दुर्गानाथ खरेल ##
जब मानिसले एउटा खुला पुस्तकको रूपमा रहेको संसारको सैद्धान्तिक जाँचबुझ, विश्लेषण र व्याख्या गर्न सुरु गर्छ, ऊ दर्शनमा प्रवेश गरिरहेको हुन्छ ।
धर्मले मानिसबाट अन्धअनुगमन गर्छ भने दर्शनले दिमागको स्वतन्त्र प्रयोगको, स्वतन्त्र चिन्तनको अपेक्षा गरेको हुन्छ ।
माक्र्सले भनेका छन्– “दार्शनिक अनुसन्धानका लागि पहिलो आवश्यकता साहसिलो र स्वतन्त्र मन हो। एउटा छुट्टै विज्ञानको रूपमा दर्शन वर्गसमाजको उपज हो । माक्र्सका अनुसार “आफ्नो समयको आत्मिक सारतत्व र संस्कृतिको सजीव आत्मा दर्शन हो।
दासदर्शन, सामन्ती दर्शन पुँजीवादी दर्शन, सर्वहारा दर्शन आदि आफ्नो युगको विकासअनुरूप उत्पन्न हुने दर्शनले सो युगका खाँचो पूर्ति गर्नमा सशक्त बौद्धिक साधनको भूमिका खेल्ने गर्दछ ।
दर्शन भनेको विश्वलाई हेर्ने एउटा दृष्टीकोण हो । यसले प्रकृति, समाज र मानवबिच चिन्तनको विकासका नियमको अध्ययन गर्दछ । दर्शनको कार्यभार विद्यमान यथार्थतालाई जान्नु र यसको व्याख्या प्रस्तुत गर्नु हो ।
समाजमा लामो समयदेखि सम्पन्न र विपन्न गरी दुईओटा परस्पर विरोधी वर्ग छन् । वर्गविभाजन भएकै समय दासव्यवस्था भएको समयमा दर्शनको उत्पत्ति भएको हो । दर्शनमा पनि परस्पर विरोधी आदर्शवादी र भौतिकवादी दर्शन कायम छन् । यिनीहरूले छुट्टाछुट्टै वर्गीय दर्शनका प्रतिनिधित्व गर्छन् । परम्परागत किसिमले समाज विकासको गति अगाडि बढेका हुनाले लामो समयदेखिको आदर्शवादी दर्शनको छाप समाजका करिब करिब सबैजसो जनतामा परेको छ । त्यो सजिलै बदलिने अवस्थामा यसकारणले छैन कि त्यसले सत्तारूढ सम्पन्न वर्गको प्रतिनिधित्व गर्छ ।
कलाले हामीलाई सृजन शक्ति प्रदान गर्छ† विचारमा खिया लाग्नबाट जोगाउँछ भने दर्शनले चिजबारे बोध गर्ने शक्ति र युक्तिसङ्गत ढङ्गले सोच्ने सामथ्र्य प्रदान गर्छ । व्यक्तिको सैद्धान्तिक चिन्तनले दर्शनमा आफ्नो तरिका र सारतत्व भेट्याउँछ । दर्शनले सैद्धान्तिक चिन्तनलाई रूप र ढाँचा प्रदान गर्दछ । त्यसले व्यक्तिको चिन्तनधारालाई निर्देशित गर्दछ ।
लेनिनले भनेका छन्– “घटनाले उसलाई नियन्त्रणमा राख्नेभन्दा घटनालाई उसले नियन्त्रणमा राख्न सक्ने हुन समाजवादी विश्व दृष्टिकोणको आवश्यकता छ । हामीले त्यो वैज्ञानिक दृष्टिकोण माक्र्सवादी दर्शनबाट मात्र प्राप्त गर्न सक्छौँ ।”
माक्र्सको दर्शनले मजदुरलाई र मजदुर वर्गलाई ज्ञानको शक्तिशाली औजार प्रदान गरेको छ । समाजको क्रान्तिकारी रूपान्तरण गर्न क्रान्तिकारी वर्गलाई भौतिक हतियार र बौद्धिक हतियार अथवा सङ्गठन र सिद्धान्त नभई नहुने साधन हुन् ।
