दुर्गानाथ खरेल ##
हामीले तीनओटा कारणले काम गर्नुपर्छ : स्वस्थ रहन, आवश्यकता पूरा गर्न र मुक्ति प्राप्त गर्न । यी तीनओटै काम हामी एउटा सबैभन्दा उच्च स्तरको जीव भएको हुनाले गर्नैपर्ने काम हुन् । स्वस्थ रहनका लागि गरिने काम सबैभन्दा महत्त्वपूर्ण काम हो । हाम्रो समाजमा मिठो खाने र काम नगर्नुपर्ने अवस्था भएमा त्यसलाई आदर्श जीवनको नमुना मान्ने गरिन्छ तर त्यो सही होहन ।
हाम्रा शरीरका सबै अङ्ग काम गर्नका लागि बनेका हुन् । प्रत्येक अङ्गको परिचालन गरेर काम गर्ने मान्छे धेरै वर्षसम्म बाँच्न सक्छ अथवा उसको आयु धेरै वर्ष लामो समयको हुन्छ । शारीरिक काम थोरै गर्ने अथवा नगर्ने मान्छेले व्यायाम गर्नुपर्छ । त्यो पनि काम नै हो ।
स्वस्थ शरीरमा मात्रै स्वस्थ दिमाग हुन सक्ने हुनाले शरीर स्वस्थ राखेर मात्रै बौद्धिक काम बढी उपयोगी बनाउन सकिन्छ ।
शारीरिक काम र बौद्धिक काममध्ये बौद्धिक कामको महत्त्व बढी हुन्छ । शारीरिक कामले शारीरिक स्वास्थ्य ठिक राख्न सहयोग गर्छ ।
त्यसबाट बौद्धिक कामको लागि अनुकूल अवस्था हुने भए पनि धेरै मान्छेले बौद्धिक कामप्रति ध्यान, चेष्टा दिन्नन् । त्यसो हुनुको कारण
शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग दिमागलाई एकाग्र रूपमा अध्ययन र विश्लेषणमा लगाउन अप्ठ्यारो हुने भएको हुनाले हो । दिमागलाई एकाग्र बनाउन ध्यानको पनि आवश्यकता पर्दछ ।
शरीर स्वस्थ राख्न खानपानको पनि महत्त्व हुन्छ । हामीले जीवित रहन र स्वस्थ रहन खाना पहिलो महत्त्वको वस्तु हो । खाना खाने स्वस्थ रहनका लागि भए पनि एकातिर सन्तुलित खाना नखाने, अर्कोतिर, शरीरलाई बेफाइदा गर्ने वस्तु पनि खाने—यी दुईओटै कारणले आफ्नो शरीरलाई नोक्सान पुर्याउने काम जानेर वा नजानेर मान्छेले गरिरहेका हुन्छौँ । खाना खाने नै स्वस्थ रहन भएकाले जानी जानी शरीरलाई बेफाइदा गर्ने वस्तु खान हुन्न । त्यसबाट यो अमूल्य जीवनको सदुपयोग होइन, दुरूपयोग गर्ने काम आफैले गरेको ठहर्छ । मान्छेको खराब परम्परा अथवा खाना मिठो खाने र काम नगर्ने व्यवहारले शरीरलाई धेरै नोक्सान पुग्छ । त्यसकारण स्वस्थ रहन काम अनिवार्य रूपमा गर्नुपर्छ ।
रोजगारी नभएर अथवा आफूलाई थाहा नभएर मान्छेले असन्तुलित खाना खाँदा पनि स्वास्थ्यमा प्रतिकूल असर पर्दछ । निरन्तर श्रममा भाग लिने मान्छेको शरीरमा खाना र सन्तुलन बढी हुन्छ । एकातिर, आवश्यक वस्तु उपलब्ध हुन्छ भने अर्कोतिर, खानामा भएका सबै तत्त्व शरीरले नै सन्तुलन मिलाउन प्रयत्न गरिरहेको हुन्छ । त्यसकारण रोजगार हुने र श्रममा भाग लिने काम शरीर स्वस्थ राख्न गर्नुपर्ने महत्त्वपूर्ण आवश्यकता हुन् । शरीर स्वस्थ भए जीवनमा धेरै उपलब्धि हुने र धेरै वर्ष बाच्ने दुवै काम हुन्छ ।
