पर्वत । राष्ट्रिय जनमोर्चाका पूर्वकेन्द्रीय सचिव कृष्ण अधिकारीले भारतको नेपालमाथि हस्तक्षेपकारी नीतिमा कुनै परिवर्तन नभएको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणमा पनि आफ्नो पुरानै उदेश्य पूरा गर्नका लागि भारतले प्रयास गरेको अधिकारीले बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा पर्वतले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेता अधिकारीले भारतको साम्राज्यवादी उदेश्य अन्तर्गत नेपालमाथि विभिन्न सर्तहरु थुपर्ने र सम्झौता गर्न बाध्य पार्ने गरेको स्पष्ट पार्नुभयो । उहाँले प्रचण्डले ठूला ठूला उपलब्धि भएको भन्दै प्रचार गरेपनि भारतलाई दिनेमात्रै काम भएको बताउनुभयो ।
‘भारतको नेपालप्रतिको साम्राज्यवादी नीतिमा कुनै परिवर्तन आएको छैन । नेपालको राजनीति, सिमाना, जनसंख्या हरेक क्षेत्रमा आक्रमण गर्ने उसको पहिल्यैदेखिको नीति हो’ अधिकारीले भन्नुभयो, ‘प्रचण्डले भारत भ्रमणमा ठूलो उपलब्धि भयो भनेपनि नेपालको हितभन्दा धेरै भारतकै हितमा काम भएको छ ।’
उहाँले नेपालका राजनीतिक दल र नेताहरु भारतीय शासकसामु नतमस्तक बन्दा देशको राष्ट्रियता नै अप्ठेरोमा पर्ने गरेको बताउनुभयो ।
अधिकारीले समसामयिक राजनीति, नागरिकता, एमसीसी, संघीयता लगायत विषय र पार्टीले लिएको नीति तथा संघर्षबारे प्रशिक्षण दिनुभएको थियो ।
यस्तै, वामपन्थी नेताहरु भोजराज उप्रेती, गोपीचन्द्र बस्याल र ईन्द्रकान्त भुसालले पनि प्रशिक्षण दिनुभएको प्रशिक्षण भेलामा अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष डोलराज भुसालले समेत आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रमको अध्यक्ष राजमो पर्वतका अध्यक्ष गोविन्द पौडेल, सञ्चालन जिल्ला सदस्य बुद्धि गौँडेल र स्वागत हिरामणि शर्माले गर्नुभएको थियो ।