काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) को साहित्यिक पदयात्रा तथा रचना वाचन कार्यक्रम (भाग–२) सम्पन्न भएको छ ।
काठमाडौँ दक्षिणकाली नगरपालिकाको भञ्ज्याङबाट २०७९ फागुन २० गते शनिबार सुरु भएको उक्त यात्रा हात्तिवन, चम्पादेवी हुँदै दक्षिणकालीकै खहरेमा पुगेर समापन भएको थियो ।
कार्यक्रमको पूर्वाद्र्धमा हात्तिवनमा अन्पाका सचिव प्रदीप प्रधानले “गहना” शीर्षकको लघुकथा वाचन गर्नुभएको थियो ।
पदयात्राको टोली चम्पादेवी पुगेर पुन: कविता वाचन, मन्तव्य तथा परिचय कार्यक्रम सम्पन्न भएको थियो । त्यहाँ अन्पाका अध्यक्ष समीर सिंहले बालोरी छन्दमा, महासचिव प्रकाश थापामगरले “ऊ नयाँ, म पुरानो” शीर्षकको र सचिव प्रदीप प्रधानले “खेल” शीर्षकको कविता वाचन गर्नुभएको थियो ।
त्यस्तै, अन्पाका केन्द्रीय सदस्य भीष्म जोशीले नीतिकथा र गोविन्द शर्माले लेनिनसम्बन्धी कविता वाचन गर्नुभएको थियो ।
पदयात्राका अन्य सहभागीले गीत तथा आआफ्ना अनुभूति सुनाउनुभएको थियो ।
चम्पादेवी पुगेपछि टोली फर्केर खहरे आइपुगेको थियो ।
टोलीमा समीर सिंह, प्रकाश थापामगर, प्रदीप प्रधान, ईश्वरी शर्मा, भीष्म जोशी, गोविन्द शर्मा, मेस्मा पुन, मदन पाण्डे, युजिन श्रेष्ठ, समष्टि बुढामगर, कविता चौधरी, हरि सर्तुङी सहभागी हुनुहुन्थ्यो ।


