कल्पना पौडेल ‘जिज्ञासु’ ##
नारीलाई काली, भद्रकाली हुँदै सतिपार्वती र गौरी बनाइसकेपछि मातृसत्ताको शक्ति र नेतृत्व खतम त भइसकेको थियो, यसलाई युगौँसम्म स्थायित्व प्रदान गर्न महिलाको भावना र चेतनामा हमला गर्न थालियो । यसका लागि विभिन्न कथा तथा संस्कार ल्याइयो, जसमा तिजको ब्रत, स्वस्थानी र सन्तोषी माताको ब्रत आदि महिलामा पतिप्रति भक्तिभाव उमार्ने, सहनशीलता, पतिब्रता, त्याग, पतिलाई परमेश्वर मान्नुपर्ने धेरै ग्रन्थ लेखिए ।
महिलालाई कन्यादान दिने प्रचलनले महिला वस्तु वा सम्पत्ति जस्तै भएका छन् । पुरुष पिताले दान दिन्छ र पुरुष पतिले स्वीकार्छ । महिलाले कपालमा घागो, नाकमा नत्थी, घाँटीमा पोते, हातमा चुरा, बाला (दासताको चिह्न) गोडामा पाउजु (बाधाको चिह्न) बाधेर विवाह मण्डपमा नारीलाई सजाइन्छ† दुलाहाले सिन्दुर लगाइदिन्छ (आफ्नो विजयको सङ्केतस्वरूप), महिलालाई पूर्ण पाल्तु बनाइन्छ । रुनु सिवाय उनीसँग केही विकल्प रहँदैन । त्यसैले विवाहमा दुलही खुब रुन्छिन् । परिचय बदलिन्छ । देश, ठेगाना बदलिन्छ । यो सबै कर्मकाण्ड निकै भद्दा र अपमानजनक छन् ।
दासव्यवस्थामा मान्छेको पनि व्यापार गरिन्थ्यो । त्यतिखेर मान्छेलाई बेच्ने, कुट्ने र मार्ने पनि गरिन्थ्यो । त्यति बेला यी घटनामा परेर कति जना गहभरि आँशु झार्दथे भने कतिपय रिसले चुर हुन्थे । कतिपय दारा किट्थे । कतिपय मुठ्ठी कसेर त्यो अन्यायपूर्ण व्यवस्थाको विरोध गर्दथे । आज त्यो क्रुर र निच प्रकारको मानिने दासव्यवस्था अतीतको विषयवस्तु बनिसकेको छ ।
सामान्य रूपमा हेर्दा हिंसा शब्द शारीरिक यातना वा कुटपिटसँग सम्बन्धित देखिन्छ तर यसले व्यापक अर्थ ओगट्छ । आज पनि महिलाहरू ठुलो सङ्ख्यामा घरेलु हिंसाबाट आतङ्कित छन् । सासूले बुहारीमाथि गर्ने र पतिले पत्नीमाथि कुटपिट गर्ने, महिलाको इच्छा विपरीत यौन दूराचार गर्ने, पुत्रलाभ नभएकोमा महिलामाथि हुने मानसिक यातना आदि घरेलु हिंसाका केही उदाहरण हुन् । धेरै महिलाहरू पतिको जबरजस्ती करणीबाट पीडित छन् तर उनीहरू यसलाई उजुरीको विषय बनाउने साहस गर्न सकेका छैनन् । यद्यपि घरेलु हिंसासम्बन्धी अपराध, अनुसन्धान तथा सजायको व्यवस्था गर्न बनेको विधेयक पारित भइसकेको छ तर अझै पनि घरेलु हिंसाबाट पीडित महिलाले उजुरी दिने साहस धेरै कमले मात्र गर्दछन् । आजको समाज, संस्कृति, धर्म आदिले पुरुषले महिलामाथि गर्ने हिंसालाई वैधानिकता दिने काम गरेको छ । त्यसकारण पुरुषको ज्यादती विरुद्घ उजुरी दिँदा महिलाहरू आफूलाई असुरक्षित महसुस गरेको स्थिति छ ।
बहुविवाह पनि महिलाका लागि एक प्रकारको उत्पीडन नै हो । “मर्दकी दसओटी” भन्ने उखानै छ । पुरुषले अर्को विवाह गर्छ । त्यसलाई समाजले सामान्य रूपमा लिन्छ । त्यही काम एउटी महिलाले गर्छे भने त्यो अपराधजन्य हुन्छ । विषय एउटै हुन्छ तर मापदण्ड बेग्लै हुन्छ । यसरी एउटै विषयमा समाजको मापदण्ड भने दुई प्रकारको हुने गरेको छ ।
