डोटी । डोटीको दिपायलमा सुरू भएको ‘प्रादेशिक महोत्सव २०७९’ को उद्घाटन कार्यक्रममा पक्षपातपूर्ण व्यवहार गरिएको राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिष्ट पार्टीले आरोप लगाएका छन् ।
बिहीबारबाट सुरु भएको महोत्सवको उद्घाटनका क्रममा आयोजक डोटी चेम्बर अफ कमर्सले पक्षपात तथा अपमानपूर्ण व्यवहार गरेको जिल्लाका दुई राजनीतिक दलले आरोप लगाएका हुन् ।
राजमो जिल्ला अध्यक्ष डबल बोगटी र नेकपाका जिल्ला सेक्रेटरी मोहन कठायतद्वारा जारी विज्ञप्तिमा कुनै पनि साझा संस्थाले साझा व्यवहार प्रदर्शन गर्न सकेन भने त्यो संस्था अगाडि बढ्न मुस्किल हुने भन्दै सचेत गराइएको छ ।
‘डोटी चेम्बर अफ कमर्सको आयोजनामा डोटीको दिपायलमा सुरू भएको प्रादेशिक महोत्सव २०७९ को उदघाटन कार्यक्रमको सिलसिलामा आयोजकको तर्फबाट भएको अपमान जनक एवं पक्षपातपूर्ण व्यवहार प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ’ जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि औपचारिक कार्यक्रममा आमन्त्रण गरेर न्युनतम मर्यादा समेत प्रदर्शन गर्न नसक्नुबाट डोटी चेम्बरको नेतृत्वको अपरिपक्वता एवं संकिर्णता प्रस्ट भएको छ ।’
जिल्लाको साझा सरोकारको विषयमा हामि पनि निरन्तर क्रियासिल रहदै आएको पनि दुई दलले स्पष्ट पारेका छन् । साथै, डोटी जिल्लाको उद्योग, व्यापार, पर्यटन, कला संस्कृति एवं विकास निर्माण जस्ता सवालहरूलाई निरन्तर अगाडि बढाउनका लागि राज्यलाई निकै ठूलो दबाब दिनु पर्ने आवश्यकता विज्ञप्तिमा औँल्याइएको छ ।
विज्ञप्तिमा सामाजिक संस्थाको आवरणमा आफू निकट र आफ्नो स्वार्थ जोडिएका सिमित राजनीतिक दलहरूलाई मात्र काखि च्यापेर अन्य पक्षलाई निषेध गर्ने व्यवहारले नत त्यो सामाजिक संस्था, नत त्यसले आम जनताको हितमा कुनै काम गर्न सक्नेतर्फ ध्यानाकर्षण गराइएको छ ।
‘जिल्लाका साझा समस्याहरू साझा प्रयत्नबाट मात्रै सम्भव हुने भएका कारण कुनै निश्चित पक्षलाई मात्र काखि च्यापेर अगाडि जान मुस्किल हुने कुरा प्रति डोटी चेम्बरको ध्यानाकर्षण गराउन चाहन्छौँ’ विज्ञप्तिमा भनिएको छ, ‘आगामि दिनमा यस्ता प्रकारका अपमानजनक एवं पक्षपातपूर्ण व्यवहार प्रदर्शन नगर्न नगराउनका लागि चेतावनी दिन चाहन्छौँ ।’