खानु, लगाउनु, बस्नु, शिक्षा, स्वास्थ्य र रोजगार मान्छेका आधारभूत आवश्यकता हुन् । यी सम्पूर्ण आवश्यकता एक जना मात्रको प्रयत्नबाट पूरा हुने किसिमका छैनन् । त्यसका लागि सामूहिक कामको आवश्यकता पर्दछ । हामी समाजको एउटा सदस्यको हैसियतमा बाचिरहेका हुन्छौँ ।
समाजमा परस्पर विरोधी काम भइरहेको हुन्छ । एकथरीले शोषण गरिरहेका हुन्छन् र अर्कोथरीले शोषणको मार खेपिरहेका हुन्छन् ।
मान्छेले मान्छेलाई शोषण गर्ने काम दासव्यवस्थाबाट सुरु भएको हो । त्यतिखेर त्यो काम प्रगतिशील थियो किनकि त्यति बेला समाजको सबै मान्छेलाई आवश्यकता पूरा हुने अवस्था थियो । दासहरू पनि आफू हरूवा भएर पनि बाँच्न पाउने अवस्था थियो जबकि त्योभन्दा पहिले लडाइँमा हार्नेलाई मारेर उीनहरूका हातहतियार आफ्ना बनाउने गरिन्थ्यो ।
प्राचीनकालमा दासव्यवस्था नभएको भए आधुनिक कालमा समाजवादी व्यवस्थाको आवश्यकता पर्ने थिएन । दासलाई काम गराएर आफ्नो मातहतमा राख्नकै लागि राज्यसत्ताको गठन गरिएको थियो ।
आधुनिक कालका राज्यसत्ताले व्यक्तिगत सम्पत्तिको रक्षा गर्ने र विद्रोह दबाउने काम गर्दछ । दासहरूको विद्रोह राज्यसत्ताले दबाउन नसक्ने अवस्था भएपछि सामन्ती व्यवस्था र पँुजीपतिको नेतृत्वअन्तर्गत विद्रोह दबाउन नसक्ने भएपछि पुँजीवादी व्यवस्था आएको हो ।
राज्यसत्ता सबैभन्दा ठुलो सङ्गठित शक्ति हो । यसमा चारओटा शक्तिहरू सेना, प्रहरी, कर्मचारी र नेतागण सम्मिलित हुन्छन् ।
वर्तमान राज्यसत्ता सम्पन्न वर्गको राज्यसत्ता हो । यसका अङ्गहरूमा जनताका छोराछोरी सहभागी भएको भए पनि मूल नेतृत्वमा सम्पन्न वर्गका शक्तिको भूमिका हुन्छ । सर्वसाधारण जनताको सन्तान राज्यसत्तामा सहभागी भएता पनि सर्वसाधारण जनताको पक्षमा काम गर्न सक्दैनन् । विदेशी र स्वदेशी सम्पन्न वर्गका शक्ति आपसमा मिलेर शासनसत्ता सञ्चालन गरेका हुन्छन् । त्यसैले सर्वप्रथम वर्तमान राज्यसत्तामा आमूल परिवर्तन गरेर जनताको पहुँच पुग्ने गरी राज्यसत्ताको पुनर्गठन गर्नुपर्छ । त्यसपछि मात्रै त्यो राज्यसत्ताले जनताको पक्षमा काम गर्न सुरु गर्छ । त्यो भनेको सबै जनताका आधाभूत आवश्यकता पूरा गर्न राज्यसत्ताको शक्ति उपयोग हुन्छ र हुन सक्छ । त्यो काम गर्न धर्म, परम्परा र व्यवस्था सम्पूर्ण रूपमा बाधक छ ।
धर्मले अलौकिक शक्तिमा विश्वास गर्न लगाएर वर्तमानमा शोषण र थिचोमिचो सहन गर्ने शक्ति दिन्छ । परम्पराले सम्पन्न वर्गको नक्कल गर्न सिकाउँछ । व्यवस्थाले नाफा कमाउनका लागि काम गर्दा गरिब र सर्वहारा वर्ग उत्पादन गरिरहन्छ ।
धनीमा धेरै धन जम्मा हुँदै जाने र गरिबको सङ्ख्या अत्यधिक बढी बनाउने काम गर्दछ । मध्यम र निम्नमध्यम वर्गको अवस्थामा निरन्तरता परिवर्तन गरेर धनीको सङ्ख्या कम, सञ्चित सम्पत्ति बढी र गरिबको सञ्चित सम्पत्ति समाप्त गर्दै सर्वहाराको सङ्ख्या बढाउँदै लैजान्छ ।
