मेघराज रिष्मेली, जापान ।
जापानमा एक नेपाली विद्यार्थीको निधन भएको छ । विद्यार्थी भिसामा जापान आएर ओकिनवामा पढ्दै गरेका खिम बुढामगरको असामयिक निधन भएको हो ।
जापानले गएको वर्ष कोरोना भाइरसको महामारीका कारण सीमामा प्रतिबन्धहरु खुकुलो बनाएपछि बुढामगर जापान पढ्न भनेर आएका थिए । उनको स्थायी घर दाङ जिल्लाको तुल्सीपूर भएको बताइएको छ ।
उनी जापानी भाषा विद्यालयमा पढ्दै थिए । बुढामगर उनी बस्ने गरेको होस्टेलमा मृत अवस्थामा भेटिएका हुन् । घटनाको प्रकृति हेर्दा उनले आफैँले आफ्नो जिन्दगी समाप्त पारेको जस्तो देखिएको छ । बुढामगरको शव नियन्त्रणमा लिएर प्रहरीले मृत्युबारे छानबिन गरिरहेको छ । शवको पोष्टमार्टम रिपोर्ट आउन एक साता जति लाग्ने बताइएको छ ।
उनको मृत्युबारे नेपालस्थित उनका परिवारका सदस्यहरुलाई जानकारी गराइएको छ । परिवारको सल्लाहमा उनको अन्तिम संस्कार गरिनेछ । पछिल्लो समय जापानमा नेपालीहरुको मृत्युको घटनाहरु बढेका छन् । प्राकृतिक कारण वा रोगका कारण भन्दा पनि आफैंले आफ्नो ज्यान लिने प्रवृत्ति बढेको छ ।