भैरवराज रेग्मी ##
१. विषय प्रवेश
बङ्गलादेश कृषक समिति (बी.के.एस.) को चौधौँ राष्ट्रिय सम्मेलन फेबु्रअरी १६, २०२३ का दिन बङ्गलादेशको राजधानी ढाकाबाट १८८ किमि टाढा बोगुरा ग्रामीण सहरमा सम्पन्न भयो । उक्त सम्मेलनको आयोजक समितिले अखिल नेपाल किसान महासङ्घ (अप्फा) लाई पनि निमन्त्रणा गरेको थियो । यसरी चौधौँ सम्मेलनमा अप्फाको समेत प्रतिनिधित्व रहेको थियो ।
बङ्गलादेशको समयअनुसार दिउँसो ३ बजे सम्मेलनको उद्घाटन कार्यक्रम रहेको थियो । उद्घाटन कार्यक्रम सुरु हुनुभन्दा पहिल्यै बिहान १० बजेदेखि नै हजारौँको सङ्ख्यामा देशका विभिन्न भागबाट किसानका जुलुस आइरहेका थिए । दिउँसो २ बजे उद्घाटनपछि पनि ४ बजेसम्म किसानका जुलुस उक्त सम्मेलनमा आउने क्रम चलिरहेको थियो ।
औपचारिक उद्घाटन हुनुभन्दा पहिले दिउँसो १ बजेदेखि नै मञ्चमा सांस्कृतिक कार्यक्रम भइरहेको थियो । उक्त सांस्कृतिक कार्यक्रममा किसानका समस्या, किसान सङ्घर्ष, किसान आन्दोलन, देशको मुक्ति आदिबारे अत्यन्त जोसिलो, क्रान्तिकारी, उत्साहपूर्ण तथा उत्कृष्ट कलाले भरिपूर्ण थियो । सम्मेलनको आकर्षण नै क्रान्तिकारी सा·ीतिक कार्यक्रम जस्तो देखिन्थ्यो ।
दिउँसो २ बजे सम्मेलनको उद्घाटन बङ्गलादेश कृषक समिति र कम्युनिस्ट पार्टीको झन्डोत्तोलनको कार्यक्रमबाट सुरु भयो । किसानको झन्डोत्तोलन कृषिक समितिका अध्यक्ष क. एस.एम.ए. सबुर र कम्युनिस्ट पार्टीको झन्डोत्तोलन बङ्गलादेश कम्युनिस्ट पार्टीका अध्यक्ष शाह आलमबाट क्रान्तिकारी गीतको लयमा गीत नसकिन्जेल विस्तारै झन्डा बासको माथिल्लो टुप्पासम्म खिच्दै झन्डोत्तोलन गरिएको थियो । अन्तर्राष्ट्रिय, राष्ट्रिय कम्युनिस्ट, समाजवादी पार्टीका नेता र किसान सङ्गठन र आन्दोलनका पुराना र नयाँ नेताहरूलाई आसन ग्रहण गराउँदै उनीहरूको स्वागत र उनीहरूबाट मन्तव्य माग्दै बङ्गलादेशको किसान सङ्गठन, आन्दोलनको विवरण र महत्त्वका साथ वर्तमान सरकार, साम्राज्यवादी एकाधिकार पुँजीवादको विरोध गर्नु चौधौँ सम्मेलनको उद्देश्य रहेको बताइएको थियो ।
उक्त सम्मेलनमा ८०/९० वर्ष उमेरका १९७१ को बङ्गलादेशको स्वतन्त्रता सङ्ग्रामभन्दा पहिले र स्वतन्त्रता सङ्ग्राममा भाग लिएका व्यक्तित्वहरूको समेत सहभागी थियो । कुनै ह्विल चियरमा आएमा थिए । कुनै कसैसँग सहयोग लिएर विस्तारै आएका थिए । जुलुसमा आकर्षक झाँकीहरू थिए । किसानको हलोजुवा, चित्राको टोपी, किसान सङ्घर्षका प्रतीक देखिने पोस्टर, बालबच्चासहित महिलाको सङ्ख्या पनि उल्लेख्य रूपमा थियो । स्वास्थ्यकर्मी (डाक्टर), विषयगत डाक्टर, साहित्यकार, वकिल, शिक्षकको पनि जोडदार उपस्थिति देखिन्थ्यो । ६७ जिल्लामध्ये ६५ जिल्लामा सङ्गठन रहेको उक्त सम्मेलनमा बिसौँ हजार किसानको र्याली देखिन्थ्यो । र्यालीमा परम्परागत ढोलक, बाजाहरूको गुञ्जन देखिन्थ्यो । मानौँ, यो औपचारिक सम्मेलन होइन, किसानको विजयोत्सव हो । सामन्त र पुँजीवादमाथि विजय प्राप्त गरेको महान् उत्सव हो जस्तो देखिन्थ्यो ।
