भरतपुर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा अमेरिकी साम्राज्यावाद प्रत्यक्ष रुपमा उपस्थित भएको दोहोर्याउनुभएको छ ।
बिहीबार चितवनमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिँदै अध्यक्ष केसीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकी साम्राज्यादी शक्तिबाट परिचालित छ भन्ने कुरा व्यवहारले नै देखाएको स्पष्ट पार्नुभयो ।
‘संसारका विभिन्न देशमा अमेरिकाले विभिन्न सहयोगको नाममा, एनजिओ आइएनजिओमार्फत तथा क्रिश्चियन धर्म प्रचारको (मिशिनरी) प्रयोग गरेर साम्राज्यवादी स्जार्थ लाद्न प्रयास गरिरहेको छ’ केसीले भन्नुभयो, ‘नेपालमा पनि विभिन्न सहयोगका नाममा अमेरिका अप्रत्यक्षरुपमा हस्तक्षेप गरिरहेको थियो । अब आफू अनुकुलको पार्टी नै खडा गरेर प्रत्यक्ष रुपमा आएको छ ।’
पत्रकारले रवि लामिछाने नै चुनाव जित्छन् भन्ने छ नि भनेर राखेको प्रश्नमा केसीले कटाक्ष गर्नुभयो, ‘तपाइँहरुले भगवान बनाउनुभएको छ । भगवान ले त चुनाव पनि सजिलै जित्लान् नि त । हामी त सर्वसाधारण जनता हार्न पनि सक्छौँ ।’
साथै, उहाँले भगवान (अमेरिका) ले सिरिया, अफगानिस्तान, इराकमा जितेको र तहसनहस पारिदिएको स्मरण गराउनुभयो ।
केसीले चितवनका जनताले साम्राज्यवादविरुद्ध मतदान गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
फरक प्रशंगमा अध्यक्ष केसीले जनताका छोराछोरीलाई खाडी पठाएर आएको रेमिट्यान्सले संघीयता नचल्ने स्पष्ट पार्नुभयो । उहाँले संघीयताका कारण जनताको ढाड भाँचिएको बताउनुभयो ।
‘साढे तीन अर्ब रुपैयाँ वर्षेनी खर्च भइरहेको छ । कुनै उद्योगधन्दा कलकारखाना खोल्न होइन, सांसद मन्त्री पाल्न ।
त्यसकारण संघीयता खारेज गर्नुको विकल्प छैन’ केसीले भन्नुभयो, ‘संघीयता बोक्नेको मनमा पनि जौ तिल पाकिराखेको छ । यसलाई कसरी धान्ने भनेर । जनताले २०६२/०६३ को आन्दोलन जस्तै संघीयता खारेज गर्ने आन्दोलनमा सामले हुनुपर्छ ।’
कार्यक्रममा चितवन क्षेत्र नं २ का उम्मेदवार एवम् राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्मा, महासचिव मनोज भट्ट, अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरवराज रेग्मी,केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष राजेन्द्र ढुंगाना अर्का केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला अध्यक्ष दिपक पाण्डे लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको अध्यक्ष राजमो केन्द्रीय सदस्य एवम् चितवन जिल्ला अध्यक्ष डम्बर पुरी र सञ्चालन जिल्ला सदस्य विष्णु पौडेलले गर्नुभएको थियो ।


यस्तो छ अध्यक्ष केसीको लिखित सम्बोधन
(राष्ट्रिय जनमोर्चा चितवनद्वारा २०७९ साल चैत्र २३ गते चितवनमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी द्वारा वितरित )