महिलाहरू अहिले पनि बहुविवाहबाट पीडित रहेको देखिन्छ । दुर्गम गाउँमा गएर हेर्ने हो भने अवस्था अझै दर्दनाक भेटिन्छ । “मर्दका दसओटी” भन्ने उखानले समाजमा महिलामाथि सौता हाल्नको लागि खुल्ला छुट दिन्छ वा प्रोत्साहन दिन्छ । यसरी बहुविवाहले पुरुषलाई एकैपटक एकभन्दा बढी महिलासँग व्यभिचार गर्ने छुट दिन्छ भने महिलाहरू सम्पत्तिमा समान अधिकारको अभावमा अनेक यातना सहेर पनि सौता र लोग्नेसँगै कष्टप्रद: जीवन बिताउन बाध्य छन् ।
दाइजोप्रथा पनि महिला हिंसाको एउटा रूप हो । खासगरी तराईलाई यस समस्याले निकै गाजेको छ । दाइजोे मागेबमोजिम दिन नसकेका कारण लोग्ने र सासु मिलेर बुहारीको हत्यासम्म गरिएका थुप्रै घटना छन् । यसरी पत्नीलाई जीवनसाथीको रूपमा हैन, वस्तुको रूपमा हेर्ने व्यापारिक र सामन्तवादी चिन्तनबाट ग्रसित हँुदा यस प्रकारका घटनाले ठाउँ पाइरहेको देखिन्छ । दाइजोलाई नेपालीमा कानुनी मान्यता प्राप्त नभए पनि कानुनका रखवाला वर्तमान राज्यव्यवस्थाका नाइकेले विवाहलाई प्रतिष्ठाको विषय बनाउने र करोडौँ खर्च गर्ने परिपाटीले दाइजो प्रथा निरुत्साहित गर्नुकोे साटो बढावा दिने काम भएको छ ।
मानव समाजले एक्काइसौँ शताब्दीमा पाइला टेक्दासम्म पनि नेपाली समाजमा बोक्सीको नाममा महिलालाई मलमूत्र खुवाउने जस्ता अपराधजन्य काम हुनु ज्यादै लज्जाजनक कुरा हो । समाजमा बोक्सी त्यही हुन्छ, जो असहाय, कमजोर, अशिक्षित र गरिब छन् । आजसम्म धनी, बलियो मान्छे बोक्सी बनेको छैन । के बोक्सी विधवा, कमजोर, असहाय, अशिक्षितले मात्र सिक्ने विधा हो र ? यसबाट यो प्रष्ट हुन्छ कि बोक्सी हेला गरेर प्रयोग गरिने शब्द हो । बोक्सी यदि विद्या हो भने त्यसको गुरु को ? त्यो कुन विश्व विद्यालयमा पढाइन्छ ? त्यो विद्या पुरुषले किन पढ्दैनन् ? यसको जवाफ बोक्सी भनी आरोप लगाउनेले दिनुपर्छ ।
वर्तमान विश्व विज्ञान र प्रविधिले यति शक्तिशाली बनिसक्दा पनि नेपाली मानसपटलमा बोक्सीको भूत हट्न सकेको छैन । नेपाली मानसिकता अझ पनि सामन्ती, रुढिवादी र अन्धविश्वाशको घेराबाटमाथि उठ्न सकेको छैन । बोक्सी जस्तो अलौकिक शक्तिको कुरा गरेर महिलालाई यातना दिने र मलमूत्र खुवाउने कार्य हुनु विडम्बनाको विषय हो । समाजमा आज पनि सयौँ महिलाहरू बोक्सीको आरोपमा प्रताडित बनिरहेका छन् ।
चेलीबेटी बेचबिखन नेपालको सन्दर्भमा एउटा प्रमुख समस्याको बनेको छ । नेपालमा बर्सेनि पाँचदेखि सात हजारसम्मको सङ्ख्यामा नेपाली चेली भारतको वेश्यालयमा बेचिने गरेको तथ्याङ्क केही वर्ष अगाडि नै सार्वजनिक भएको थियो । डेढ लाखभन्दा बढी नेपाली महिलाहरू भारतका विभिन्न सहरमा शरीर बेचिएको बताइन्छ । अझ भारतको बाटो हुँदै संसारका अन्य मुलुकमा पुर्याइएका नेपाली चेलीहरूको अवस्था ज्यादै डरलाग्दो छ । यसरी भारतको खुल्ला सिमानाका कारण मानव तष्करीलाई सहजता पैदा भएको छ । विशेष गरी दुर्गम बस्तीका सिधा, अशिक्षित गरिब महिलालाई नोकरी दिने बहानामा वा विवाह गरेर घुम्न लैजाने बहानामा चेलीबेटीको बेचबिखन हुने गरेको छ । आफन्तजनबाट पनि यस्ता क्रियाकलाप प्रशस्तै हुने गरेको पाइन्छ ।