किसान सङ्गठन, किसान आन्दोलनमा सङ्गठित हुनु, सहभागी हुनु, किसान आन्दोलनलाई सफल बनाउन सकेको सहयोग (आर्थिक, जिन्सी, नैतिक) गर्नु गौरवको विषय मानिँदो रहेछ । स्वयम् किसान सङ्घका अध्यक्ष एस.एम.ए. सोबुर सन् १९७१ का मुक्ति सङ्ग्रामका एक योद्धा, बङ्गलादेश किसान आन्दोलनमा सहभागी किसान नेता, एक बुद्धिजीवी र एडभोकेड (वकिल) समेत हुनुहुन्छ । यसरी ४ बजे राष्ट्रिय र अन्तर्राष्ट्रिय अतिथिको नेतृत्वमा दसौँ हजार किसानको विशाल र्याली गरी उद्घाटन समापन गरिएको थियो । राति भव्य क्रान्तिकारी सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो ।
यस प्रकार किसान सम्मेलन चार/पाँच वर्षको एकपटक गरिने औपचारिक मात्र नभएर शोषित–पीडित किसान, मजदुर, विद्यार्थी, बुद्धिजीवीसहितको आम सहभागिता र सम्मेलन किसानको आफ्नो विजयोत्सव र आगामी सङ्गठन र सङ्घर्षलाई सम्पूर्ण विजयतिर अग्रसर हुने महान् उत्सवको रूपमा सम्मेलन आयोजना गर्ने बङ्गलादेश कृषक समितिको सफलता विशेष उल्लेखनीय र उदाहरणीय देखिन्छ । सम्मेलनको औपचारिक व्यवस्थापन पनि भव्य र व्यवस्थित देखिन्थ्यो । मानौँ, किसानले आफ्नो सम्मेलन पुँजीवादी साम्राज्यवादीले भन्दा उत्कृष्ट रूपमा व्यवस्थापन गर्न सक्दछन् । त्यसैले बङ्गलादेशको कृषक समितिको त्यो सम्मेलनबाट नेपाललगायत विश्वभरिका किसानले सिक्नुपर्ने कुरा धेरै छन् । यसबाट किसान मुक्ति राष्ट्रिय मुक्ति आन्दोलनसँग गाँसेर लगे मात्र किसान आन्दोलन सफल हुने छ भन्ने सन्देश मिल्दछ । यसलाई महत्त्व दिएर यस विषयमा छलफल चलाउनु महत्त्वपूर्ण हुने छ ।
२. बङ्गलादेशको ऐतिहासिक तथ्य
बङ्गलादेश राष्ट्रको जन्म सन् १९७१ मा भएको हो । सन् २०२१ सम्म यसको जनसङ्ख्या १६९.४ मिलियन रहेको छ । यसको क्षेत्रफल १४८.४६० वर्गकिमि रहेको छ । ठुला र सुन्दर नदीहरू पद्मा, जसको प्रारम्भ गङ्गानदीबाट भएको छ, मेघना, जमुना, ब्रह्मपुत्र नदीबाट रहेको छ । यी नदीहरूले बङ्गलादेशको भूभागलाई हराभरा र वनजङ्गललाई उर्वरा बनाइदिएको छ । दक्षिणी बङ्गालको खाडीकिनार र समुद्रले घेरिएको छ । पूर्वीकिनार बङ्गालको खाडीले घेरिएको छ । सन् २०२१ को गणनामा बङ्गलादेशको जी.डी.पी. ४१६.३ मिलियन अमेरिकी डलर रहेको छ । यस देशको मुख्य धर्म इस्लाम हो, जो जनसङ्ख्याको ९१.०४ प्रतिशत छ तर बङ्गलादेशले आफूलाई इस्लामराष्ट्र मान्दैन । हिन्दु ७.९५ प्रतिशत र अन्य आदिवासी ०.६१ प्रतिशत छन् ।
राष्ट्र क्षेत्रफल वर्गकिमि जनसङ्ख्या मिलियन वर्ष
बङ्गलादेश १४८.४८० १६९.४ २०२१
पाकिस्तान ७९६.०९५ २३१.४ २०२१
रुस १७,०९८.२४२ १४३.४ २०२१
नेपाल १४७.१८१ ३०.०३ २०२१