जहाँसम्म मुक्तिको कुरा हो, त्यो वर्गीय मुक्तिको सवाल हो । वर्गको मुक्तिका लागि वर्गले आफू अन्याय र शोषणमा परेको छु भन्ने महसुस गरेपछि सुरु हुने गर्दछ । महसुस गरेर मात्रै पुग्दैन, सङ्गठित शक्तिको विद्रोहले विरोधी वर्गलाई सत्ताच्यूत गरेर आफ्नो वर्गले आफ्ना निश्चित उद्देश्यसहित वर्गविहीन, शोषणविहीन र राज्यविहीन समाज निर्माण गर्नु आवश्यक हुन्छ । यो पुस्तौँपुस्तादेखि सुरु भएर एउटा निश्चित दिशामा अगाडि बढेको समाजमा त्यसको ठिक विपरीत दिशा पक्रेर अगाडि बढ्ने र बढाउने काम हो । यो कामको थालनी विश्वदृष्टिकोणबाट सुरु हुन्छ । त्यसपछि राजनीतिक पार्टी बन्ने/बनाउने गरेर अगाडि बढ्छ ।
राजनीतिक पार्टी बनाउनका लागि महत्त्वको हिसाबले पहिला सिद्वान्त हुन्छ । त्यो भनेको द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादको आधारमा खडा भएको सिद्धान्त हो । दोश्रो महत्त्वपूर्ण पक्ष राजनीतिक लाइन हो, जहाँ रणनैतिक कार्यक्रम र कार्यनैतिक कार्यक्रममा विभाजन गरेर समाजमा भएको अवस्थालाई ठोस रूपमा विश्लेषण गरेर राजनैतिक, कार्यदिशा निश्चित गर्न सक्नुपर्छ । त्यसपछिका तेस्रो महत्त्वको विषय सङ्गठन हो । सङ्गठन जनवादी केन्द्रीयताको आधारमा छलफलमा स्वतन्त्रता र काममा एकतालाई आधार बनाएर अगाडि बढ्नुपर्छ । त्यसो गर्न सर्वसाधारण जनता सक्दैनन् किनभने उनीहरू धर्म, परम्परा र तात्कालिक राजनैतिक व्यवस्था र त्यसको जालोमा बलियोसँग बाँधिएर अल्झनमा परेका हुन्छन् ।
सम्पन्न वर्गका मान्छेको मुक्ति र विपन्न वर्गको मुक्ति परस्पर विरोधी हुन्छन् । सम्पन्न वर्गले ठुला र महत्त्वपूर्ण व्यक्ति भएको महसुस गर्छन् । उनीहरूसँग उद्योगधन्दा हुन्छ । जग्गाजमिन धेरै हुन्छ । सुन, चाँदी र नगद पनि धेरै हुन्छ । आफूले स्वेच्छाचारी ढङ्गले समय बिताउने र सम्पत्ति मालिकको हैसियतबाट धेरै कामदार मात्र होइन, मनोरञ्जनका लागि समेत धेरै मान्छेलाई उपयोग गरिरहेका हुन्छन् । उनीहरूले “स्वर्गीय” आनन्द प्राप्त भएको अथवा मुक्त भएको महसुस गर्दछन् । अरू सबैलाई बुद्धि नभएका र भाग्य नभएका असक्षम सम्झन्छन् ।
उनीहरूको मुक्ति अथवा सम्पन्नता गरिबको श्रममा आधारित हुन्छन् । त्यसैले धर्मको प्रचार गरेर भन्न लगाउँछन् कि हे ईश्वर ! गरिबको घरमा बस्ने हो भने मलाई अझै गरिब बनाइदेऊ जबकि जुन गरिबलाई अझै गरिब बनाउने काम तिनै धनीले गरिरहेका हुन्छन् । राज्यसत्ताको आडमा उद्योगधन्दा खोलेर एउटा गरिबको गास अर्को गरिबलाई खोस्न लगाइरहेका हुन्छन् । आफूले भने मुक्त भएको महसुस गर्छन् ।
यो श्रमको शोषण गर्ने काम दासव्यवस्थाबाट सुरु भएर सामन्ती व्यवस्था हुँदै पुँजीवादी व्यवस्थासम्म आइपुगेको छ । दासले त्यति बेला मालिकसमक्ष जिउज्यानसम्म सुम्पनुपर्दथ्यो । सामन्ती व्यवस्थामा उत्पादनको साधन जग्गा भएकाले मालिकलाई सुम्पनुपर्दथ्यो । अहिलेका पुँजीवादी व्यवस्थामा मालिकलाई श्रम सुम्पनुपर्ने भएको छ ।