मान्छेले मान्छेलाई बिक्री गर्ने जस्तो जघन्य अपराध हँुदा समेत राज्य मूकदर्शक बनेर बसेको देखिन्छ । चेलीबेटी बेचबिखन मानव तस्करको नाफा कमाउने ठुलै धन्दा बनिरहेको छ । यौनव्यापारको राजधानी मानिने भारतको सहर मुम्बईमा वेश्यावृत्ति गर्ने कुल महिलाको आधा सङ्ख्या नेपाली रहेको अनुमान छ तर यसरी लाखौँ महिलाहरू भारतको वेश्यालयमा नारकीय जीवन व्यतित गर्न बाध्य बनाउने मानव तस्कर समाजमा खुलेआम हिँडिरहेका छन् ।
बलात्कार अत्यन्तै संवेदनशील विषय हो । बलात्कारले महिलालाई शारीरिक मात्र होइन, मानसिक रूपमा समेत गम्भीर आघात पुर्याउँदछ तर नेपालको सन्दर्भमा बलात्कारका कैैयौँ घटना बाहिर आउन सक्दैनन् किनभने समाजले महिलाको अस्मितालाई यौन शुद्धतासँग जोडेर हेर्ने गर्दछ । देशमा बलात्कारका घटना दिनहुँजसो घटिरहेका छन् । सात वर्षको बालिकादेखि ७० वर्षको वृद्धा महिलाहरू बलात्कारका सिकार भइरहेका छन् । बलात्कार जस्तो जघन्य अपराधमा समेत कठोर कानुन बन्न नसक्दा बलात्कारीहरू खुला रूपमा हिँडिरहेका छन् । कानुनमा बलात्कार सिद्ध गर्ने पर्याप्त आधार नहँुदा मुद्दा हारिने स्थिति पनि छ ।
मातृत्व क्षमता बोकेका महिलाको रजस्वलालाई छाउपडी प्रथाले अत्यन्तै घृणित र अपमानित तुल्याएको छ । रजस्वलाको समस्यामा महिलालाई पर्याप्त आराम र पौष्टिक खानाको आवश्यकता हुन्छ तर सुदूर पश्चिमका केही जिल्लामा रजस्वला भएका महिलालाई गोठमा राख्ने र दुध, दही जस्ता पौष्टिक खानाबाट वञ्चित गर्ने छाउपडी प्रथा अहिले पनि विद्यमान रहेको छ । विज्ञानले यतिका प्रगति गरिसक्दा पनि नेपाली समाजको मानसिकता अझै पनि उठ्न सकेको छैन ।
धर्मको नामबाट पनि महिलाहरू उत्तिकै ठगिएका छन् । संसारका सबै धर्म पितृसत्तात्मक छन् । संसारका सबै धार्मिक ग्रन्थ पुरुषले नै बनाएका हुन् । धार्मिक व्याख्या, विश्लेषण र प्रवचन गर्ने कार्य पनि पुरुषले नै गरेका छन् । ठुल्ठुला दर्शन, सिद्धान्तका व्याख्याकार पनि पुरुष नै छन् । यसरी सबै क्षेत्रमा पुरुषले विजय कायम गरिसकेपछि उनीहरूले आफनो लिङ्ग अनुकूलतामा नियम बनाए र लागु गरे ।
यसरी हिंसाका विभिन्न रूपमध्ये देउकीप्रथा, छुवाछुत आदि पनि हिंसाका रूप हुन् । बाटोमा हिँडिरहेका बेला महिलालाई पुरुषले जिस्काउँछ भने त्यो पनि हिंसाको रूप हो । कसैलाई मानसिक रूपमा अप्ठ्यारोमा पुर्याइन्छ भने त्यो पनि हिंसा हो । यसरी सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक, धार्मिक रूपबाट पछाडि पारिएका र ठगिएका महिलाहरू मानव अधिकारको मामिलामा सबैभन्दा ठगिएका छन् किनभने समान रूपमा जिउन पाउनु तथा समान अवसर पाउनु मान्छेले मान्छे भई बाच्न पाउनु मानव अधिकारको मान्य सिद्धान्त हो । यस अवस्थामा सबल र समुन्नत समाज निमाणका लागि आधाभन्दा बढी सङ्ख्यामा रहेका महिलाको समग्र पक्षमा सुधार गर्नु अहिलेको मुख्य कार्यभार हो ।
