बागलुङ बजार । राष्ट्रिय जनमोर्चा ढोरपाटन नगरपालिका वडा नंं. १ को दोस्रो भेला बुर्तिबाङ बजारमा सम्पन्न भएको छ । राजमो केन्द्रीय सदस्य गौरिश्वर पाण्डेको प्रमुख आतिथ्यमा २०७९ माघ ४ गते बुधबार सो भेला सम्पन्न भएको हो ।
भेलामा बौल्दै प्रमुख पाण्डेले बागलुङ बजारमा यही फागुन २१ गतेसम्म सञ्चालन हुँदै गरेको राजमो जिल्ला सम्मेलन सफल पार्न जोड दिनुभयो । साथै उहाँले पालिका तथा वडा सम्मेलन भव्य रूपमा सम्पन्न गर्नका लागि जिल्लाभित्रका सम्पूर्ण पालिका तथा वडाका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।
उहाँले सङ्गठनात्मक गतिविधिलाई तीव्र रूप दिनुपर्ने आवश्यकता औल्याउनुभयो । “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ र सङ्घीयताको खारेज गरौँ” मूल नाराका साथ जिल्लाव्यापी पालिका स्तरीय कार्यक्रम सञ्चालन भइरहेको र यसलाई निरन्तरता दिने पनि आग्रह गर्नुभयो ।
भेलामा बोल्दै रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव सहबिन अर्गेजाले फागनु ७ र ८ गते बुर्तिबाङ बजारमा हुने रक्तिम सांस्कृतिक जिल्ला सम्मेलन सफल पार्न विभिन्न पालिका तथा वडाबाट प्रतिनिधित्व गर्ने पर्यवेक्षक तथा विभिन्न मोर्चाका कार्यकर्तालाई उपस्थित भई भेला सफल पार्न आग्रह गर्नुभयो ।
भेलामा अखिल नेपाल शिक्षक सङ्घका जिल्ला सदस्य टीकाबहादुर पुन, अखिल नेपाल जनजाति सम्मेलन ढोरपाटन नगर अध्यक्ष ओमप्रसाद बुढा, रक्तिम सांस्कृतिक अभियानका नगर अध्यक्ष झकप्रसाद श्रेष्ठ, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य धनबहादुर कुँवरलगायतले बोल्नुभएको थियो ।
भेला राजमो ढोरपाटन नगरपालिका–१ की उपाध्यक्ष धनकुमारी कुँवरको अध्यक्षता, राजमो वडा सल्लाहकार निमलाल पाण्डेको स्वागत र ओमबहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।
भेलाले ओमबहादुर घर्ती अध्यक्ष रहनुभएको नौ पूर्ण सदस्यीय राजमोको वडासमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मीना बुढा, कोषाध्यक्षमा नरमाया विक, सचिवमा टोपबहादुर केसी (प्रेम) तथा सदस्यहरूमा निमलाल पाण्डे, चूडामणि अर्याल, बोमबहादुर सुनार र भविसरा सिर्पाली चयन हुनुभएको छ ।
समितिमा सदस्यको एक स्थान रिक्त रहेको राजमो कार्यालय सचिव कुलबहादुर छन्त्यालले जानकारी दिनुभएको छ । उहाँका अनुसार सल्लाहकारहरूमा धनबहादुर कुँवर, झकप्रसाद श्रेष्ठ र दुर्गा परियारलाई चयन गरिएको छ ।