मोहनविक्रम सिंह
क.शुरू गरौँ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.को उदाहरणबाट । अहिले जनतामा व्यापक रूपले भइरहेका दुईवटा टिप्पणीहरूका सन्दर्भमा उहाँको उदाहरण विशेष रूपले उल्लेनीय छः प्रथम, कम्युनिस्टहरू पनि सत्तामा पुगेपछि बिग्रन्छन् । द्वितीय, सत्ता भन्ने यस्तो कुरा हो, जहाँ पुगेपछि जस्तोसुकै इमान्दार मान्छे पनि भ्रष्ट बन्छ । त्यस सिलसिलामा यो कुरा पनि भन्ने गरिन्छः पैसाको मुख नै कालो छ, त्यसलाई देखेपछि जसको इमान पनि बिग्रन्छ । चित्रबहादुरको उदाहरणबाट ती सबै प्रकारका टिप्पणीँ वा आलोचनाहरू गलत सावित हुन्छन् ।
एकाध हप्ता पहिले राजनीतिशास्त्रका एकजना प्राध्यापक– जसको नाम अहिले मलाई याद छैन–ले एउटा रेडियोमा दिएको आफ्नो अन्तवार्तामा सत्तामा पुगेपछि जो पनि बिग्रन्छ भन्ने मान्यताको खण्डन गर्दै भनेका थिएः सत्तामा पुगेपछि जुन मान्छे पनि बिग्रन्छ भन्ने कुरा सत्य होइन । जसभित्र नराम्रो प्रवृत्ति छ, त्यो व्यक्ति नै सत्तामा पुगेपछि त्यो व्यक्तिमा अन्तनिर्हित प्रवृत्ति नै सत्तामा पुगेपछि ठूलो रूपमा प्रकट हुन्छ । तर जसको चरित्रमा त्यसप्रकारको दोष छैन, उनीहरू सत्तामा पुगेपछि पनि बिग्रदैनन् । यहाँ मैले उनको भनाइलाई शब्दशः होइन (भाव नै दिएको छु) ।
यस सिलसिलामा उनले वीपी कोइराला र पण्डित जवाहरलाल नेहरू आदिका उदाहरण दिएका थिए । वीपी वा नेहरूका विचारसित सैद्धान्तिक रूपमा हामी सहमत नभएपनि उनीहरू कुनै प्रकारको भ्रष्टचारका लागि बदनाम छैनन् । उनीहरू सत्तामा पुगेर पनि आफ्नो सिद्धान्त वा मान्यताअनुसार देश वा जनताको लागि जीवनभरि नै सक्रिय रहे । त्यही प्रकारका कैयौँ महापुरूषहरूका उदाहरणहरू संसारमा पाइन्छन् । हाम्रो देशमा त्यही प्रकारको एउटा उदाहरण के।सी।जीको हो ।
उहाँ ओलीको सरकारमा उपप्रधानमन्त्री बन्नु भयो । उहाँ सरकारमा सामेल हुन नीतिगत रूपमा सही थियो वा गलत ? त्यसबारे बेग्लाबेग्लै मतहरू हुन सक्दछन् । तर उहाँका कट्टर आलोचकहरूले पनि उहाँले भ्रष्टाचार गरेकोे कुनै आक्षेप लगाउँदैनन् वा लगाउन सक्दैनन् । उहाँ उपप्रधानमन्त्री भएका बेलामा कर्मचारीहरूले उहाँलाई त्यहाँको भ्रष्टाचारमा फसाउन कैयौँ प्रयत्न गरे । तर उहाँको इमान कहिल्यै बिग्रिएन । त्यति मात्र होइन, उहाँले आफ्नो कार्यालयका भ्रष्ट अधिकृतहरूलाई बर्खास्त पनि गर्नुभयो, यद्यपि उनीहरूलेपछि सर्वोच्चमा गएर स्टे अर्डर पनि त्याए ।
उहाँ लेखा समितिको सभापति भएको बेलामा पनि कैयौँ मानिसहरूले उहाँलाई करोडौँ घुस दिन प्रयत्न गरेका थिए । तर उहाँले एक रूपियाँ पनि लिनुभएन । त्यसरी नेपालको राजनीतिक इतिहासमा उहाँको सत्तामा गएर पनि भ्रष्ट नहुने व्यक्तिको रूपमा एउटा बेग्लै र विशिष्ट स्थान रहेको छ । त्यसको अर्थ नेपालको राजनीतिमा एक मात्र त्यस्तो व्यक्ति हुनुहुन्छ भन्ने होइन । सत्तामा गएर वा प्रशासनको उच्च पदमा पुगेर पनि भ्रष्ट नभएका अरू कैयौँ व्यक्ति हुन सक्दछन् । तिनीहरू मध्ये के.सी. जी पनि एकजना हुनुहुन्छ ।
