जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जयपुरले नीरज सिंहको हत्यारालाई कडा कारबाही गर्न माग गरेको छ ।
आइतबार (फरवरी १९) मा एकता समाज जयपुरले प्रशासनलाई ज्ञापन पत्र बुझाउँदै हत्याबारे निष्पक्ष छानबिन गरि दोषीलाई कडा कारबाही गर्न माग गरेको हो।
एकता समाज जयपुर दक्षिणका अध्यक्ष रिम रानाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अशोक नगर थानाका इन्चार्ज समक्ष ज्ञापन पत्र बुझाएको मूल प्रवाहले जनाएको छ ।
घटना विवरण अनुसार रामेछाप जिल्ला, गोकुलगंगा गाउँपालिका, बेताली गाउँ ओखरबोट घर भएका नीरज सिंह गत १४ जनवरी २०२३ मा राति घर नजिकै मृत अवस्थामा फेला परेका थिए । उनलाई त्यो दिन आफ्नै गाउँ बेताली नजिकैका उनका केही जानकारहरुले फोन गरी घरबाट बोलाएको र उनी फोनमा कुरा गर्दै घरबाट निस्केको केही घण्टा पछि ने मृत भेटिएका थिए ।
उनलाई घरबाट बोलाउने व्यक्तिहरुले नै हत्या गरी घर नजिकै फालेको परिजनले आरोप लगाएका छन् ।
प्रहरी प्रसाशनले सो मुद्दालाई गम्भीरताका साथ नलिएको भन्दै परिवारले प्रसाशनलाई छिटो भन्दा छिटो कारबाहीको प्रक्रिया अगाडि बढाउन दबाबका लागि मूल प्रवाहलाई निवेदन दिएका थिए ।
परिवारको आग्रह बमोजिम आइतबार मूल प्रवाहका केन्द्रीय सदस्य मोहन गिरी, नगर अध्यक्ष रिम राना, मंगलसिंह खड्का, टंक थापा, ओम थापा, दीपक थापा, महिला नेतृ दीपा थापा, कल्पना थापा, हुमा रजाली लगायत नेता कार्यकर्ता तथा मृतकका परिवार सहितको टोलीले ज्ञापन पत्र बुझाएका हुन् ।
थाना इन्चार्जले मूल प्रवाहको ज्ञापन पत्र बुझ्दै घटनाबारे छानबिन गर्ने आश्वासन दिएको मूल प्रवाह जयपुर दक्षिणका अध्यक्ष एवं प्रतिनिधि मण्डलका नेता रिम रानाले जानकारी दिनुभयो ।