वर्गको निम्ति दर्शनको अहम् महत्व छ । कला कुनै पनि व्यक्तिको महत्वपूर्ण योग्ता हो । कलाको जननी दर्शन हो । दर्शनबिनाको कला हुन सक्दैन । जोकसैले सिगार्ने दर्शनलाई नै हो । कला नहुँदासम्म दर्शन जनताको बिच भिज्न पनि सक्दैन । दर्शनलाई आकर्षण बनाउने कला जोकसैमा हुन्छ भन्ने पनि होइन ।
कला र दर्शनमध्ये मुख्यत: दर्शन नै हो तर कलाबिना दर्शनले पनि जनताको मनभित्र प्रवेश गर्न सक्दैन । त्यसकारण कलाको पनि महत्वपूर्ण स्थान छ । दार्शनिक कठोर हुन्छन् तर कलाकार नरम हुन्छन् । दर्शनमा कला घुसाउनु भनेको सुनलाई पनि सुगन्धित बनाउनु जस्तै हो । दर्शन परस्पर विरोधी हुने भएकाले कला पनि परस्पर विरोधी पक्षमध्ये एउटाको विरोधी र अर्काको पक्षपाती हुन्छ । कलाले सिँगार्ने वस्तु छनौट गर्ने भनेको दर्शनको छनौट गर्ने हो । अध्यात्मवादी दर्शन र भौतिकवादी दर्शनमध्ये एउटाको छनौट गरेर त्यसमा कला भर्ने हो ।
वैज्ञानिक चिन्तनको पहिलो शर्त वस्तु जस्तो रूपमा छ, त्यही रूपमा हेर्नु हो । यथार्थता हाम्रो प्रस्थानविन्दु बन्नुपर्छ । कसैलाई मन नपर्दैमा यथार्थ बिलाएर जान्न, कसैको भावनाबाट स्वतन्त्र रहन्छ । यथार्थतालाई बिनापूर्वाग्रह त्यही रूपमा लिनु वैज्ञानिकता प्राप्त गर्ने पहिलो आधारभूत सिद्धान्त हो । सत्यप्रति प्रेम र नि:शर्त निष्ठा हामीले सकारौँ वा नकारौँ, सत्यको अस्तित्व रहन्छ । विजयपूर्वक आफूलाई स्थापित गरिछाड्छ ।
सत्य एउटा अदम्य र महान् शक्ति हो । सत्यप्रतिको सम्मान ज्ञानको सुरुवात हो । सत्य गौरवशाली विजयबाट सुभोषित हुन्छ । सत्य सित्तैमा पाइन्न । त्यो लामो र कष्टपूर्ण प्रयत्नको प्रतिफल हो । त्यसको प्यार र सम्मान गर्नु दृढ रूपले निष्ठावान रहनु, सत्यको पक्षमा सङ्घर्षरत रहनु सारै महत्वपूर्ण कुरा हुन् ।
सत्य सापेक्षबाट अगाडि बढ्दै निरपेक्ष सत्यसम्म पुग्ने हो । सापेक्ष सत्यको कुरा गर्दा समाजमा वर्ग र वर्गीय स्वार्थप्रति पनि विचार पुर्याउन आवश्यक छ ।
सम्पत्ति कमाउन नाफा गर्ने चिन्तनले चोरलाई चोर्ने काम गर्न र ठगलाई ठग्ने काम गर्न प्रोत्साहन मिल्छ । समाजमा नाफा कमाउने काम र उद्देश्यले गर्दा काम नगरिकन पनि सुविधा उपयोग गर्ने उद्देश्यसँग चोर र ठग पनि पेसेवर भएका हुन्छन् । समाजमा श्रम गर्ने र उच्च स्तरको श्रमबाट उच्च स्तरको सुविधा उपयोग गर्ने काम बिनाभेदभाव गर्नुपर्ने, गराउनपर्ने र नियमन गर्नुपर्ने भएको भए चोर्ने, बेइमानी गर्ने र ठगी काम गर्नलाई प्रोत्साहन हुने थिएन । यी सबै शोषण गर्ने र नाफाबाट उच्च सुविधा उपयोग गर्ने उद्योगका शाखा हुन् । यस्तो अवस्थामा सत्य पत्ता लगाउन वर्गीय राजनीति नै गर्नुपर्ने हुन्छ ।
