खिमराज चालिसे, चंडिगढ ।
भारतको हरियाणा राज्यको हिसारमा आठ वर्षीया बालिका ममता गिरीको बलात्कार तथा हत्या प्रकरणका दोषीलाई कडा कारबाही माग गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ज्ञापन पत्र बुझाएको छ । मूल प्रवाहले आरोपीलाई कडा कारबाहीको माग गर्दै उपायुक्त उत्तम सिंहलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा मूल प्रवाहले मुख्यमन्त्री राहात कोषबाट परिवारलाई राहात तथा सुरक्षा दिनुपर्ने र हत्या तथा बलात्कार आरोपी अमित विरुद्ध फास्ट ट्राइल कोर्टमा केस चलाइ कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ ।
मूल प्रवाह केन्द्रीय सचिव त्रिभुवन भट्टराई र वैकल्पिक केन्द्रीय सदस्य तारा सोमरेको नेतृत्वमा परिषद सदस्य नारायण विक, नगर अध्यक्ष बाबुराम पोख्रेल, उपाध्यक्ष योगेन्द्र दर्लामी, नगर समितिका नेताहरु ओम प्रकाश तिवारी, गोपाल कार्की, विष्णु प्रसाद गौतम, रामु शर्मा, लाल बहादुर चुदाली, ढाल बहादुर कार्की, कमला बगाले, सिता शर्मा र दुर्गा शर्मा, लगाएतका नेता कार्यकर्ता सम्मिलित टिमले उपायुक्त सिंहलाइ भेट गरी ज्ञापन दिएको हो ।
मूल प्रवाहले १० फरवरीमा ८ वर्षीया बालिका ममता हराएको दिनदेखि नै खोजतलासका लागि प्रशासनलाई दबाब दिँदै आएको थियो भने परिवारसँगै बालिकाको खोजतलासमा लागेको थियो ।
१२ फरवरीको सीसीटीभी फुटेजको आधारमा आरोपी अमीतलाई प्रहरीले कडाईपूर्वक सोधपूछ गर्दा बालिकाको बलात्कार तथा हत्या गरी शव ब्लुवर्ड टुरिजमको सामने सुनसान स्थानमा खाल्टोमा पुरेको स्वीकार गरेको थियो ।
त्यसपछि मूल प्रवाहले आरोपीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन, एवम् मोमबत्ती जुलुस प्रदर्शन समेत गरिसकेको छ ।
कैलाली जिल्लाको घोडाघोडी–४ राम शिखरझाला निवासी तथा हाल अनाज मन्डीमा बसोबास गर्ने लक्ष्मण गिरि र लक्ष्मी गिरीकी ८ वर्षीया छोरी ममताको गएको १२ फरबरीमा शव फेला परेको थियो ।
८ वर्षीया नेपाली बालिकाको क्षतविक्षत अवस्थामा शव फेला
बालिकाको हत्यारालाई कारबाही गर्न माग गर्दै हिसारमा मूल प्रवाहको प्रदर्शन