कुरा के.सी.को मात्र होइन, नेपालको संसदीय इतिहासमा सांसदहरू भ्रष्ट भएका थुप्रै उदाहरणहरू पाइन्छन् । उनीहरूले आर्थिक भ्रष्टाचार गरेको उदाहरणको कमी छैन । तर यो कम महत्वपूर्ण होइन कि राष्ट्रिय जनमोर्चाले संसदको उपयोग गर्न थालेदेखि अहिलेसम्म राजमोका एकजना पनि सांसद वा सभासद त्यसप्रकारको भ्रष्टाचार वा आर्थिक हिनामिनामा संलग्न भएको एउटा पनि उदाहरण छैन । सांसदहरूले विकासको रकममा भ्रष्टाचार गर्ने गरेकाले उनीहरूलाई संसद विकास कोषको रकम दिन बन्द गर्नुपर्दछ भन्ने व्यापक आवाज उठेको पाइन्छ ।
हाम्रा कुनै पनि सांसदहरूले त्यो रकम भ्रष्टाचार गरेको वा त्यो रकमबाट व्यक्तिगत रूपमा एक पैसा पनि लिएको कुनै उदाहरण छैन । के.सी.को मात्र होइन, हाम्रा सबै सांसदहरूले त्यसप्रकारको छवि कसरी बन्यो ? त्यो सामान्य कुरा होइन । के.सी.ले जुनप्रकारको आदर्श चरित्र प्रस्तुत गर्नुभएको छ, त्यसका पछाडि उहाँको उच्च प्रकारको चरित्रले ता काम गरेको छ नै । तर राष्ट्रिय जनमोर्चाका सबै सांसदहरू पनि भ्रष्टाचारमा नमुछिएको वास्तविकताले त्यसप्रकारको चरित्र राष्ट्रिय जनमोर्चाको संस्थागत विशेषता नै भएको कुारमा कुनै शङ्का छैन । न.क.पा.(मसाल)को क्रान्तिकारी चरित्र र त्यसभित्रको कडा अनुशासनको कारणले हाम्रा सबै सांसदहरूको त्यसप्रकारको कार्यप्रणाली वा भूमिका बन्न गएको कुरा प्रष्ट छ ।
माथि जे भनियो, त्यसको अर्थ न.क.पा.(मसाल) वा राष्ट्रिय जनमोर्चाका कुनै पनि मान्छे बिग्रन्न वा कसैले भ्रष्टाचार गर्दैनन् भन्ने होइन । तर के हुन्छ भने जसले त्यसप्रकारको कुनै गल्ती गर्दछ, उसलाई पार्टीले या त त्यसप्रकारका कार्यका लागि कडा कारवाही गर्दछ वा त्यस्ता व्यक्तिहरू पार्टीबाट अलग भएर जान्छन् । त्यसले गर्दा पार्टीको चरित्र वा अनुशासन बिग्रन पाउन्न । त्यसप्रकारको कार्यप्रणालीका कारणले पार्टीको आदर्श, चरित्र मूल रूपमा कायम रहिरहन्छ । निश्चय नै पार्टीभित्रको त्यसप्रकारको अवस्था स्वतः र सजिलैसित कायम रहन जान्न । त्यसका लागि एकातिर लगातार सैद्धान्तिक प्रशिक्षण कार्यक्रमको सञ्चालन र अर्कातिर पार्टीमा अनुशासन कायम राख्नलाई कडा सङ्घर्ष गर्नुपर्ने आवश्यकता हुन्छ । त्यसको परिणामस्वरूप नै पार्टीको अवस्था कायम रहन सकेको हो ।
माथि पार्टीको जुन प्रकारको कार्यप्रणालीको उल्लेख गरियो, त्यो माक्र्सवादी–लेनिनवादी सिद्धान्तमाथि आधारित छ । अहिले विश्वस्तरमा नै एकातिर, माक्र्सवादी–लेनिनवादी सिद्धान्त र, अर्कातिर, लेनिनवादी सङ्गठनात्मक सिद्धान्तबाट विचलन भइरहेको पृष्ठभूमिमा हाम्रो पार्टीको क्रान्तिकारी चरित्र र लेनिनवादी सङ्गठनात्मक सिद्धान्त अनुरूप पार्टीको सङ्गठनात्मक प्रणाली र अनुशासन कायम राख्न सजिलो छैन । तैपनि त्यसबारे हाम्रो पार्टीले कडा प्रयत्न गरिरहेकोले देशका बुर्जुवा पार्टीहरू मात्र होइन, आफूलाई कम्युनिस्ट बताउने पार्टी वा सङ्गठनहरूका तुलनामा पनि हाम्रो पार्टीको चरित्र सङ्गठनात्मक प्रणाली र अनुशासन पद्धति धेरैमाथि छ । एकातिर, हाम्रो पार्टी र अर्कातिर नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का बीचमा सरसरी प्रकारले तुलना गरेर हेर्ने हो भने पनि त्यो कुरा प्रष्ट हुने छ ।