फेरि सत्यलाई झुटले ढाकेका हुन्छन् । झुटो पन्छाएर मात्र सत्य प्राप्त हुन सक्छ । त्यसका लागि समय र योग्यताका साथै अनुभव पनि आवश्यक पर्दछ ।
तथ्यबाट सत्य पत्ता लगाउन तथ्यअनुसार तथा अवलोकन गर्नु आवश्यक हुन्छ । खासमा धेरै समय र मिहिनेत गर्नुपर्ने हुन्छ । माओले भनेका छन्– “जसले अनुसन्धान गर्दैन, त्यसलाई बोल्ने अधिकार हुन्न ।” त्यसका साथै ठिक ढङ्गबाट विश्लेषण गरेर सही निष्कर्ष निकाल्नु पनि सजिलो काम होइन । यो पनि धेरै अप्ठेरो काम हो । खोजीनीति गर्दा प्राथमिक र गौण पक्ष पनि निकाल्नुपर्छ ।
आफूले अध्ययन गर्ने दर्शन स्वस्थ र वैज्ञानिक हुनुपर्छ । त्यस्तो माक्र्सवादी दर्शन नै हो । माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओलाई ठिक ढङ्गले पढेर वैज्ञानिक विश्व दृष्टिकोण हासिल गर्न सकिने छ । हामीले ज्ञान प्राप्त गर्न विश्वास र प्रमाण दुवै पुर्याउनुपर्ने हुन्छ । सर्वसाधारण जनताले प्रमाण दुवै पुर्याउनुपर्ने हुन्छ । सर्वसाधारण जनता प्रमाण पुर्याउने अवस्थासम्म पुग्दैनन् । उनीहरू विश्वास गर्ने गर्छन् र त्यसैलाई प्रमाण मान्दछन् ।
बहुमत जनताको अवस्था त्यस्तो भएपछि खोज–अनुसन्धान आफै लङ्गडो हुन्छ किनभने जनताले विश्वास गर्ने हुनाले झुटो कुरामा विश्वस्त बनाउन अवसरवादीहरू धेरै सिपालु हुन्छन् । हामीले पनि जनताको मान्छे भएर काम गर्दा बहुमत जनतालाई नकार्न मिल्दैन । त्यसकारण जनताको राजनैतिक चेतनास्तर उच्च बनाएर सहीलाई सही र गलतलाई गलत भन्न सक्ने बनाउनेभन्दा अर्काे छोटो र सजिलो उपाय रहन्न ।
हामीले जनताका बिचमा गर्ने काम र व्यवहार जनताको स्तरबाट सुरु गर्नुपर्छ । हाम्रो स्तरबाट जनतालई सहभागी बनाउन सकिन्न । समस्या जनताका बिचमा छन् । समाधान माक्र्सवाद–लेनिनवाद र माओ विचारधारामा छन् । त्यसैले अध्ययन र जनताका बिचमा काम दुईओटै उत्तिकै महत्वका साथ गर्नुपर्छ । अध्ययन किताबमा मात्रै हाइन, जनताका बिचमा गएर पनि गर्नुपर्छ ।
निकोलाई अस्ट्रोभस्कीले भनेका छन्– “सबभन्दा प्यारो सम्पत्ति जीवन हो । संसारमा सबैभन्दा उच्च लक्ष्य रहेको मानवजातिको मुक्तिका लागि मेरो सारा जीवन र तागत लगाइएको छ।
