टुकबहादुर रामदाम, मस्कट ।
“संसारका मजदुर एक हौँ !, मजदुर एकता आजको आवश्यकता !” नारासहित ओमानस्थित सङ्गठनहरूले एक सय चौतिसौँ मेदिवस मनाइएको छ ।
ओमान नेपाली एकता समाज, जनप्रगतिशील मञ्च ओमान, प्रवासी नेपाली मञ्च ओमान, प्रवासी नेपाली एकता मञ्च ओमान र विवेकशील नेपाली ओमनले मे ५, २०२३ शुक्रबारका दिन मस्कटस्थित एक रेस्टुरेन्टमा एक सय चौतिसौँ अन्तर्राष्ट्रिय मजदुर दिवस (मेदिवस) मनाएका हुन् ।
जनप्रगतिशील मञ्च ओमानका अध्यक्ष उमेश विकको अध्यक्षता तथा प्रवासी मञ्च ओमानका महासचिव महेश बस्नेतको सञ्चालन रहेको उक्त कार्यक्रमलाई ओमान नेपाली एकता समाजकी लक्ष्मी रायमाझीले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा ओमान नेपाली एकता समाजका अध्यक्ष छविलाल बस्नेत, प्रवासी नेपाली एकता मञ्च ओमानका अध्यक्ष लीलानाथ कोइराला, जनप्रगतिशील मञ्च ओमानका महासचिव पूर्णबहादुर पहाडी, विवेकशील नेपाली ओमानका राजेन्द्र पाण्डे, ओमान नेपाली एकता समाजका महासचिव विष्णु अर्याल, प्रवासी नेपाली एकता मञ्च ओमानकी फूलमाया तामाङलगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियान ओमानका कलाकार टुकबहादुर रामदामले गीत गाएर ऊर्जा दिनुभयको थियो । त्यस्तै, कार्यक्रममा रन्जित आचार्य, सोमकृष्ण श्रेष्ठ, महेश बस्नेतलगायतले प्रगतिशील गीत तथा गजल वाचन गर्नुभएको थियो ।
