काठमाडौं । सत्तारुढ दलहरुले मन्त्रालयको भागबन्डा टुंग्याएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालयको भागबन्डा टुंग्याएको हो ।
दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, ४ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। अहिले माओवादीबाट प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री छन् । अब ३ मन्त्री र र १ राज्यमन्त्री थपिने छन्।
सञ्चार तथा प्रविधिमन्त्रीमा रेखा शर्मा र पर्यटनमन्त्रीमा सुदन किराँती लगभग पक्का भएको मााओवादी निकट स्रोतले जानकारी दिएको छ।
भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका किराँतीले एमालेका पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गरेका हुन्। त्यस्तै, शर्माले दाङबाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन्।
त्यस्तै, नेकपा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। एमालेबाट अहिले सरकारमा बिना विभागीयसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्रीसहित ४ मन्त्री छन्। एमालेले अब ४ मन्त्रालय पाएको छ।
मन्त्रिपरिषद् विस्तार आजै हुने भएको छ । दिउँसो १ बजे नयाँ मन्त्रीहरूको शपथ हुने भएको हो।
स्रोतका अनुसार नेकपा एमालेले डा. विमला राई पौडेललाई परराष्ट्रमन्त्री बनाउने भएको छ । पौडेल राष्ट्रियसभा सदस्य हुन् । यस्तै, पदम गिरि स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएका छन्। पर्वतबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका गिरिलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृहबाहेक शिक्षा र श्रम मन्त्रालय पाएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री सहित सरकारमा रहेको रास्वपाले थप २ मन्त्रालय पाएको हो।
रास्वपाबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा शिशिर खनाललाई पठाइने भएको छ । त्यस्तै, डोलप्रसाद अर्याल (डिपि) लाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ। स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीलाई पठाउने जिम्मेवारी भएको रास्वपाका सहायक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।
राष्ट्रिय प्रजातान्त्र पार्टीले पनि ३ मन्त्रालय पाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री बन्ने भएका छन्। साथमा सहरी विकास र खेलकुद मन्त्रालय राप्रपाको भागमा परेको छ। शहरी विकास मन्त्री ध्रुबबहादुर प्रधान बन्ने भएका छन्।
त्यस्तै, शहरी विकास राज्यमन्त्रीमा दीपकबहादुर सिंहलाई नियुक्त गर्ने तयारी रहेको स्रोतले दाबी गरेको छ। युवा तथा खेलकुदमा विक्रम पाण्डे र धवलशम्शेर राणामध्ये एकजना पठाउने तयारी रहेको राप्रपाका एक नेताले बताए ।
जनता समाजवादी पार्टीलाई २ मन्त्रालय दिने निर्णय भए पनि ऊ सहमत भएको छैन।