दाङ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले प्रतिद्वन्द्वी चीन विरुद्ध अमेरिकी साम्राज्यवाद नेपालमा आएको बताएको छ ।
अमेरिकी साम्राज्यवादको विरुद्धमा राजमोद्वारा सञ्चालित मेची–महाकाली अभियानको टोली २०८० जेठ ८ गते सोमबार दाङको तुल्सिपुरस्थित विपीचोकमा पुगेपछि त्यहाँ आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
राजमो उपाध्यक्ष पौडेलले चीन अमेरिकी साम्राज्यवादको मुख्य प्रतिद्वन्दी भएको दाबी गर्नुभयो ।
‘सबैलाई थाहै छ नि, अमेरिकाको मुख्य प्रतिद्वन्द्वी चीन हो भन्ने कुरा’ उहाँको भनाइ थियो– ‘चीनको विरुद्धमा नेपाली भूमिमा टेकेर युद्ध गर्न अमेरिकी साम्राज्यवाद नेपालमा आजभोलि बढी सक्रिय भएको हो ।’
सम्बोधनको क्रममा उहाँले अमेरिकाको अहिलेको भूमिका बढी हस्तक्षेपकारी भएको बताउनुभयो ।
‘पहिला पहिला नेपालमा भारतीय साम्राज्यवादले माइक्रो म्यानेजमेन्ट गर्दथ्यो । त्यो क्रम अहिले पनि यथावत् नै छ’ उहाँले भन्नुभयो– ‘अब अमेरिकी साम्राज्यवाद पनि प्रत्यक्ष रूपमा नै माइक्रो म्यानेजमेन्ट गर्ने गरी आएको छ । उसको यो भूमिका विगतको भन्दा बढी हस्तक्षेपकारी छ ।
मन्तव्यको क्रममा उहाँले देशको समसामयिक राजनीतिक परिस्थतिमा गणतन्त्र र धर्म निरपेक्षताको रक्षा मुख्य विषय भएको बताउनुभयो ।
‘२०६२–६३ सालको जनआन्दोलनद्वारा स्थापित गणतन्त्र र धर्म निरपेक्षता खतरामा छ’ उहाँले भन्नुभयो– ‘त्यसैले यी दुई मुख्य उपलब्धिको रक्षाका लागि अगाडि आउने राजनीतिक पार्टीहरूसित सहकार्य गर्नु तात्कालिक आवश्यकता हो । त्यसैले राजमो अहिले त्यस्तो गठबन्धनमा सामेल भएको छ ।’
सङ्घीयता खारेजीको माग राजमोले सुरुदेखि नै उठाउँदै आएको स्मरण गर्नुभयो ।
‘हामीले २०६३ सालको अन्तरिम संविधानमा सङ्घीयता सामेल गरेपछि नै त्यसको विरुद्धमा लगातार आवाज उठाउँदै आएका छौँ’ उहाँले थप्नुभयो– ‘अहिले त सङ्घीयताको विरुद्धमा व्यापक जनमत कायम भइसकेको छ । अरू पार्टीले पनि सङ्घीयताको विरुद्धमा आवाज उठाउन थालेका छन् ।’
उहाँले सङ्घीयता खारेज नगरी मुलुक विकासतर्फ अगाडि जान नसक्ने बताउनुभयो ।
सही विकल्प राजमो : जिसी
सभालाई सम्बोधन गर्दै नेकपा (मसाल) का लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसीले अहिलेको सही राजनीतिक विकल्प राष्ट्रिय जनमोर्चा भएको बताउनुभयो ।

‘मानिसहरू विकल्पको खोजीमा कथित राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ पनि लागिरहेका छन्’ उहाँले भन्नुभयो– ‘जसको दर्शन, नीति, सिद्धान्त केही छैन, ऊ राजनीतिक विकल्प बन्न सक्दैन । सही विकल्प राष्ट्रिय जनमोर्चा नै हो ।’
उहाँले राजमोको दर्शन, सिद्धान्त र विचार सही भएको र राजनीतिक व्यवहारमा पनि राजमो निष्कलङ्क सावित भएकाले नेपाली जनताको ध्यान यतातर्फ जानुपर्ने बताउनुभयो ।
सभालाई नेकपा (मसाल) दाङका प्रवक्ता भरत भण्डारी, राजमो तुल्सिपुर पालिका समितिका अध्यक्ष ईश्वरी भण्डारीलगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवरले गर्नुभएको थियो ।
राजमो महासचिव मनोज भट्टको नेतृत्वमा जेठ १ गते कञ्चनपुरबाट उद्घाटन भई अघि बढेको टोली दाङ आइपुगेको हो ।
टोलीमा राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको नेतृत्वमा नेकपा (मसाल) लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसी, अखिल (छैठांै) अध्यक्ष देवेन्द्र कुँवर र अखिल नेपाल जनजाति सम्मेलनकी केन्द्रीय सचिव उषा पुनलागयत सहभागी हुनुहुन्छ ।





