काठमाडौं । काठमाडौँ महानगरपालिकाले विद्यार्थी संगठनले शिक्षा शाखामा लगाएको ताला फोडेको छ।
महानगरपालिकाले बिहीबार महानगरभित्रका विद्यालयमा राजनीतिक दल र तिनका भ्रातृ संगठनले राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको थियो। त्यसको विरोधमा नेकपा बहुमतको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले महानगरपालिकाको शिक्षा विभागमा बिहीबार दिउँसो ताला लगाइदिएको थियो।
तर त्यो ताला फोडिएको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जानकारी दिएका छन्। ताला बिहीबार राति तोडिएको बताइएको छ।
अखिल क्रान्तिकारीले विज्ञप्ति जारी गरी शैक्षिक माफियाको निर्देशनमा नेपालका विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनका विरुद्ध ‘बालेन सरकार’ अघि सरेको आरोप लगाउँदै त्यसको प्रतिवाद गर्ने चेतावनी दिएको थियो।
‘हाम्रो संगठनले पटकपटक महानगरपालिकालाई मौखिक र लिखित रूपमा शैक्षिक विकृति र शैक्षिक रूपान्तरणका विषयसहित मागपत्र पेस गरेको थियो। विगतमा पेस गरिएका मागपत्रको छलफल र बहसबाट हल गर्नुको सट्टा शैक्षिक माफियासँग मिलेर विद्यार्थी संगठनविरुद्ध आउनु दलाल पुँजीवादी संसदीय व्यवस्था असफल भएको पुष्टि गर्दछ’, विज्ञप्तिमा उसले अगाडि भनेको थियो, ‘अहिले शैक्षिक दलालहरूले सरकारी विद्यालय र संस्थागत विद्यालयहरूले चर्को शुल्क लिएका छन्। भर्नाको नाममा ३००० देखि १००००० सम्म अवैधानिक रूपमा शुल्क असुल्नेलगायत तमाम समस्या हुँदा महानगर कानमा तेल हालेर बसेको छ। विगतमा हामीले बुझाएको मागहरूप्रति गम्भीर बन्दै महानगरले गरेको गलत निर्णय नसच्याएसम्म हाम्रो तालाबन्दी जारी रहन्छ।’
ताला तोडिएको जानकारी गराउँदै मेयर शाहले दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध हो भन्दै ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फोरेर विफल पारेको बताएका छन् ।
उनले भनेका छन्, ‘मेयर शाहले भनेका छन्, ‘विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौँ। त्यसमाथि पनि दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो। यसै सन्दर्भमा काठमाडौँ महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक संगठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फोरेर विफल पारेका छौँ।’