विज्ञप्ति
पत्रकार साथीहरु,
पत्रकार सम्मेलनमा उपस्थित सम्पूर्ण पत्रकार, चितवन जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा हाम्रो पार्टिबाट उम्मेदवार हुनु भएका कमरेड जनकराज शर्मा, सम्बध्द नेता, कार्यकर्ताहरुलाई स्वागत तथा अभिनन्दन गर्दछु ।यो पत्रकार सम्मेलन मार्फत् देशको समसामयिक राजनिति तथा चितवनको उप निर्वाचनसंग सम्बन्धित बिषयमा आफ्नो धारणा प्रस्तुत गर्ने अवसर उपलब्ध गराएकोमा राष्ट्रिय जनमोर्चा चितवनलाई धन्यवाद दिन चाहन्छु।
१. देशको गणतत्न्त्र तथा राष्ट्रियता गम्भीर खतरामा छ।गणतन्त्र नेपाली जनताको लामो बलिदानीपूर्ण संघर्षबाट स्थापनाका भएको हो।त्यसैले २०६२/६३ सालको जनआन्दोलनका पक्षधर शक्तिहरु देशलाई प्रतिगमनतर्फ जान नदिनका लागि सचेत हुनुपर्ने आवश्यकता माथी हामीले जोड दिन्छौ ।२०६२/६३ सालको जनआन्दोलनका उपलब्धिहरुका रक्षाका लागि हामीले काग्रेससहितका दलहरुका सहकार्यमा जोड दिदै आएका छौं।त्यही नीति अन्तरगत नै हामी ५ दलीय गठबन्धनमा सामेल भएका थियौं।प्रतिगमन विरुद्धको ५ दलिय गठबन्धनको आवश्यकता अहिले पनि कायम नै छ ।मुलुकको राष्ट्रियता गम्भीर खतरामा छ।सघीयताका कारण बढेको प्रशासनिक खर्चको बोझ राज्यले धान्न नसक्ने अवस्था उत्पन्न भएको छ।सघीयताको खारेजीको पक्षमा जनमत बढ्दै गईरहेको छ।
२. प्रायशः विश्व र स्वंय नेपालको राजनितिक ईतिहासलाई हेर्ने हो भने जनताका जनाधिकारका पक्षमा आन्दोलन गरेका राजनैतिक शक्तिहरुको गलत शासन, जनताको जनजिविकाको पक्षमा सरकारले ध्यान नदिनु, परिवर्तित राजनितिक परिस्थितिमा पनि भ्रष्टfचार घट्नुको सट्टा बढेर जानु, बेरोजगारी र गरिवीमा थप बृद्धि हुनु, राष्ट्रियता असुरक्षित हुनुको परिणाम जनतामा असन्तुष्टि बढ्दै गएर त्यो असन्तुष्टिलाई प्रतिगामी तथा बिदेशी शक्तिहरुले आफ्नो राजनैतिक उदेश्यका लागि प्रयोग गरेर देशलाई प्रतिगमनतर्फ लैजाने गरेका थुप्रै उदाहरणहरु पाईन्छन् ।नेपालमा २०१७ र २०५९ सालमा भएका प्रतिगमन त्यसका उदाहरण हुन् ।
३. अहिले देशको राजनितिक स्थिति करिव करिव प्रतिगमनको दिशातर्फ उन्मुख छ। बहुदलिय तथा गणतन्त्रका पक्षधर शक्तिहरुले जनताका जनजिविका, गणतन्त्र तथा राष्ट्रियताका समस्या सरकार संचालनको क्रममा ठीक ढंगबाट सम्बोधन गर्न सकेका छैनन्। सत्तारुढ दलहरु नै विभिन्न अनियमितता तथा भ्रष्टाचारका प्रकरणमा मुछिएका छन् ।यसै सन्दर्भमा बहुदलिय व्यवस्थाको स्थापना भएदेखि आजसम्म बर्षैपिच्छे सरकार परिवर्तन हुने गरेका छन्।जनतासंग जोडिएका समस्या समाधानतर्फ दलहरु केन्द्रित हुनेभन्दा सिध्दान्तहीन सत्ताको लुछाचुडीमा केन्द्रित छन्। आफ्नो सरकार जोगाउन देशी विदेशी शक्तिहरुसग साँठगाँठ गर्ने प्रवृति बढ्दो छ।