क्षेत्रफलको तुलनामा बङ्गलादेश अत्यन्त जनघनत्व भएको देश हो । नेपाल र बङ्गलादेशको क्षेत्रफल लगभग एउटै जस्तो भएता पनि नेपाल पहाडी भूगोल प्रधान मुलुक भएकाले बङ्गलादेशमा नेपालभन्दा बढी कृषि उत्पादन हुन्छ । ९१.०४ प्रतिशत मुस्लिम भएको देशले आफूलाई मुस्लिम राज्य भन्न रुचाउँदैन तर नेपाल हिन्दु धर्मावलम्बी भएको दसकौँ वर्ष लामो समयसम्म हिन्दु राज्य बनाइयो । बङ्गलादेशले बङ्गाली भाषालाई आफ्नो गौरवशाली भाषा ठान्दछ र यही भाषाको नामबाट आफ्नो देशको नाम बङ्गलादेश राखेको छ ।
पहिले बङ्गलादेशलाई पूर्वी बङ्गलादेश भनिन्थ्यो । छैटौँ, सातौँ शताब्दीमा इस्लाम धर्मको प्रवेश भयो र तेह्रौँ शताब्दीसम्म सम्पूर्ण पश्चिम बङ्गलादेश इस्लाममय भयो । तेह्रौँ शताब्दीका बख्तियार खाजीले राज्य सञ्चालन गरे । सुन्नी धर्मावलम्बीका शाह जलालले पनि आफ्नो प्रभाव पार्न सुरु गरेका थिए । चौधौँ शताब्दीमा सल्तनतले राज्य गरे । पश्चिम बङ्गालको चितागोङ पहाडी इलाकामा आक्रमण गरी विजय प्राप्त गरेपछि शाह जलाल बङ्गाल सल्तनतसँग मिलेपछि सम्पूर्ण पश्चिम बङ्गालमा सुल्तानको राज्य कायम भयो । यो राज्य कायम गराउने फखरुद्दिन मुबारक शाह थिए । त्यसपछि मुगल साम्राज्य कायम भयो । मुगल साम्राज्यपछि अर्थात् सत्रौँ शताब्दीपछि ब्रिटिस इस्ट इन्डिया कम्पनीको शासन रह्यो । भारतबाट ब्रिटिस शासनको अन्त भएपछि सन् १९४७ मा पूर्वी पाकिस्तान र पश्चिमी पाकिस्तान (पश्चिम बङ्गाल) मिलेर पाकिस्तान बन्न पुग्यो । पश्चिमी पाकिस्तानले मुक्ति आन्दोलन चलाएपछि सन् १९७१ मा बङ्गलादेशको जन्म भयो ।
३. बङ्गलादेशको जन्म
सन् १९७१ मा बङ्गलादेशको जन्मका पछाडि कैयौँ ऐतिहासिक घटनाले प्रभावित पारेको छ । छैटौँ शताब्दीभन्दा पहिले त्यस क्षेत्रमा हिन्दु र बुद्धमार्गीको राज्य रहेको थियो । अहिले पनि बौद्ध भग्नावशेषलाई संरक्षण गरेर राखिएको छ । हिन्दु र बुद्धमार्गी भएको देशमा छैटौँदेखि सत्रौँ शताब्दीसम्म मुस्लिमको प्रभाव रह्यो । मुगल साम्राज्यवादको युगपछि ब्रिटिस साम्राज्यवादसम्म आइपुग्दा उनीहरू इस्लाम धर्मावलम्बी भएता पनि उनीहरूको आफ्नो भाषा बङ्गाली नै रह्यो । विश्वभरि इस्लामी राज्यको भाषा उर्दु भएता पनि बङ्गलादेशमा उर्दुको प्रभाव कहिल्यै रहेन । धर्म वा सम्प्रदायप्रति प्राथमिकता दिनुभन्दा पनि उनीहरूले बङ्गाली भाषालाई नै आफ्नो स्वाभिमान ठान्न पुगे । सन् १९४७ मा ब्रिटिस कम्पनी भारतबाट हटेपछि पूर्वी र पश्चिमी (पश्चिम बङ्गाल) छुट्टिएको पश्चिम बङ्गाललाई मन परेको थिएन । उनीहरू छुट्टै आफ्नो भाषाको देश बनाउन चाहन्थे । पूर्वमा राजधानी रहेको पाकिस्तानको शासन पनि उनीहरूलाई मन परेको थिएन । त्यस बेला नेसनल अवामी लिग र मुस्लिम अवामी लिग गरी दुईओटा पार्टी थिए । नेसनल अवामी लिगभित्र कम्युनिस्ट, वामपन्थी, जनतान्त्रिक पार्टीहरू खुला वा भूमिगत