हामीले आफ्नो जीवनको महत्व समयमै थाहा पाउनुपर्छ । हामी हाम्रा अतिआवश्यकताका वस्तुहरू त्यसै एक जनाको प्रयासले र पसिना नबगाइकन हामीलाई प्राप्त भएका होइनन् । फेरि हामी समाजमा एक्लै पनि छैनौँ । प्रकृतिका विरुद्ध हामी सबैले काम गर्नुपरेको छ, गर्नुपर्छ र नगरी हुन्न ।
हाम्रो जीवन जति प्यारो छ, अरूको जीवन पनि त्यत्तिकै प्यारो छ भन्ने महसुस गर्नुपर्छ । त्यसकारण वर्तमान व्यवस्थाको नियम, कानुनमातहत रहेर हाम्रा निम्नतम आवश्यकता पूरा गर्न निश्चित समयसम्म काम गर्नैपर्छ । आफ्नो योग्यता, क्षमताअनुसार श्रम बेच्नैपर्छ । समय र पैसासमेत केही बचाउनु पनि पर्छ । त्यो समय र त्यो पैसा हामी जस्तै अरू हजारौँहजार श्रमजीवीको मुक्तिको पक्षमा खर्च गर्नैपर्छ किनभने मानवजातिको मुक्ति भनेको मानव, समाजका सबै सदस्यले एकार्कोलाई शोषण गर्न नपाउने र सबै मिलेर गरेको प्रकृति विरुद्ध सङ्घर्षको फल मानव मात्रले उपभोग गर्न पाउने अवस्थाको समाज बनाउने हो । जीवनका शिशुअवस्था, विद्यार्थी अवस्था र वृद्ध अवस्थामा समाज आफै नाजवाफदही भएर सुविधा उपलब्ध बनाउने हो । सामान्यत: आफ्नो जीवनका आवश्यकता मात्रै अरू जनावरले पनि पूरा गरेकै छन् । त्यसकारण वृद्धावस्थामा पछुतोमा नपर्ने गरी जीवनको उपयोग गर्नुपर्छ । गौरवका साथ भन्न सक्नुपर्छ कि मैले व्यक्तिगत आवश्यकता मात्रै पूरा गरेर बसिनँ, श्रमजीवी वर्गको मुक्तियुद्धमा सामेल भएँ ।”
कम्युनिस्ट घोषणापत्रको प्रकाशनबाट माक्र्सवादको निर्माणको चरण पूरा भएर विकासको चरण सुरु भयो । समाजको, अर्थतन्त्र, राजनीति, कानुन, धर्म, दर्शन, रीतिरिवाज एकअर्कोमाथि निर्भर र कृयाशील रहे पनि प्रमुख र आधारभूत तत्व आर्थिक पक्ष हो ।
उत्पादन कृयाकलापमा मानिसले आफूलाई सामाजिक प्राणीको रूपमा ढाल्ने गर्छ । प्रकृतिसित मानिसको सम्बन्ध र उत्पादकको हैसियतले उनीहरूबिच हुने सम्बन्ध दुवै पक्ष अभिन्न रूपमा रहन्छन् । उत्पादक शक्तिको विकासको स्तरअनुसार उत्पादन सम्बन्धले सकृय प्रभाव पार्दछ । उत्पादक शक्तिको अरू विकासलाई सुगम पार्न पुरानो उत्पादन सम्बन्धलाई नष्ट पार्दछन् । उत्पादक शक्तिको उच्च विकासको स्तर, क्रान्तिकारी वर्गको निर्माण र विकास दुवै पूर्वाधार पुँजीवादी समाजको गर्भभित्र विकसित हुनुपर्छ । पुँजीवाद शोषणयुक्त समाजको अन्तिम र मरणासन्न अवस्था हो ।
दासव्यवस्थाबाट सुरु भएको शोषक र शोषित वर्ग भूदास र सर्वहारा वर्गसम्म आफ्नो अवस्थामा सुधारसहित उच्चस्तरको शोषणमा पर्दै गरे । सर्वहारा वर्ग सबैभन्दा शोषित र उच्चस्तरको परिवर्तनकर्ता हो । उसले श्रम बेच्ने र सङ्गठन निर्माण गर्ने दुवै काम गर्छ र गर्न सक्छ । नगरेसम्म उसको मुक्ति सम्भव पनि छैन ।