त्यस सन्दर्भमा के.पी. ओलीले भारतीय साम्राज्यबादसंग साँठगाँठ गरेर दुई दुई पटक संसद विघटन गरेका थिए।सत्ता प्राप्तिका लागि विभिन्न शक्ति केन्द्रको नेपालमा प्रतिगमन लाद्ने रणनीतिमा एमाले प्रयोग भईरहेको छ ।यसैगरि आफ्नो सत्ता टिकाई राख्न विदेशी शक्तिहरुलाई खुशी पार्ने नाममा तत्कालिन ४ दलिय गठबन्धनले एम.सी.सी. जस्तो राष्ट्रघाती संझौता जनताको चर्को बिरोधका बावजुद पनि पारित गर्ने काम गरेको थियो ।
४. गणतन्तका पक्षधर शक्तिहरुबाट जनताका जनजीविका र राष्ट्रियताको समस्या समाधान हुन नसकेका कारण जनतामा विद्यमान शासन प्रणाली प्रति चर्को असन्तोष छ । गणतन्त्र प्रति व्याप्त असन्तोषलाई प्रतिगामी तथा साम्राज्यवादी शक्तिहरुले आफ्ना गलत राजनैतिक उदेश्यका लागि प्रयोग गर्ने प्रयत्न गरिरहेका छन् । सुधार, परिवर्तन वा नयाँको नाममा विद्यमान प्रणाली भन्दा अग्रगामी प्रणाली वा विद्यमान सत्तारुढ पार्टीको तुलनामा सापेक्षिक रुपले राम्रो दलहरुको हातमा नेतृत्व जानुको सट्टा पुनः राजा फर्काउने वा साम्राज्यवादीका दलालहरुको शक्तिमा विस्तार हुने खतरा देखा परेको छ ।
५. नयाँको नाममा खडा गरिएको कथित स्वतन्त्र पार्टी पनि जनतामा व्याप्त असन्तोषलाई प्रयोग गरेर आफ्ना स्वार्थहरु नेपालमा लाद्न खोज्ने साम्राज्यवादी प्रयत्न स्वरुप पैदा भएको हो।विदेशीबाट खडा गरिएका पार्टी वा व्यक्तिहरुले देशको गणतन्त्र तथा राष्ट्रियताको पक्षमा कुनै योगदान गर्न नसक्ने कुरा युक्रेन तथा अफगानिस्तानका शासकहरुको चरित्रबाट पुष्टि भैसकेकोछ ।त्यसैले नयाँको नाममा विदेशीहरुबाट प्रायोजित व्यक्ति वा दलबाट गणतन्त्र तथा राष्ट्रियताको रक्षा हुन सक्दैन्।
६. चितवनको उप निर्वाचनमा हाम्रो पार्टीले कमरेड जनकराज शर्मालाई उम्मेदवारको रुपमा खडा गरेको छ।उहाँलाई विजयी बनाउन चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ का जनतासंग अपिल गर्दछु।यो उपनिर्वाचनलाई हाम्रो पार्टीले अत्यन्तै महत्वका साथ हेरिरहेको छ। उपनिर्वाचनको मूल नारा æअमेरिकी साम्रज्यवादका विरुद्ध भण्डाफोर गरौं Æ भन्ने तय गरेको छ।उपनिर्वाचनको माध्यमद्वारा अमेरिकी साम्राज्यवादका विरुद्ध बढी से बढी भण्डाफोरमा जोड दिएर देशको राष्ट्रियता सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि संघर्ष गर्ने हाम्रो नीति हुनेछ ।