रूपमा बङ्गलादेश राष्ट्र निर्माणका लागि आन्दोलन गरिरहेका थिए । बङ्गलादेश निर्माणका लागि दक्षिणपन्थी मुस्लिम अगामी लिग पनि अगाडि बढिरहेको थियो । पाकिस्तानले पूर्वी र पश्चिमी (पश्चिम बङ्गाल) पाकिस्तानको सरकारी भाषा उर्दु बनाउने निर्णय लिएपछि दुवै सङ्गठन मिलेर उर्दु भाषाको विरुद्ध बङ्गाली भाषाका लागि मुक्तिm आन्दोलन सुरु गरे । सन् १९७१ मा बङ्गलादेश निर्माण गर्न सफल पनि भए । त्यसपछि कम्युनिस्ट पार्टीहरू पनि खुला रूपमा काम गर्न थाले । बङ्गलादेशको मुक्तिका लागि शेख मुजिबुर रहमान, जो नेसनल अगामी लिगका नेता थिए, सर्वमान्य नेता हुन पुगे ।
यसरी बङ्गलादेश निर्माण गर्न त्यहाँका कम्युनिस्ट पार्टी र वामपन्थी शक्तिहरूप्रति नेसनल अगामी लिगको शत्रुतापूर्ण सम्बन्ध रहेन तर कम्युनिस्ट आन्दोलनको नयाँ जनवादी वा समाजवादी आन्दोलनको दिशामा मतभेद, साथै बङ्गलादेशी जनताको मुक्ति आन्दोलनका लागि क्रान्तिकारी सशस्त्र युद्ध वा संसदीय प्रणालीसमेतको मतभेदले कम्युनिस्ट आन्दोलन विभाजित हुन पुग्यो र कमजोर हुन गयो तर किसान सङ्गठन र किसान आन्दोलनप्रति उनीहरू गौरव गर्दछन् । सङ्गठन र आन्दोलनमा सामेल हुन्छन् ।
नेसनल अवामी लिगका मुक्ति सङ्ग्राममा लागेका जनता, नेताहरूको कम्युनिस्टप्रति सकारात्मक व्यवहार रहेको छ । मुक्ति आन्दोलनपछि कैयौँ किसान आन्दोलन भए । मजदुर आन्दोलन भए । बहुराष्ट्रिय कम्पनी विरुद्धको आन्दोलनमा उनीहरू सँगै लागेका छन् । देशमा रहेको सामन्ती र एकाधिकारवादी पुँजीवादका विरुद्ध उनीहरू सङ्घर्ष चलाइरहेका छन् । त्यसैले त्यहाँ किसान आन्दोलन र सङ्गठन बलियो हुन पुगेको छ । बङ्गाली भाषाप्रति उनीहरू यति गौरव गर्दछन्, बङ्गाली भाषाबाहेक अरू भाषाका होर्डिङ बोर्ड त्यहाँ भेटिन्नन् ।
नेपालमा सवारी साधन, रिक्सा चलाउने वा राम्रो पढ्न नजानेका नेपाली पनि कोही विदेशी (भारतीय वा पश्चिमी मुलुकका गोरा) देखे भने आफ्नो नेपाली भाषा नबोलेर हिन्दी वा टुटेफुटेको अङ्ग्रेजी बोल्नमा गर्व गर्दछन् तर बङ्गलादेशमा हिन्दी वा अङ्ग्रेजी बुझ्ने वा बोल्ने आम जनता भेटिन्नन् । पढेलेखेका बुद्धिजीवी, जो सीमित सङ्ख्यामा अङ्ग्रेजी स्कुलमा पढेका हुन्छन्, उनीहरू मात्र धेरै कम अङ्ग्रेजी बोल्छन् र बुझ्छन् ।
प्रत्येक वर्ष एक महिनासम्म बङ्गाली भाषाको पुस्तक मेला लाग्दछ । त्यो मेलालाई उनीहरू ठुलो चाडपर्वको रूपमा लिन्छन् । त्यसमा लाखौँ होइन, करोडौँ सङ्ख्यामा मेला हेर्न आउँछन् । कखरा पढ्ने बङ्गाली बच्चादेखि स्कुलकलेज, विश्वविद्यालयका वा साहित्यिक, राजनीतिक, वैज्ञानिक बङ्गाली पुस्तक मात्र हुन्छन् । तिनीहरूको प्रकाशन गर्ने हजारौँ प्रकाशन त्यहाँ छन् । ती प्रकाशन अर्बौंमा विक्री हुन्छन् । त्यहाँ आम जनता बङ्गाली भाषाकै पुस्तक पढ्ने, लेख्ने उनीहरूको बानी नै रहेको छ । अङ्ग्रेजी वा हिन्दीमा लेख्ने बङ्गाली लेखकहरू औँलाको गन्तीमा छन् । त्यहाँ अङ्ग्रेजी वा हिन्दीको किताब पाउनै मुस्किल छ ।
