काठमाडौं । नेकपा (मसाल) ले नागरिकता विधेयक छिट्टै पारित गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
बिहीबार प्रतिनिधि सभामा सांसदहरुसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री दाहालले दिएको सो अभिव्यक्ति देशको राष्ट्रियताको विरुद्ध भएको मसालले ठहर गरेको छ ।
संसदले बहुमतबाट पारित गरेको नागरिकता संशोधन विधेयक तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता पठाइदिनुभएको थियो । सो विधेयकबाट राष्ट्रघाती प्रावधान हटाउनुको सट्टा जस्ताको तस्तै संसदले पुनः प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएपछि अहिले त्यो विधेयक थन्किएर बसेको छ ।
महामन्त्री मोहनविक्रम सिंहले प्रेशित गर्नुभएको वक्तव्यमा टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई छिट्टै रिहा गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति पनि गैरजिम्मेवार भएको बताउनुभएको छ ।
यस्तो छ, प्रेस वक्तव्य
संसदमा जेष्ठ ०४ गते प्रश्नोत्तरको कार्यक्रमका सिलसिलामा प्रधानमन्त्रीले दिएको जवाफहरू मध्ये दुईटा विषयहरूप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । प्रथम, उहाँले संसदमा पहिले पारित भएको नागरिकता संशोधन विधेयकलाई छिट्टै पारित गर्ने कुरा बताउनु भएको छ । द्वितीय, सर्वोच्च अदालतले ज्यान सम्बन्धी मुद्दामा जन्मकैदको सजाय दिएका रेशम चौधरीलाई छिट्टै जेलबाट मुक्त गर्ने कुराको सङ्केत दिनुभएको छ । उक्त दुबै कुरालाई हामीले गलत मान्दछौँ र तिनीहरूबारे उहाँले प्रकट गरेको विचारलाई कडा शब्दमा विरोध गर्दछौँ ।
पहिले संसदद्वारा पारित भएको विधेयकबाट भारतीयहरूलाई नेपालको नागरिक बन्नको लागि मार्ग प्र्रशस्त गर्दछ र त्यसबाट नेपालको राष्ट्रियतामा गम्भीर आँच पुग्ने कुरा निश्चित छ । त्यसैले संसदमा त्यो विधेयक प्रस्तुत हुँदा राष्ट्रिय जनमोर्चाले त्यसका विरुद्ध मतदान गरेको थियो । अहिले पनि हाम्रो त्यो अडान कायम छ र हामीले कडा शब्दमा त्यसको विरोध गर्दछौँ ।
डेढ वर्षको बच्चा समेतको हत्याका लागि जिम्मेवार तथा अदालतका तीन–तीन तहबाट समेत अपराध प्रमाणित भएर सजाय पाएका व्यक्तिको कैद माफ गरेर मुक्त गर्ने विचार नेपालको कानुन र मानवता समेतका विरुद्ध छ । यो कुरा बुझ्न गाह्रो पर्दैन कि सरकारले खाली राजनीतिक दाउपेच वा लाभहानीमाथि विचार गरेर मात्र रेशम चौधरीलाई जेलबाट मुक्त गर्ने विचार गर्दै छ । सरकारको त्यस प्रकारको कार्यप्रति हाम्रो पार्टीले गम्भीर मतभेद राख्दछ र त्यस प्रकारको कुनै कार्य नगर्न कडा चेतावनी दिन्छ ।
२०८० जेष्ठ ०५ गते ।
मोहनविक्रम सिंह
महामन्त्री





