साउदी । साउदी अरब नेपाली एकता समाजले भारतले आफ्नो नयाँ संसद भवनभित्र लुम्बिनी र कपिलवस्तु समेटेर बनाएको नक्सा राखेको भन्दै आपत्ति जनाएको छ ।
अध्यक्ष राजकुमार धितालले एक विज्ञप्ति प्रकाशित गरी नेपाली भूभाग आफ्नो नक्सामा समावेश गरेर आफ्नो नांगो साम्राज्यवादी प्रवृति प्रदर्शन गरेको बताउनुभएको छ।
‘विगत लामो समयदेखि हाम्रो नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा, कालापानीलाई पनि भारत ले आफ्नो नक्सामा समावेश गरेको छ । र, आफ्नो भूभाग भएको दाबी गरिरहेको छ ।’
कालापानीमा लामो समयदेखि भारतीय सेना क्याम्प बनाएर बसेको तथा सुस्ता लगायत विभिन्न क्षेत्रमासमेत जमिन हडप्ने गरिरहेको भन्दै यस प्रकाको मिचाहा, हेपाहा प्रवृतिको सरकारले टुलु टुलु हेरेर बस्ने र आफ्नो सत्ता स्वार्थको लागि नदीनाला र साधन स्रोत भारतलाई बुझाउने गरेको बताउनुभएको छ ।
साथै, साउदी अरब नेपाली एकता समाजले नागरिकता दिने नीति खुकुलो बनाउँदा नेपाली नागरिक नै अल्पमतमा पर्ने र विदेशी नागरिकको बहुमत हुने भन्दै नागरिकता ऐन खारेज गर्न समेत माग गरेको छ ।