जुमान सिंह केसी, प्युठान ।
राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले अमेरिकी साम्राज्यवाद नेपालको बाधक भएको आरोप लगाउनु भएको छ।
नेपालको लोकतन्त्र, सार्वभौमिकतामाथि नै अमेरिकी साम्राज्यवादले आफ्नो साम्राज्य फैलाउन लागेको बताउनु भयो।
बिहीवार प्रगतिशील पत्रकार संघ नेपाल, जिल्ला शाखा प्युठानद्वारा बाग्दुलामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पौडेलले यस्तो बताउनु भएको हो।
राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको अमेरिकी साम्राज्यवादविरुद्ध मेची महाकाली अभियानको पश्चिमी टोलीले प्युठानको भिङग्री र मच्छिमा अमेरिकी साम्राज्यवादको विरोधमा सभा गर्ने बताएको छ ।
पत्रकार सम्मेलनमा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिँदै राजमो प्रवक्ता एवम् पूर्वसांसद पौडेलले विश्वका विभिन्न देशहरूको राष्ट्रियता र सार्वभौमिकतामाथि अमेरिकाले यो वा त्यो रुपमा आक्रमण गर्दै आएको बताउँदै नेपाल पनि अमेरिकी साम्राज्यवादको हस्तक्षेपबाट अछुतो नभएको बताउनु भयो । देशमा दिनानुदिन अमेरिकी साम्राज्यवादको गतिविधि बढ्दै जाँदा राष्ट्रियता अफ्ठ्यारोमा पर्दै गएको उहाँको भनाई छ ।
राष्ट्रियता र गणतन्त्र संकटमा परेको छ भन्दै उहाँले देशलाई बचाउन राष्ट्रिय जनमोर्चाले मेची–महाकाली अभियान शुरु गरेको बताउनु भयो ।
‘गणतन्त्रको रक्षा अहिलेको मुख्य आवश्यकता हो । यस्को रक्षाको लागि जनमोर्चाले जस्तोसुकै बलिदानी दिन पनि तयार रहेको छ’ उहाँले भन्नुभयो, ‘एमसीसी जस्तो राष्ट्रघाती सम्झौताले देशको राष्ट्रहितको पक्षमा नरहेको स्पष्ट भइसक्यो ।’
गाउँगाउँमा जागरण ल्याउनुपर्ने उहाँले बताउनुभयो । जनतामा जनजागरण जगाउन र देशमा हुने सबैखाले वैदेशिक हस्तक्षेपका विरुद्धमा जनतालाई आन्दोलित पार्नुपर्ने उहाँको भनाई छ ।
पौडेलले थप्नुभयो, ‘नेपालको भूमी प्रयोग गरेर चाइनालाई आक्रमण गर्ने रणनीतिमा अमेरिका छ । जसले गर्दा नेपाल विश्वयुद्धको चक्रब्युहमा फस्ने सम्भावना छ ।’
यो अभियान अब गाउँ गाउँमा लैजाने र गाउँबाटै जनबिरोधी गतिविधिको अन्त्यको लागि अभियान थालिने समेत उहाँले बताउनु भयो ।
राष्ट्रिय जनमोर्चाले जनताका साझा एजेन्डा उठाएको जिकिर गर्दै उहाँले गलत कुराको विरोध र राम्रो कुरा र एजेन्डाको सबैले समर्थन गर्नुपर्ने बताउनुभयो ।
एक प्रसङ्गमा देश जोगाउन सकिन्नकी भन्ने चिन्ता बढेको छ बताउनुभयो । उहाँले देश भ्रष्टाचारले दलदलमा फसेकोले यसबाट पार लगाउनैपर्ने स्पष्ट पार्नुभयो ।
लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै महंगो प्रदेश खारेजी हुनुपर्ने र स्थानीय तहलाई थप शक्तिशाली बनाउनुपर्ने उहाँले दाहोर्याउनुभयो । संघ र स्थानीय सरकारलाई, अधिकार सम्पन्न जनमुखी बनाउनुपर्ने र जनताले अनुभुति गर्ने गरि काम गर्नुपर्ने बताउनु भयो ।
प्रगतिशील पत्रकार संघ नेपाल, प्युठानका कार्यवाहक अध्यक्ष जुमानसिंह केसीको अध्यक्षतामा भएको कार्यक्रममा राजमोका केन्द्रीय, प्रदेश जिल्ला स्तरीय नेता तथा कार्यकर्ता र क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको थियो ।
राजमोले जेठ १ गते कञ्चनपुरको महेन्द्रनगर र बाग्लुङको बाग्लुङ बजारबाट एकैसाथ मेची महाकाली अभियान सुरु गरेको हो । यो अभियान जेठ १५ गते काठमाडौं र बुटवलमा समापन गरिने राजमोले बताएको छ।





