काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको विवादित नागरिकता विधेयक राजपत्रमा प्रकाशित भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशन गरिएसँगै कार्यान्वयनमा गएको हो ।
राजपत्रमा प्रकाशित नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको ऐनमा २०७२ असोज ३ भन्दा अघि जन्मका आधारमा नेपाली नागरिकता लिएका बाबुआमाका सन्तानले १६ वर्ष उमेर पूरा भएपछि वंशजका आधारमा नागरिकता पाउने व्यवस्था छ।
यस्तै, नयाँ ऐनमा बाबु वा आमा पत्ता नलागेका बालबालिकालाई १६ वर्ष उमेर पूरा गरेपछि वंशजका आधारमा नागरिकता दिने व्यवस्था छ।
यसैगरी, नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेका तर बाबुको पहिचान हुन नसकेका व्यक्तिले पनि वंशजका आधारमा नागरिकता पाउनेछन्।
यसैगरी विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिले पनि नेपाली नागरिकता लिने बेला निजका आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नेपालको नागरिकता पाउनेछ ।
पूर्णपाठ