त्यसो त भारतको पश्चिम बङ्गालसँग उनीहरूको रगतको नाता पनि छ । पश्चिम बङ्गालमा उनीहरूका नाता प्रशस्तै छन् तर बङ्गलादेशसँग भारतको भिसाप्रणाली अत्यन्त कडा छ र भारत सरकार बङ्गलादेशका बङ्गालीप्रति सकारात्मक सम्बन्ध बढाउने दिशामा भारतीय सरकारको राम्रो व्यवहार छैन । उनीहरू बहुसङ्ख्यक मुस्लिम भएता पनि बर्माबाट आएका करोडौँ रोहिङ्ग्या मुस्लिम शरणार्थीप्रति बङ्गाली जनताको समर्थन छैन । अहिलेकी प्रधानमन्त्री शेख हसिना वाजेदप्रति उनीहरू आक्रोशित र विरोधी छन्, जसले रोहिङ्ग्या शरणार्थीको नाममा अमेरिकी साम्राज्यवादसँग साँठगाँठ गरेको आरोप लगाउँछन् ।
नेपालप्रति उनीहरू सकारात्मक छन् । बङ्गलादेशको मुक्ति आन्दोलनलाई नेपाल कम्युनिस्ट पार्टी (मसाल) को समर्थन र त्यस बेलाको नेपाल सरकारले समेत गरेको समर्थनप्रति उनीहरू खुसी व्यक्त गर्दछन् । भारतीय साम्राज्यवादको बङ्गलादेशमाथिको हैकम विरुद्ध जनस्तरमै रोष प्रकट गर्दछन् । बङ्गलादेशीलाई भारत प्रवेश गर्ने कडा भिसाप्रणाली, भारतीय पुँजीवादीको बङ्गलादेशमा दबदबा, पानीको अधिकारमाथि भारतीय हस्तक्षेप, देशको राजनीतिप्रति हस्तक्षेप आदि कारणले गर्दा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले बङ्गलादेशको मुक्ति सङ्ग्राममा सहयोग र समर्थन गरेता पनि त्यसलाई बङ्गाली जनताले गलत नियतले सहयोग गरेको भनेर विश्लेषण गर्छन् र भारतीय सरकारलाई घृणा गर्दछन् ।
४. बङ्गलादेशको किसान सङ्गठन र आन्दोलनको नीति
बङ्गलादेश मुक्ति आन्दोलनको सकारात्मक प्रभाव अहिले पनि बाँकी छ । देशीय प्रतिक्रियावादीहरू विदेशी साम्राज्यवादसँग घुँडा टेक्ने प्रवृत्तिको विरुद्ध जनतामा सकारात्मक प्रभाव वृद्धि भइरहेको छ । साम्राज्यवादले कृषिक्षेत्रमा पारेको हस्तक्षेपबाट उनीहरू पीडित छन् र त्यसका विरुद्ध आक्रोशित छन् । देशको प्रतिक्रियावादी सरकारको किसान र कृषिविरोधी नीति र जनतामाथिको शासनप्रति आक्रोशित छन् । कृषक समितिको नेतृत्वमा सुकुम्बासी आन्दोलनलाई सफलतापूर्वक समाधान गरेकोमा उनीहरू गौरव गर्दछन् ।
देशका बौद्धिक समुदाय, कृषि वैज्ञानिक, एडभोकेट (वकिल), विश्वविद्यालयका कृषिविज्ञ, डाक्टर, कृषि इन्जिनियर किसान सङ्गठन र आन्दोलनको नैतिक समर्थन मात्रै होइन, सङ्गठनमै सामेल छन् । अहिलेका कृषक समितिका अध्यक्ष एस.एम.ए. सबुर बङ्गाली मुक्ति सङ्ग्रामका योद्धा हुन् । उनी कम्युनिस्ट नेता होइनन् । बङ्गलादेश कम्युनिस्ट पार्टीले उनलाई किसानको अध्यक्ष बनाएको छ । उपाध्यक्ष निमाई चक्रवर्ती एक व्यवसायी हुन् तर उनी सुकुम्बासी आन्दोलनको नेतृत्व गरेर सुकुम्बासी समस्या समाधान भएको छ । उनी किसान आन्दोलनमा सक्रिय सहभागी छन् । अधिकांश नेसनल अवामी लिगका मुक्ति सङ्ग्राममा लागेका पुराना नेताहरू किसान सङ्गठनको कुनै न कुनै पदमा बसेर जिम्मेवारी वहन गरेका छन् । बोगुराको कृषि विश्वविद्यालयले यो सम्मेलनलाई पूरै सहयोग गरेको रहेछ । विदेशी पाहुनालाई गेस्टरुममा बसाल्नेदेखि लिएर आर्थिक र कृषिविज्ञले भौतिक सहयोगसम्म गरेको देखियो ।
