा रोकाक्षेत्री, हिमालविक्रम जिसी, बेगमबहादुर खड्का, अमर पौडेल र चिन्तामणि आचार्य रहनुभएको छ ।
एवम् प्रकारले सम्मेलनले अधिवक्ता पदम रोका, अधिवक्ता लक्ष्मणदेव पाण्डे, माया खनाल, लक्ष्मी राई, भोजेन्द्र जिसी, दिवाकर सुवेदी र रमेश पौडेललाई सल्लाहकारमा चयन गरेको छ ।

रक्तिमको प्रस्तुति
सम्मेलनको रक्तिम सांस्कृतिक अभियान, काठमाडौँका कलाकारहरूले स्वागत नृत्यका साथै दुईओटा अन्य नृत्य प्रस्तुत गर्नुभएको थियो ।