७. नेपालको राजनीतिमा अमेरिकी साम्राज्यवादको प्रभाव र हस्तक्षेप बढेर गएको छ।नेपालमा लामो समयदेखि अमेरिकाले विभिन्न सहयोगको नाममा, गैर सरकारी संस्था तथा क्रिश्चियन धर्म प्रचार संस्था (मेशिनरी) लाई प्रयोग गरेर साम्राज्यवादी स्वार्थ लाद्ने प्रयत्न गर्दै आईरहेको छ।संविधान निर्माणको क्रममा विभिन्न राजनैतिक दलहरुलाई आर्थिक वा राजनीतिक प्रभावमा पारेर पहिचानको राजनीति, जातिय राज्यसहितको संघियता र मधेश प्रदेशको एजेण्डा बोकाएर आफू अनुकूलको संविधान निर्माण गर्न खोजेको थियो।यद्यपि आफू अनुकूलको संविधान निर्माणमा उसलाई सफलता प्राप्त हुन सकेन।गैर सरकारी संस्था तथा क्रिश्चियन धर्म प्रचार संस्थाको माध्यमबाट अमेरिकी साम्राज्यवादको पक्षमा काम गर्ने एक प्रकारको दलाल जनशक्ति पनि नेपालमा निर्माण हुदै गई रहेको छ।नेपालको राजनीतिमा आफ्नो प्रभावमा बृद्धि गर्न अमेरिकाले विभिन्न दलभित्र आफ्नो पक्षमा काम गर्ने व्यक्तिलाई घुसपैठ गराउने वा प्रभावमा पारेर आफ्नो पक्षमा उपयोग गर्ने गरेको छ।त्यस बाहेक नेपालमा अहिले अमेरिकाले आफू पक्षिय दल समेत खडा गरेको छ। विभिन्न मुलुकमा आफ्नो अनुकूलको राजनीतिक दल खोल्ने कार्य अमेरिकाको विदेश नीतिको महत्वपूर्ण अंगको रुपमा रहदै आएको छ।यसरी खडा गरिएका दललाई अमेरिकाले अथाह धनराशी खर्चिने समेत गरेको छ।जापान तथा अफ्रिकन मुलुकमा खोलिएका अमेरिकन पक्षधर दलहरु त्यसका ज्वलन्त उदाहरण हुन् ।नेपालमा अमेरिकाले त्यसरी खोलिएको दलको रुपमा कथित स्वतन्त्र पार्टी देखा परेको छ ।नेपालमा आफ्नो पक्षधर दल खडा गर्नुका साथै अमेरिकनहरु राज्यका विभिन्न निकायलाई प्रभाव पार्ने तथा हस्तक्षेप गर्न थालेका छन् ।
८. विभिन्न दल तथा अभियन्ताहरुले कथित स्वतन्त्र पार्टीका सभापतिको नागरिकता तथा राहदानी प्रकरणसम्म सीमित रहेर मात्र आलोचना गर्ने गरेका छन्।तर त्यो भन्दा पनि महत्वपूर्ण पक्ष भनेको आफ्ना साम्राज्यवादी स्वार्थ पुरा गर्ने उदेश्यका लागि नै अमेरिकाले स्वतन्त्र पार्टीका सभापतिलाई अगाडी सारेको छ।उनले अमेरिकी साम्राज्यवादको एजेन्टको रुपमा भूमिका खेलिरहेका छन् ।
९. अमेरिकी साम्राज्यवादको एजेन्टको रुपमा कथित स्वतन्त्र पार्टीका सभापतिले भूमिका खेलिरहेको हुनाले नै अमेरिकीहरुको दवावमा उनले गरेका सबै गैर कानुनी कामहरुमा राज्यले उनलाई बचाउने कोशिस गरिरहेको छ।नागरिकता वा राहदानी प्रकरणमा राज्ले नै उनको गैर कानूनी कामलाई ढाकछोप गर्ने काम गरेको थियो।त्यति मात्र नभएर चितवनको उपनिर्वचनमा दर्ता भएको उनको उम्मेदवारीका विरुद्ध परेको दावी विरोध उजुरीलाई खारेज गरेर राज्यले उनलाई बचाउन खोजेको छ। विदेशी नागरिकता परित्याग गरि नेपाली नागरिकता पुनर्प्राप्त गरेको मितिले ३ महिना भित्र उम्मेदवार हुन नपाउने संवैधानिक व्यवस्थाको निर्वाचन आयोगले ठाडो उल्द्यंघन गरेर उनको उम्मेदवारीलाई सदर गर्ने कार्यबाट समेत राज्यका विभिन्न निकायहरु अमेरिकाको अगाडी घुँडा टेक्दै गईरहेको स्पष्ट हुन्छ।त्यसैले चितवनको उपनिर्वाचनलाई अमेरिकी साम्राज्यवादको विरुद्धको भण्डाफोर अभियानको रुपमा सफल पार्नु पर्ने आवश्यकतामा जोड दिन्छौं।
धन्यवाद ।