कृषिक्षेत्रका अधिकांश बौद्धिक समुदायले बहुराष्ट्रिय कम्पनी, विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व व्यापार सङ्गठनले बङ्गलादेशको कृषिप्रणाली र औद्योगिक विकासमाथिको हस्तक्षेपलाई राम्ररी बुझ्दछन् र त्यसको विरोध गर्न अग्रसर रहन्छन् । त्यहाँको राष्ट्रिय आम्दानीको मुख्य स्रोत कृषि नै हो । त्यहाँ दुईतिहाइ जनता किसान छन् । यसरी ती बौद्धिक तप्कालाई समेटेर लैजान त्यहाँको किसान सङ्गठन र त्यहाँको कम्युनिस्ट पार्टी सफल भएको मान्न सकिन्छ । त्यहाँका ६७ जिल्लामध्ये ६५ जिल्लामा किसान सङ्गठन छन् । त्यसमध्ये एकतिहाइ जिल्लामा जनाधार भएको बलियो किसान सङ्गठन छ । त्यहाँ कैयौँ जिल्लाका स्थानीय निकायमा प्रतिनिधि पनि निर्वाचित भएका छन् । यसरी किसानका समस्याको आधारमा त्यसको पक्षमा लाग्ने सबैलाई सङ्गठित गर्ने र आन्दोलनमा सहभागी बनाउने कुरामा उनीहरूले प्राथमिकता दिएको देखिन्छ ।
५. बङ्गलादेश कम्युनिस्ट पार्टीको किसान सङ्गठनप्रतिको नीति
बङ्गलादेशको कम्युनिस्ट पार्टीले किसान सङ्गठन र किसान आन्दोलनलाई नीतिमा मात्र होइन, किसान सङ्गठन र आन्दोलनलाई व्यवहारमा उतारेका छन् । उद्घाटन कार्यक्रममा नै कम्युनिस्ट पार्टीका अध्यक्ष र किसान सङ्गठनको अध्यक्षले सँगै झन्डोत्तोलन गरेर कम्युनिस्ट पार्टीको अध्यक्षले सम्मेलनलाई निर्देशनात्मक भाषण गरे । बन्दशेसनभरि पार्टीका अध्यक्ष सामेल भए । कृषक समितिका महासचिव पार्टीको जिम्मेवार नेतृत्वमा छन् । केन्द्र र जिल्लामा कम्युनिस्ट पार्टीका नेतृत्वहरू किसान समितिको जिम्मेवार पदमा छन् । किसान समितिभित्र रहेका पार्टीका नेताहरू किसान आन्दोलनकै नेतृत्व गर्दछन् । किसान नेता बनेर अग्रिममोर्चामा देखिन्छन् ।
विश्वका कतिपय देश; जस्तै : भारत र नेपालका किसान समितिमा काम गर्ने नेता–कार्यकर्ताहरू प्राय: किसान आन्दोलनको प्रत्यक्ष नेतृत्व गर्दैनन् । किसानका औपचारिक सङ्गठन बनाए पनि पार्टीको भूमिका प्रभावकारी भएको देखिँदैन । किसान सङ्गठनमा रहेका पार्टीका नेताहरू किसान समस्याको पहिचान र त्यसको समाधानका लागि प्रयत्नमा रुचि रहन्न । यसरी त्यस्ता क्षेत्रमा किसान सङ्गठन र आन्दोलन कमजोर रहने गरेको छ ।
बङ्गलादेशले किसानका मुद्दाको आधारमा सबै किसानलाई गोलबन्द गरेर सङ्घर्षमा उतार्ने र समाधान खोज्ने अभियानले गर्दा किसान सङ्गठन र आन्दोलनको विकास गर्न सकेको छ । बङ्गलादेशको कम्युनिस्ट पार्टीले विद्यार्थी आन्दोलनका विद्यार्थी नेतालाई किसान सङ्गठनमा काम गर्ने जिम्मा पनि दिएको छ ।
