तमघास । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको चलखेल युक्रेन बनाउनका लागि भएको दाबी गर्नुभएको छ ।
गुल्मीको कालिगण्डकी गाउँपालिका केन्द्र पुर्तिघाट बजारमा २०८० जेठ १३ गते शनिबार रक्तिम सांस्कृतिक सांस्कृतिक अभियानको सांस्कृतिक प्रस्तुतिसहितको सभालाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
‘पछिल्लो समयमा नेपालमा अमेरिकी साम्राज्यवादको चलखेल बढेर गएको छ’ उहाँले भन्नुभयो– ‘तपाईंहरूले बुझ्नुपर्दछ, अहिले अमेरिकाले युक्रेनमा के गरिरहेको छ भन्ने कुरा ? हो, नेपाललाई त्यही युक्रेन बनाउन अमेरिका लागिपरेको छ ।’
सम्बोधनको क्रममा उहाँले युक्रेन रुसको विरुद्ध अमेरिकी षड्यन्त्रको हिस्सा भएको बताउनुभयो ।
‘नेपालको असंलग्न परराष्ट्रनीतिलाई ध्वस्त पार्न अमेरिका लागिराखेको छ । त्यस क्रममा कथित राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरिएको हो’ उहाँले कथित राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत् त्यसका लागि काम भइरहेको उहाँले बताउनुभयो ।
मन्तव्यको क्रममा उपाध्यक्ष पौडेलले नेपालमा भारतीय साम्राज्यवादले हिन्दु राष्ट्र र राजतन्त्रका लागि तथा अमेरिकी साम्राज्यवादले इसाईकरण र हिन्दप्रसान्त रणनीतिका लागि काम गरिरहेको बताउनुभयो ।
‘भारतले लामो समयदेखि नेपाललाई हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा पछि फर्काउन खोजिरहेको छ’ उहाँले भन्नुभयो– ‘अर्कोतिर, अमेरिकाले चीन घेर्न हिन्दप्रसान्त रणनीतिको पक्षमा इसाईकरणको एजेन्डा पनि सँगै अगाडि बढाइरहेको छ ।’
राजमो नेतृ पौडेलले देशको यस्तो विषम परिस्थितिमा नेपाली जनता सचेत हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

राजमो गुल्मीका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता तथा जिल्ला सचिव छविलाल सर्तुङीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवर, नेकपा (मसाल) ५ नं. प्रदेश प्रवक्ता तिलक जिसी र राजमो जिल्ला कोषाध्यक्ष तथा जिल्ला समन्वय समिति गुल्मीकी सदस्य नरमाया रानाले पनि मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा अखिल नेपाल जनजाति सम्मेलनकी सचिव उषा पुन, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य सरिता जिसी, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य हरि न्यौपाने, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य गुमानसिंह पुन, नेकपा (मसाल) का जिल्ला प्रवक्ता ओमेन्द्र कुँवर, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का जिल्ला अध्यक्ष श्यामलाल पन्थ, रक्तिम सांस्कृतिक अभियान गुल्मीका अध्यक्ष नेत्र राना, अखिल नेपाल युवक सङ्घका भीमबहादुर थापा, राजमो जिल्ला सल्लाहकार मोहनलाल श्रेष्ठलगायतको आतिथ्य रहेको थियो ।


राजमो कालिगण्डकी पालिका समितिका अध्यक्ष सूर्यबहादुर क्षेत्रीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानको जिल्ला समितिका कलाकारहरूले जोडदार सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