ख.हामीले बारम्बार यो प्रष्ट गर्दै आएका छौँ, प्रथम, नेकपा(नेकपा) कम्युनिस्ट पार्टी होइन । द्वितीय, त्यसभित्र भ्रष्ट, नोकरशाही माफिया तत्त्वहरूले घर जमाएका छन् । देशमा घटिरहेका घटनाहरूबाट त्यो कुरा प्रष्ट हुँदै गइरहेको छ । नेकपाको माक्र्सवादी–लेनिनवादी सिद्धान्त र लेनिनवादी सङ्गठनात्मक सिद्धान्तबाट विचलनका कारणले नै त्यसको चरित्र र कार्यशैलीमा कैयौँ प्रकारका असङ्गति र दोषहरू देखा परिरहका छन् ।
अहिले विष्फोटक रूपमा देखा परेको सुरक्षा मुद्रणसम्बन्धी काण्ड र नेकाभित्रको त्यसप्रकारको सैद्धान्तिक र सङ्गठनात्मक विचलनको नै एउटा प्रकट रूप हो ।अहिलेको सुरक्षा मुद्रणसम्बन्धी काण्डबारे हामीले खालि एउटा काण्डको रूपमा मात्र होइन, त्यसमा जोडिएका अन्य कैयौँ कुराहरूसित जोडेर हेर्नुपर्ने आवश्यकता छ ।
प्रथम, अहिले प्रकाशमा आएका यही प्रकारका केही काण्डहरू बाहेक अहिलेसम्म प्रकाशमा नआएका अरू पनि कैयौँ काण्डहरू लुकेर बसेका हुन सक्दछन् । यो कुराको अनुमान गर्न सकिन्छ कि वास्कोटाका लागि एक्लै त्यति ठूलो भ्रष्टाचारको खेल खेल्नु सम्भव थिएन । खालि सुरक्षा मुद्रण प्रेससम्बन्धी मात्र होइन, त्यसप्रकारका अन्य ठूला भ्रष्टाचारका काण्डहरूमा पनि उनको संलग्नता भएका समाचारहरू बाहिर आइरहेका छन् । त्यो अवस्थामा सुरक्षा मुद्रणसम्बन्धी काण्डमा अरू को को सामेल थिए ? त्यसबारे उच्च स्तरमा छानवीन गरेर दोषीहरूलाई सजाय गर्नुपर्ने आवश्यकता छ ।
द्वितीय, वास्तवमा अहिले जुन प्रकारका काण्डहरू अगाडि आएका छन्, त्यो सम्पूर्ण संसदीय प्रणालीका परिणामहरू हुन् । संसदीय प्रणालीअन्तर्गत संसारभरि नै भ्रष्टाचारका ठूला ठूला काण्डहरू हुने गरेका छन् । वास्तवमा संसदीय प्रणालीलाई सम्पूर्ण रूपले समँप्त गरेर त्यसका ठाउँमा नयाँ जनावादी व्यवस्थाको स्थापना गरेपछि नै यो समस्याको वास्तविक समाधान हुन सक्दछ ।
अहिले सुरक्षा मुद्रणसम्बन्धी काण्डबारे नेकाले चर्को आवाज उठाइरहेको छ । कुनै पनि प्रतिपक्षले त्यसप्रकारको भ्रष्टाचार वा कमिशनका कुनै काण्डबारे त्यसरी विरोध गर्नुलाई गलत भन्न सकिन्न । तर त्यस सन्दर्भमा दुईवटा कुराहरू उल्लेखनीय छन् । प्रथम, ने।का।ले अहिले भ्रष्टाचारको विरोध गरेपनि त्यसको अर्थ भ्रष्टाचारको विरोध नभएर वर्तमान सरकारको विरोध मात्र हो । गतकालमा बनेका त्यसका सबै सरकारहरूको इतिहास भ्रष्टाचारका ठूलाठूला काण्डहरूको कालो सूचीले भरिएको कुराबाट त्यो कुरा प्रष्ट हुन्छ ।