किसान सङ्गठनलाई तहसनहस पार्न साम्राज्यवादले कैयौँ नीति अघि सारेका हुन्छन् । तिनीहरूलाई बुझ्ने र त्यसको विरुद्ध लाग्न बौद्धिकता जरुरी हुन्छ । खेतबारीमा काम गर्ने किसान अहिलेको युगमा पनि १८ घण्टा काममा जोतिइरहेका हुन्छन् । उनीहरूलाई साम्राज्यवाद, पुँजीवाद र घरेलु प्रक्रियावादका किसान विरोधी नीति र किसानमाथि गरिरहेको षड्यन्त्रलाई राम्ररी बुझ्न सक्ने अवस्था हुँदैन । विद्यार्थी क्षेत्रमा काम गरेका युवाहरू (महिला, पुरुष) किसानको खेतबारीमा जाने, समस्याको आधारमा किसानलाई सङ्गठित गर्ने र ती किसानका समस्यालाई लिएर आन्दोलन गर्ने—यो बाटोमा त्यहाँको कम्युनिस्ट पार्टी लागेको देखिन्छ ।
प्रतिक्रियावादी वा साम्राज्यवादीका कैयौँ अग्रणी वा बङ्गाली नीतिनिर्णयहरू बुझ्न र किसानलाई बुझाउन उनीहरू मिहिनेतपूर्वक लागेका छन् । त्यस्ता युवाहरू किसान केन्द्रीय समितिको जिम्मेवारीमा बसेका छन् । पार्टीले किसानको केन्द्रीय समिति बनाइदिने, त्यो किसान समितिले मात्रै किसान आन्दोलन गर्ने, पार्टी वा पार्टीका नेता–कार्यकताको भूमिका गौण हुने प्रवृत्ति बङ्गलादेशमा पनि आएकाले त्यसलाई पार्टीले गम्भीर रूपमा छलफल गरेर किसान सङ्गठन र आन्दोलनका लागि सम्पूर्ण पार्टी लाग्ने निर्णय गरेर अगाडि बढेको पनि त्यहाँ उदाहरण रहेछ ।
६. किसान आन्दोलनको तात्कालिक थालनीबारे रणनीति प्रधान कि कार्यनीति प्रधानको बहस
किसान निम्न पुँजीपति वर्ग हो । आफ्नो वर्गको स्वार्थको रक्षा गर्नु उसको चरित्र हो । यसको अर्थ हुन्छ : उसलाई जमिनमाथिको अधिकार, उत्पादनबाट फाइदा, यसको सम्बोधन नभइकन ऊ जागरुक बन्दैन । तात्कालिक रूपमा यसबाट ऊ मुक्ति चाहन्छ । प्रतिक्रियावादी व्यवस्थाले उसको त्यो माग पूरा गर्न सक्दैन तर कम्युनिस्ट पार्टीले यो निम्न पुँजीवादी माग पूरा गराउने आन्दोलनलाई अघि बढाउँदै अर्थात् उसलाई जमिनको अधिकार र उत्पादनको फाइदा दिलाएर अर्थात् नयाँ जनवादी व्यवस्था ल्याएपछि समाजवादी आन्दोलनसँग जोडेर लैजानुपर्दछ । त्यसैले जमिनको अधिकार र कृषि उत्पादनको फाइदासँग जोडिएका तात्कालिक मागको आधारमा नै सङ्गठन केन्द्रित भएपछि मात्र किसानले सम्बन्ध राख्न खोज्दछ । रणनैतिक नारा मात्रले उसको रुचि हुँदैन । त्यसमाथि संसदीय राजनीति अपनाइरहेका देशमा भोटको आधारमा ती किसान विभाजित छन् । भोटको आधारमा बनेको सङ्गठनले किसान आन्दोलनले विकास गर्न सक्दैन । त्यसैले उनीहरूको मागको आधारमा नै उनीहरूलाई सङ्गठित/आन्दोलित गर्नुपर्दछ । किसान वर्गको आधारमा अर्थात् किसान वर्गको आधारमा नै सङ्गठन/आन्दोलन अभियान चलाउनुपर्दछ । त्यो आधारमा अगाडि बढाएपछि उनीहरूलाई रणनीतिक उद्देश्य (अर्थात् जनवाद/समाजवाद) सँग जोड्न कोसिस गर्नुपर्दछ ।