घरेलु हिंसा र गरिबीले पीडित धेरै नेपाली महिला बैदेसिक रोजगारीमा लाग्न बाध्य छन् । परिवार र आफ्नो भविष्यलाई आर्थिक टेवा पुर्याउन मात्र होइन, घरेलु हिंसाबाट मुक्त हुन, लैङ्गिक, सांस्कृतिक, सामाजिक शोषण र पुरातनवादी मूल्यमान्यताबाट छुटकारा पाउनका लागि पनि नेपाली महिलाहरू अस्थायी कामदारको रूपमा बिदेसिने क्रम बढ्दो छ । यसरी विदेशिने महिलाहरू सुरुदेखि अन्त्यसम्मै हिंसामा पर्ने गरेका छन । स्वदेशमै दलालले अनावश्यक कमिसन खोज्छन् । कतिपय अवस्थामा आफ्नै परिवारका मान्यजनले विदेश पठाउन दबाब सिर्जना गर्छन् । हिंसा विमानस्थलमै हुन्छ । सेल्टरहोममा भेडाबाख्रा जस्तो गरी घरमालिकको पखाइमा धेरै सङ्ख्यामा लामो समय कुराउँछन । तोकेजति तलब नदिएर शोषण हुन्छ । बिमारी पर्दा राम्रो उपचार हुन्न । यौनजन्य हिंसाको सिकार भएकासमेत प्रशस्तै उदाहरण छन् ।
८ मार्च २०२३ अर्थात् २०७९ फागुन २४ गते विश्वका विभिन्न देशमा क्रियाशील महिला सङ्गठनले एक सय तेह्रौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै छन् । अहिले एक सय तेह्रौँ महिला दिवस मनाइरहँदा पनि महिलाहरू सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रबाट उत्पीडित र उपेक्षित छन् । सरकारी तथा गैरसरकारी क्षेत्रबाट महिला हक, हित र अधिकारका निम्ति गरिएका प्रयत्नका बाबजुद महिलाहरूको स्थितिमा तात्त्कि अन्तर आउन सकेको छैन ।
नेपालको अन्तरिम संविधान–२०६३ र संविधान सभाबाट जारी भएको संविधान २०७२ ले सङ्घीयता समावेशिता, धर्म निरपेक्षता जस्ता समाज परिवर्तनका मूल आधार अगाडि सारेकाले सङ्घ, प्रदेश र स्थानीय सरकारमा महिलाको ३३ प्रतिशत उपस्थिति हुनुपर्ने, विभिन्न सङ्घसंस्था, विद्यालय र रोजगारीको क्षेत्रमा समेत महिलालाई आरक्षण गरिएको भएता पनि महिलाहरूले त्यसको पूर्ण रूपमा उपयोग गर्न पाइरहेको अवस्था छैन ।
महिलालाई कानुनी उल्झनबाट मुक्त गरी आर्थिक सशक्तीकरणका कार्यक्रमद्वारा आत्मनिर्भर बनाउन विदेश पलायन हुनबाट रोक्नुपर्दछ । विदेशमा कामको प्रकृति र बसाइँका हिसाबले विशेषत: खाडी मुलुकमा घरेलु कामदारका रूपमा जाने महिलाहरू बढी शोषण र हिंसामा पर्ने गरेका छन् । त्यति मात्र नभई स्वदेशमा फर्किएपछि पनि सामाजिक लाञ्छना, पतिपत्नीबिच वैमनस्यता जस्ता समस्याले थप हिंसा भित्रिएको छ, जसको परिणामस्वरूप एकपटक बैदेसिक रोजगारमा गएकामध्ये धेरै महिलाहरू पुन: विदेश फर्कने गरेको तितो यर्थाथता हाम्रासामु छ । छोराबुहारी, छोरी बिदेसिदा केटाकेटीको हेरचाहमा वृद्घ मातापिता, सासूससुरालाई थप बोझ भइरहेको छ । यसले गर्दा पारिवारिक विखण्डन, चर्को ब्याजदरको ऋणभार, आश्रित परिवारजन कुलतमा फस्ने जस्ता सामाजिक समस्या पनि देखिने गरेका छन् ।
अत: बैदेसिक रोजगारीका कारण कमजोर हँुदै गएको मूल्यमान्यतालाई बेलैमा पहिचान गरी सुधार्नु र महिलामाथि हुने गरेका हिंसा रोक्नका लागि सरकारी र अन्य सम्बन्धित निकायले ध्यान दिन जरुरी भएको छ । एक सय तेह्रौँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा हरेक महिला सङ्गठन र राजनैतिक दलको ध्यान तिनै विषयमा केन्द्रित होस् । अन्त्यमा ८ मार्चको सबै महिला आमा दिदीबहिनीमा शुभकामना ।