द्वितीय, उनीहरूले वर्तमान सरकारसित सम्बन्धित भ्रष्टाचारका कतिपय मामिलाहरूको विरोध गरेपनि स्वयम् आफ्नो पार्टीका भ्रष्टचारसित सम्बन्धित व्यक्तिहरूलाई बचाउन नै प्रयत्न गरेको पाइन्छ । हालै अख्तियारले ललिता निवास जग्गाबारे विशेष अदालतमा जुन व्यक्तिहरूका विरुद्ध मुद्धा दायर गरेको छ, तिनीहरूमा नेकाका कतिपय उच्च स्तरीय नेता पनि परेका छन् । तर नेकाले त्यस्ता व्यक्तिहरूका विरुद्ध दायर गरिएको मुद्धाका विरुद्ध प्रदर्शन नै गरेको छ । त्यसले नेकाको वास्तविक विरोध भ्रष्टाचारप्रति नभएर वर्तमान सरकारप्रति मात्र हो भनेर बुझ्न गाह्रो पर्दैन । हाम्रो पार्टीले विना दलीय भेदभाव वा पूर्वाग्रह सबै प्रकारका भ्रष्टाचारको विरोध गर्दै आएको छ ।
हाम्रो पार्टीले वर्तमान सरकारलाई समर्थन गरेको छ । तर त्यसका साथै वर्तमान सरकारले सामन्त वर्ग, दलाल पुँजीपतिवर्ग वा अमेरिकी र भारतीय साम्राज्यवादप्रति सम्झौतपरस्त नीति अपनाउँदै आएको छ । त्यसैले हाम्रो पार्टीले वर्तमान सरकालाई समर्थन गरेपनि त्यसका सबै सम्झौतपरस्त नीतिहरूका विरुद्ध कडा र सम्झौताहीन प्रकारको सङ्घर्षको नीति अपनाउँदै आएको छ । त्यही प्रकारले सरकारका गलत नीति, कार्यशैली र त्यसअन्तर्गत भ्रष्टाचारका कार्यहरूको पनि हामीले दृढतापूर्वक विरोध गर्ने नीति अपनाएका छौँ ।
वर्तमान सरकार, जस्तै किमाथि भनियो, एकातिर, कम्युनिस्ट सरकार नभएको र अर्कातिर, त्यो सरकार भ्रष्ट, नोकरशाही र माफियाहरूले घेरेको हुनाले त्यसको कार्यशैली अत्यन्त गलत रहेको कुरा पनि हामीले प्रष्ट गर्दै आएका छौँ । हालै हाम्रो पार्टीको युवक मोर्चाले सरकारका भ्रष्टाचारसम्बन्धी कार्यहरूका विरुद्ध महेन्द्रनगरदेखि झापासम्म निकालेको मोटरसाइकल मार्चबाट पनि भ्रष्टाचारको प्रश्नलाई पार्टीले कति गम्भीर रूपमा लिएको छ रु प्रष्ट हुन्छ ।
अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा पनि बिना कुनै पक्षपात वा पूर्वाग्रह भ्रष्टाचारसित सम्बन्धित व्यक्तिहरूका विरुद्ध कारवाही अगाडि बढाएर दोषिलाई कडा सजाय गरिनुपर्दछ भन्ने कुरामा हाम्रो पार्टीले जोड दिएको छ ।हामीले भन्दै आएका छौँ, वर्तमान सरकारका गलत कार्यशैलीका कारणले प्रतिगामी शक्तिहरूलाई बढी बल प्राप्त भइरहेको छ । अहिले सुरक्षा मुद्रणसम्बन्धी काण्डबाट त्यो कुरा प्रष्ट भएको छ ।
त्यसप्रकारका काण्डका कारणले सरकारप्रति जनताको विश्वास घट्दै गइरहेको छ र त्यसको आधारमा प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्मनिरपेक्षतमाथि नै हमला बढाउँदै लगिरहेका छन् । अहिलकोे सुरक्षा मुद्रणसम्बन्धी काण्डका सन्दर्भमा पनि प्रतिगामी शक्तिहरूले वर्तमान सरकारमाथि चर्को प्रकारले हमला गरिरहेका छन् । त्यसका पछाडि उनीहरूको वास्तविक उद्देश्य भ्रष्टाचारलाई समाप्त पार्न नभएर त्यसप्रतिको जनताको असन्तोषलाई उपयोग गरेर गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै हमला गर्नु नै हो ।
