काठमाडौँ । रक्तिम सांस्कृतिक अभियानका पूर्व केन्द्रीय कोषाध्यक्ष विष्णु शर्माको वृत्तचित्र विमोचन हुने भएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसीको हातबाट सो वृत्तचित्र विमोचन हुने भएको हो ।
रक्तिमका केन्द्रीय उपाध्यक्ष हेमराज पुनका अनुसार २०७९ फागुन २४ गते बुधबार राजमो केन्द्रीय कार्यालय कपनमा विष्णु शर्माको “पहिलो स्मृति तथा वृत्तचित्र विमोचन कार्यक्रम” को आयोजना गरिएको छ ।
‘रक्तिमका पूर्व केन्द्रीय कोषाध्यक्ष विष्णु शर्माको साङ्गीतिक योगदान समेटिएको वृत्तचित्र उक्त कार्यक्रममा विमोचन हुने छ’ पुनले भन्नुभयो– ‘गत २०७७ फागुन २४ गते जन्डिसका कारण काठमाडौँमा उहाँको निधन भएको थियो । अहिले एक वर्ष पूरा भएको स्मृतिमा यो कार्यक्रम गर्न गइरहेका छौँ ।’
उहाँका अनुसार सो कार्यक्रमका लागि आवश्यक तयारी सबै पूरा भइसकेको छ ।
पुनका अनुसार फागुन २४ गते दिउसो ११ बजेदेखि सुरु हुने उक्त कार्यक्रमको आयोजक रक्तिम सांस्कृतिक अभियानको केन्द्रीय समिति रहेको छ ।