यो बहस बङ्गलादेशको किसान आन्दोलनका लागि निकै चलेको रहेछ । उनीहरूले सुकुम्बासी किसानको समस्या उठाए । ठुलो सङ्घर्ष चल्यो । सरकार झुक्यो । जग्गा प्राप्त गरे । त्यो बेला उनीहरूको किसान सङ्गठनमा पार्टीका सदस्य थिएनन् । सङ्घर्षको सफलतापछि त्यो पार्टीका समर्थक भए । एउटा गाउँको आलु उत्पादन गर्ने किसानले विचौलियामार्फत् आलु विक्री गर्दा उनीहरूको लागत पनि उठ्दैनथ्यो । त्यहाँको पार्टीले किसान सङ्गठनमार्फत् त्यो मागको आधारमा किसानलाई सङ्गठित गर्यो । किसानको आलु सोझै बजारमा पठाउने व्यवस्थामा सफलता प्राप्त गर्यो । त्यो सफलतापछि आलु किसान किसान समितिमा बस्न मन्जुर भए । पार्टीका समर्थक पनि भए । यस्ता दर्जनौँ उदाहरण बङ्गलादेश कृषक समितिको आन्दोलनमा छन् ।
पहिला पार्टीले कृषक समिति बनाउथ्यो । त्यो कृषिसमिति आफैले केही गर्न सक्दैनथ्यो । पार्टीको सम्पूर्ण शक्ति लगाएर किसानका ती मुद्दाको नेतृत्व गरेपछि किसान सङ्गठनमा विकास भयो । पार्टीको शक्ति पनि बढ्यो । उनीहरूले पहिले संसदीय चुनाव, जनवाद/समाजवादको नाराको आधारमा किसान सङ्गठन निर्माण गर्दथे अर्थात् रणनीतिक नाराको आधारमा किसान सङ्गठन बनाउन खोज्थे । आफ्नो पार्टीको समर्थकभन्दा बाहिर किसान सङ्गठन अगाडि बढेन । त्यसपछि पार्टीभित्र ठुलो बहस चलाए । किसानका तात्कालिक समस्या अर्थात् कार्यनीतिको आधारमा किसान सङ्गठन/आन्दोलनलाई अगाडि बढाएपछि कृषक समितिले विकास गर्न सुरु गर्यो ।
७. उपसंहार
बङ्गलादेश कृषक समिति र बङ्गलादेश कम्युनिस्ट पार्टीको सम्पूर्ण नीति र कार्यक्रमको बारेमा मूल्याङ्कन गर्ने अधिकार हाम्रो रहँदैन र गर्नु पनि सही होइन । यो उनीहरूको देशमा अपनाइने नीति हो । त्यसमाथि उनीहरूका सम्पूर्ण दस्तावेज हामीसँग उपलब्ध छैनन् । त्यहाँको कृषिक समिति हाम्रो अखिल नेपाल किसान महासङ्घ (अप्फा) को भाइचारा सङ्गठन पनि हो । हाम्रा आधारभूत नीति समान छन् । विश्व साम्राज्यवाद, सामन्तवाद र प्रतिक्रियावादका विरुद्ध सङ्घर्ष गर्ने, विश्व किसान आन्दोलनलाई सङ्गठित गर्ने र आफ्नो जनवाद/समाजवाद स्थापना गर्ने समान लक्ष्य छ । त्यसैका आधारमा बङ्गलादेश कम्युनिस्ट पार्टीले कृषक सङ्गठन र किसान आन्दोलनप्रतिको नीति पनि आधारभूत रूपमा समान छ । त्यसैले उनीहरूले अपनाइरहेको त्यस प्रकारको नीतिले हाम्रो किसान सङ्गठन आन्दोलनलाई मदत नै पुग्दछ ।
पहिलो विश्व किसान सम्मेलन, जो नेपालमा भएको थियो, त्यस बेला हामीले अपनाएको किसान आन्दोलनको नीतिबाट पाठ सिकेर भारतीय कम्युनिस्ट पार्टी (रेडस्टार) ले किसानलाई समेटेर लैजाने नीति लिएको थियो । हामीलाई बङ्गलादेश कृषक समितिले लिएका नीति उपयोगी हुने छन् । त्यसैले त्यहाँको किसान आन्दोलनको बारेमा अझ बढी जानकारी राखिराख्नु राम्रो हुने छ ।
२०७९ फागुन ३० गते