विपन्न वर्गको श्रममा सम्पन्न वर्गको मुक्ति अडेको छ तर विपन्न वर्गको दिमागमा सम्पन्न वर्गको नक्कल गर्ने परम्पराले काम गरिरहेको छ । उनीहरूले वर्गीय मुक्तिका कुरा धनीकै जस्तो गरी आफूमा ल्याउने अनुमान गर्छन् जुन कहिल्यै पूरा नहुने दुस्वप्न हो किनभने धनी र गरिबबिचको खाडल धेरै गहिरो भइसकेको छ । त्यो सामान्य उपायबाट पुर्न सक्ने अवस्थामा छैन । अर्को जुनी र अर्काे जन्म छैन र हुन्न । यो खाडल पुर्ने काम धेरै पुस्ताले लगातार गर्ने र गरिरहेर पूरा गर्ने काम हो बरु हामीले र हाम्रो श्रमले खाडल बढी गहिरो बनाइरहेका छौँ अथवा पुरेर कम गहिरो बनाइरहेका छौँ भन्ने व्यवहारबाट प्रमाणित गर्ने काम हो ।
समाजमा कडा सङ्घर्ष छ । सम्पन्न वर्गले आफ्नो “स्वर्ग” गुम्न नदिने उपायमध्ये सङ्गठन र विद्रोह रोक्नलाई हरसम्भव उपाय अपनाइरहेका छन् । शोषित र विपन्न वर्ग उनीहरूको भुलभुलैयामा लागेको हुनाले आफ्नो मुक्तिको अवस्था झन् टाढा धकेलिएको छ ।
कामदार वर्ग सङ्ख्यामा अन्यन्त बढी छन् । सम्पन्न वर्ग अत्यन्त कम मात्र होइन, औँलामा गन्न सकिने सङ्ख्यामा मात्र छन् । त्यति थोरै भएर पनि र हजारौँहजारको सङ्ख्यामा रहेकालाई आफ्नो विश्वदृष्टिकोणअनुसार सञ्चालन गर्न सफल भएका छन् । त्यसो हुन नदिन अध्ययन, सङ्गठन र सङ्घर्षको आवश्यकता हुन्छ । त्यसो हुन नसक्दा विरोधी वर्ग आफ्नो विश्वदृष्टिकोणसहित शासन गरिरहेका छन् ।
श्रमजीवी वर्गको मुक्ति त्यतिखेर पूरा हुन्छ, जब समाजका सबै मान्छेमध्ये कसैले पनि अर्को मानिसलाई शोषण गर्न पाउन्नन् र शोषण गर्न सक्दैनन् । त्यो मात्र होइन, नाफा खानेहरूलाई ज्याला खानेहरूले शासन चलाएर समानताको अवस्थामा पुर्याउने मान्छे प्रकृतिको सर्वश्रेष्ठ जीव हो । त्यति उच्चस्तरको जीव सबै मिलेर प्रकृतिका अन्य जीव र साधनस्रोतलाई उपयोग गर्नुपर्छ, गर्न पाउने र गर्न सक्ने अवस्थामा पुग्नुपर्छ । यसरी आपसमा शोषणको प्रयत्त गर्दा र प्रकृति विरुद्धको सङ्घर्ष कमजोर अवस्थामा गएको छ । एकातिर, उत्पादनको साधनबाट उत्पादन भएका हाम्रा आवश्यकताका वस्तुहरू थुप्रिरहने, अर्कोतिर, अभाव र अज्ञानताले बास गरिरहनेयस्तो प्रतिकूल अवस्था समाप्त पार्न हामी आफै कस्सिनुपर्छ । त्यो काम कसैले पूरा गरिदिन्नन् र आफै पूरा हुन पनि सक्दैन । त्यसैले मजदुरको मुक्ति मजदुरबाहेक अरू कसैले गर्न सक्दैन ।
मानव श्रमले बनाएका र प्रकृतिले सित्तैमा दिएका सबै चिज कसैले पनि व्यक्तिगत बनाउन सक्दैन । नसक्ने अवस्थामा पुर्याउन र बनाउन नदिने काम पनि मजदुरको हो ।
सामूहिक प्रयत्नबाट निर्माण भएका सबै वस्तु सामूहिक स्वामित्वअन्तर्गत राख्न सक्नु पर्छ । किनभने मान्छेले मान्छेलाई शोषण काम त्यहीँबाट सुरु भएको हो । त्यही कारण कसैलाई अधिकारै अधिकार हुने र कसैलाई कर्तव्यैकर्तव्य हुने पनि त्यसैले गर्दा भएको हो ।