वर्तमान सरकारअन्तर्गत भ्रष्टाचारसम्बन्धी भइरहेका काण्डहरू आम रूपमा थाहा भएको कुरा हो । संसदीय प्रणाली वा वर्तमान सरकारअन्तर्गत त्यसप्रकारका कार्यहरू हुँदैनन् भनेर हामीले वर्तमान सरकारलाई समर्थन गरेको होइन । हामीले मुख्य रूपले गणतन्त्र र धर्मनिरपेक्षतासम्बन्धी प्रश्नमा नेकपाले लिएको अडानका कारणले नै वर्तमान सरकारालाई समर्थन गरेका हौँ र अहिले पनि सरकारको त्यसप्रकारको अडान कायम छ ।
त्यसैले अहिले पनि त्यसलाई समर्थन गर्ने कार्यको औचित्यता कायम छ । यो कुरा ठीक त्यस्तै हो, जसरी नेकासितको हाम्रो गम्भीर प्रकारको मतभेदका वावजुद हामीले गणेशमानको नेतृत्वको २०४६ सालको आन्दोलन वा गिरिजाप्रसाद कोइरालाको सरकारलाई समर्थन गरेका थियौँ ।
वर्तमान सरकारले गणतन्त्र वा धर्मनिरपेक्षताबारे स्पष्ट अडान लिएको भएपनि त्यही कुरा राष्ट्रियताबारे भन्न सकिन्न । मधेशवादीहरूको संविधानमा संशोधनसम्बन्धी मागहरूलाई अस्वीकार गर्नु वा कालापानीबाट भारतीय सेना हटाउने विचार प्रकट गर्नु त्यसका सकारात्मक पक्षहरू हुन् ।
तर भारतले थिचोमिचो गरेको वा त्यसले आफ्नो नक्शामा समावेश गरेका कालापानी समेतका भूभागबारे भारतीय साम्राज्यवादका विरुद्ध त्यसले दृढतापूर्वक भूमिका खेल्न सकेको छैन । एमसीसीबारेका ओली सरकारले पूरै नै अमेरिकन साम्राज्यवादपरस्त नीति अपनाएको देखिन्छ । स्वयम् नेकपाको कार्यदलले यथास्थितिमा त्यसलाई समर्थन गर्न नसकिने प्रतिवेदन दिएपनि त्यसलाई स्वीकार गर्न पनि सरकार हिच्किचाएको देखिन्छ, जब कि आवश्यकता त्यसलाई सम्पूर्ण रूपमा अस्वीकार गर्नु वा खारेज गर्नु हो । त्यो अमेरिकाको इण्डोप्यासिफिक रणनीतिको अङ्ग भएको कुरा स्वयम् अमेरिकी पक्षले नै प्रष्ट गरिसकेको छ ।
त्यो अवस्थामा त्यसलाई स्वीकार गर्नुको अर्थ नेपालको परराष्ट्र नीति समाप्त हुनेछ र हाम्रो देश अमेरिकी साम्राज्यवादको क्याम्पमा उभिन पुग्ने छ । एमसीसीको मुख्य उद्देश्य चीनका विरुद्ध घेराबन्दी गर्ने हो । त्यसैले एमसीसीलाई स्वीकार गर्नुको अर्थ नेपाल चीन र अमेरिकाका बीचको भिडन्तको मैदान बन्न पुग्ने छ र दीर्घकालीन रूपमा त्यसबाट नेपाललाई दूरगामी क्षति पुग्ने छ । यति गम्भीर प्रश्नमा पनि ओली सरकारले दूरदर्शितापूर्वक विचार गर्न नसकेको देखिन्छ ।
समग्र रूपमा के भन्न सकिन्छ भने सरकारले अपनाएको गलत प्रकारको कार्यशैलीका कारणले एकातिर, गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध प्रतिगामी शक्तिहरूलाई मद्दत पुगिरहेको छ भने अर्कातिर, एमसीसी समेतबारे सरकारले अपनाएको सम्झौतापरस्त नीतिबाट देशको राष्ट्रियता र सार्वभौमिकतामा गम्भीर प्रकारको आँच पुग्ने खतरा बढ्दै गइरहेको छ । त्यो अवस्थामा उक्त विषयहरूमा व्यापक जनआन्दोलन उठाएर नै हामीले गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गर्न सक्ने छौँ र गर्नु हाम्रो ऐतिहासिक दायित्व हुन्छ । मितिः२०७६ फागुन १३
