काठमाडौं । टर्की र उत्तरी सिरियामा विनाशकारी भूकम्पले ठूलो क्षति पुर्याएको छ। त्यहाँ भूकम्पका कारण हजारौँ मानिसको ज्यान गएको छ।
भूकम्पका कारण थुप्रै घरहरू भत्किएका छन्। ती स्थानमा खोजी तथा उद्धारकार्य जारी रहँदा दक्षिणी टर्कीमा एउटा घरको भग्नावशेषबाट एक बालिकालाई जीवितै उद्धार गरिएको छ।
हेर्नुहोस् यो भिडिओ।
भूकम्पबाट झण्डै ८ हजारको मृत्यु
सोमवार गएका दुई ठूला भूकम्पपछि दक्षिणी टर्की र उत्तरी सिरियामा मृत्यु हुनेहरूको सङ्ख्या करिब ८ हजार पुगेको छ र उद्धारकर्मीहरू तीव्र रूपमा जीवित मानिसहरूको खोजीमा जुटेका छन्।
हालसम्म ७,८०० जनाको मृत्यु पुष्टि भइसकेको छ। एएफपी समाचार संस्थाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार टर्कीमा ५,८९४ र सिरियामा कम्तीमा १,९३२ जनाको ज्यान गएको छ। त्यहाँ मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ।
अत्यधिक चिसोका बाबजुद रातको समयमा समेत खोजी प्रयासहरू जारी रहँदा भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने समय कम हुँदै गएको छ।
सुरक्षित स्थानमा सारिदिन नेपाली विद्यार्थीको आग्रह
नेपालको बारा जिल्ला घर भई हाल गाजीयान्टेप विश्वविद्यालयमा इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययनरत विद्यार्थी शकिल शेखले राहत वितरण तथा उद्धार प्रणालीमा समस्या रहेको बीबीसीसँग बताएका छन्।
उनले नेपाली विद्यार्थीहरूलाई स्थिति सामान्य नबनेसम्म केही समयका लागि अन्य सुरक्षित सहरमा सारिदिन समेत अपिल गरेका छन्।
यद्यपि, अहिले प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता पनि बढाइएको बताइएको छ। यूके, अमेरिका, चीन र रुसलगायत धेरै देशले खोज र उद्धार विज्ञहरू सहित सहायता प्रदान गरिरहेका छन्।
सर्वाधिक प्रभावित टर्कीका सहरहरूमध्ये एकमा भूकम्पका कारण भत्किएका आवासीय भवनहरूमा बस्ने पीडितका आफन्त नै अङ्कुशलगायत विभिन्न औजार लिई उद्धार कार्यमा खटिएका छन्।
टर्कीमा सोमवार बिहान पहिलो पटक ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यसको केही घण्टापछि ७.५ म्याग्निट्यूडको भूकम्प गयो।





