सावित्रा रेग्मी ##
नेपाल कृषिप्रधान देश हो । यहाँका धेरै मानिस कृषिमा आधारित छन् । हिमाल, पहाड, तराई जस्ता भूभाग रहेको, छुट्टाछुट्टै हावापानीसहितको भौगोलिक विविधताले गर्दा नेपालका किसानका फरक फरक प्रकारका समस्या छन् । ती जटिल रूपमा पनि रहेका छन् ।
खेती गर्नको लागि मल, बिउ, सिँचाइ औजार तथा सिपका साथै कडा परिश्रमको आवश्यकता पर्दछ । सरकारमार्फत किसानलाई सिँचाइ, मल, बिउ, सिपमूलक तालिम औजार सहुलियत दरमा उपलब्ध हुनुपर्दछ । तब मात्र किसानले प्रशस्त मात्रामा कृषि उत्पादन गर्न सक्दछन र देशको आम्दानी बढ्न सक्छ ।
नेपालमा हिमालबाट हिउँ पग्लेर आएका नदीहरू धेरै छन् । मेची, कहाकाली, कर्णाली, गण्डकी, नारायणी, कोशी जस्ता नदी हिमालबाट पहाड हुदै तराई क्षेत्रसम्म आइपुगेका छन् । ती धेरै नदी मिसिएर ठुला नदी पनि बनेका छन् । यी नदी भनेका देशलाई हराभरा बनाउने अर्थात् हाम्रो शरीरको रगत जस्तै हुन् तर शासकवर्गले बगिरहेको नदीहरू भारतलाई विक्री गरिसकेका छन् । यी नदीको पानीबाट सिँचाइ गर्न पाइदैन । यी नदीबाट नेपाली जनता बाँध बाँधेर आफ्नो जमिनमा स्रिँचाइ गर्नबाट वञ्चित छन् । फलस्वरूप कृषियोग्य जमिन अझै पनि ठुलो सङ्ख्यामा बाझो रहेका छन् ।
त्यति मात्र होइन, यिनै शासक वर्गले नेपालको जमिनलाई खन्डीकरण गरी खेती गर्न नसकिने अर्थात् प्लटिङको अवस्थामा पुर्याएका छन् । खेती गर्ने वातावरण कठिन बनाएर नेपालीलाई विदेशी मजदुरको रूपमा विदेशमा विक्री गरिन्छ । सोहीअनुसार खाडी मुलकमा रोजगारीको रूपमा नेपाली किसान मजदुरलाई निर्यात गर्ने सरकारको नीति रहेको देखिन्छ ।
यसरी पढेलेखेका विद्वान नेपालीलाई अमेरिका, जापान, बेलायत, क्यानडा, युरोप, अस्ट्रेलियामा बौद्विक मजदुरको रूपमा र अनपढ वा कम पढेका नेपालीलाई खाडी, भारत र विश्वका धेरै भूभागमा रोजगारीका नाममा विदेशमा निर्यात गर्ने नीति सरकारले लिएको छ । त्यसले गर्दा पहाड र तराईका खेतियोग्य जमिनसमेत बाँझोे रहने क्रममा वृद्धि भइरहेको छ । विदेश पठाइएका मजदुर किसानको रेमिट्यान्सले देश र सरकार चलिरहेको छ । यो रेमिट्यान्सले भारतलगायत विदेशका चामल, दाल, नुन, तेल किनेर खाने तर कृषि उत्पादन बन्द गर्ने स्थितिमा देशलाई पुर्याइएको छ ।
अर्कोतिर, रासायनिक मल र कीटनाशक औषधीले माटो बिगारेर खेतियोग्य जमिन बिग्रिसकेको छ भने त्यस्ता कीटनाशक औषधी र रासायनिक मलबाट गरिएको कृषि उत्पादनले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ । त्यति मात्र होइन, पशुपालन, पोल्टिफर्म, चियाबगान, उखुफर्मलगायत सम्पूर्ण व्यापार उद्योग धरासायी अवस्थामा पुगिरहेका छन् । ठुला ठुला उद्योगलाई निजीकरण गर्दै सबै ध्वस्त अवस्थामा पुगिसकेका छन् । सम्पूर्ण क्षेत्रलाई तहसनहस पार्दै नेपाललाई भारतको शरणमा वा पिछडिएको बजारको रूपमा परिणत गरिएको छ । अन्न, लत्ताकपडा, फलफूल, तरकारी, औषधी, पेट्रोल, औद्योगिक सामान आदि भारतकै वा विदेशीकै भरमा बाच्नुपर्ने अवस्थामा पुर्याइएको छ ।
अर्कोतर्फ, नेपालमा जन्मिएका सन्तानहरू आफ्नो परिवारको पालनपोषणका लागि विभिन्न राष्ट्रमा भौतारिरहेका छन् । के हाम्रो देश बैदेसिक मजदुर उत्पादन गर्ने कारखाना हो ? जसले गर्दा लाखौँ युवायुवती आफ्नो देशमा रोजगारीको कुनै उपाय नलागेर विभिन्न देशमा आफ्नो श्रम बिक्री गर्न बाध्य भएका छन् । यता, बाहिर गएका मजदुरको रेमिट्यान्स र देशभित्र लगाइएको कर उठाई शासक वर्ग विलासी जीवन बिताइरहेका छन् ।
बर्सेनि सयौँ युवाहरू आत्मदाह गर्ने, झुन्डिने वा विदेश पलायन हुने क्रम दिन–प्रतिदिन बढिरहेको छ । यो समस्याको समाधान होइन । शासकहरूले देशलाई कङ्गाल बनाएर आन्तरिक रूपमा नेपाललाई ध्वस्त पारिसकेका छन् ।
जबसम्म किसान, महिला, मजदुर, बुद्धिजीवी, व्यापारी, उद्योगपतिले शासक वर्गको यो षड्यन्त्रलाई बुझ्दैनन्, तबसम्म सम्पूर्ण शोषित, पीडित वर्गहरू यस कहालिलाग्दो जीवनबाट छुटकारा पाउन सक्ने छैनन् । यस्तो अवस्थामा सम्पूर्ण शोषित वर्गहरू एक भई शासक वर्गको चरित्रलाई उदाङ्गो पारेर कठघरामा उभ्याउनु राम्रो कर्तव्य हुने छ ।
सम्पूर्ण शोषित, पीडित जनता देशको रगत चुस्नेका विरुद्ध सशक्त सङ्घर्षमा उत्रिनुपर्दछ । साथै उनीहरू किसान, मजदुरको शासन व्यवस्था स्थापनाका लागि लामबद्ध हुनुपर्दछ । यसरी नै राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका साथै देशलाई हराभरा बनाउन सकिने छ ।