धनवीर पुन मगर, नयाँ दिल्ली ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनालले नेपालमा साम्राज्यवाद नाङ्गो रुपमा देखा परेको बताउनुभएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाञ्चल राज्य समितिको दशौं राज्य सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष खनालले यस्तो बताउनुभएको हो ।
‘प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वको लागि संघर्ष गरौं । भारतस्थित नेपालीहरुको हकहित र सामाजिक सुरक्षाको लागि संगठित बनौं’ भन्ने मूल नारासहित राज्य सम्मेलन सुरु भएको हो ।
मन्तव्यका क्रममा अध्यक्ष खनालले विगतका सम्मेलनहरुमा प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वको लागि संघर्षलाई मात्रै जोड दिएता पनि यस पटक भारतस्थित नेपालीहरुको हकहित र सामाजिक सुरक्षाको लागि संगठित हुनु पर्नेमा जोड दिइएको बताउनु भयो ।
‘अमेरिकी साम्राज्यवादको हस्तक्षेप नांगो प्रकारले देखापरेको छ, यसबाट देशलाई बचाउनु नेपाली जनताको लागि थप चुनौती रुपमा अगाडि आएको छ’ अध्यक्ष खनालले भन्नु भयो, ‘विगतमा भारतको माध्यमद्वारा वा नेपालका विभिन्न राजनीतिक पार्टीमाथि दबाब दिएर आफ्नो साम्राज्यवादी उद्देश्य पूरा गर्न प्रयत्न गर्दै आएको थियो । अब नेपालमा प्रत्यक्ष रूपले आफ्नो निर्देशनमा काम गर्ने राजनीतिक पार्टी बनाएर त्यो उद्देश्य पूरा गर्ने नीति अपनाएको छ ।’
अध्यक्ष खनालले सम्पूर्ण देशभक्त जनतान्त्रिक शक्तिहरुलाई अमेरिकी साम्राज्यवाद नेपालमा बढ्दो हस्तक्षेपका विरुद्ध संगठित रुपमा अगाडि आउन पनि आव्हान गर्नुभएको थियो ।
‘साम्राज्यवाद अत्यन्तै निर्मम हुन्छ, त्यसलाई मार्न र आफ्नो उदेश्य पुरा गर्न मात्रै आउँछ । बाँच र बाँच्न देउ भन्ने त उसको डायरी मै उल्लेख हुँदैन’ खनालले अगाडि भन्नु भयो, ‘अहिले एमसीसी वा एसपीपीको र कृष्चियन धर्मको नामबाट नेपालमा भित्रिएको छ, बाहिरिने बेलामा कति धेरै नेपालीहरुले शाहदात दिनुपर्ने हुन्छ ।’
बिगतका सम्मेलनहरुको महत्व र यस पटकको सम्मेलनको महत्व एउटै प्रकारको भएता पनि सारमा फरक रहेको अध्यक्ष खनालको भनाई थियो ।
कार्यक्रमको अध्यक्षता शोभाखर पन्थले र सञ्चालन मिथुन सिंहले गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य दिनेश खड्का, तिलक पौडेल, प्रेम आचार्य, विरु श्रेष्ठ, जनजाति केन्द्रीय विभागका संयोजक नेत्र गुरुङ, महिला केन्द्रीय विभागबाट शुष्मा खड्का, विद्यार्थी विभागबाट अजय रेश्मी, केन्द्रीय साँस्कृतिक विभागबाट भूवन केसी, कलाकारहरुबाट विल बहादुर गुरुङ लगायतले आतित्थ्यता एवं सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।
सम्मेलनमा सहभागीहरुलाई रक्तिमका कलाकारहरु र राम कुमार बुढाले स्वागत गर्नुभएको थियो ।