शोषणविहीन र वर्गविहीन समाज निर्माण गर्ने सशक्त वर्ग पनि त्यही हो । उसले राज्यसत्ता कब्जा गर्ने र सामूहिक स्वामित्वमा सम्पत्ति विकास गरेर समाजका अरू सबै तह र तप्काका जनताको नेतृत्व लिन नसक्ने हो भने अरू कुनै वर्गले त्यो जिम्मा पूरा गर्ने पनि छैन, गर्न सक्ने अथवा गर्न सुरु गर्ने पनि छैन । यो राजनीतिक लडाइँ हो ।
राजनीति गर्न व्यक्ति तन, मन, धन, वचन, कर्म सबै हिसाबले आफ्नो वर्गीय स्वार्थ जोडिएका भएपछि मात्र स्वार्थ पूरा कस्सिएर काम गर्छ । विरोधीको स्वार्थ पूरा गर्न कोही कस्सिन्न ।
क्रान्ति वर्गसङ्घर्षको विकासको उच्चतम विन्दु मात्र हो । इतिहासको तात्कालिक र चालक शक्ति वर्गसङ्घर्ष हो । पुँजीपति वर्ग विरुद्ध सर्वहारा वर्गको वर्गयुद्ध त्यहाँ पुगेपछि खुल्ला क्रान्तिको रूप लिन्छ । पुँजीपति वर्गलाई हिंसात्मक ढङ्गले उखेलेर फाल्दै सर्वहारा वर्गको शासनको जग बसाल्छ । आफ्नो राजनैतिक प्रभुत्वको प्रयोग गरी पुँजीपतिसँग बाट विस्तार विस्तार सबै पुँजी खोस्ने छ । उत्पादनका सबै साधनलाई सर्वहारा वर्गको हातमा केन्द्रित गर्ने छ । यो काम राजनीतिको मातहतमा विस्तार विस्तार सम्पन्न हुने छ । उत्पादनमा निकै वृद्धि गर्ने छ । ती दुवै सङ्क्रमण कालीन उपाय हुन् । वर्गसङ्घर्ष वर्गीय उद्देश्यवाट सुरु भएर अगाडि बढ्ने गर्दछ ।
पुँजीपति वर्ग र सर्वहारा वर्ग परस्पर विरोधी वर्ग भए पनि दुवै एउटै सूत्रमाथि आधारित हुन्छन् । त्यो सूत्र पुँजीपति वर्गले बढी शोषण गरेर बढी नाफा कमाउने र सर्वहारा वर्गले राजनीतिक हतियारको बलले सरकारी स्वामित्वमा लगेर सामूहिक स्वामित्वको रूप दिएर सबैले योग्यताअनुसार काम गर्ने हो । यो परस्पर विरोधी दिशामा गन्तव्य निश्चित गरेका विरोधी वर्ग एकै ठाउँको उद्योगमा, एउटै उत्पादन प्रकृयामा आमनेसामने भई काम गरेका र गरिरहेका हुन्छन् । एउटाबिना अर्काेको अस्तित्व सम्भव छैन ।
सत्ताकब्जा नहुँदासम्म सत्ताकब्जा गर्ने सङ्क्रमण काल र सत्ताकब्जा भइसेकेपछि वर्गविहीन समाज निर्माण गर्ने सङ्क्रमण काल हुन्छ । यो राजनीतिक कार्यक्रम कम्युनिस्ट घोषणापत्रको प्रकाशनबाट सुरु भएको हो । त्योभन्दा पहिले पनि वर्ग थिए र वर्गसङ्घर्षसहित प्रतिगमन रोक्दै वर्गविहीन र शोषणविहीन अवस्थासम्म पुर्याउने क्रार्यक्रमको रूपरेखा तयार भइसकेको अवस्था थिएन ।