चन्द्रकान्त शर्मा, बेंगलोर ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलुरु उत्तर नगर समितिले रक्तिम सांस्कृतिक अभियानका कलाकार विजय पहरीको स्मृतिमा शोक सभाको आयोजना गरेको छ ।
विजयको मृत्यु भएको १४ औं दिनमा समाजले शोक सभा गरी उनीप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।
कार्यक्रममा समाजका महासचिव कुलबहादुर थापाले विजय पहरी जस्तो इमानदार, लगनशील, अनुशासित र एक जुझारु सदस्य गुमाउनु परेकोमा आफूलाई पिडा हुनुको साथै सिंगो संगठनलाई अपूरणीय क्षति पुगेको बताउनु भयो ।
थापाले विजयका अपुरा सपनालाई पूरा गर्न सबै लागे मात्र उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनु भएको थियो । सम्पूर्ण स्तरका कार्यकर्ताहरुले शोकलाई शक्तिमा परिणत गर्न समेत सहभागिहरुलाई आव्हान पनि गर्नु भयो ।
शोक सभामा उत्तर नगर समितिबाट तिलक केसी, दक्षिण नगरबाट रमेश विक, परिवारको तर्फबाट दानबहादुर पहरी, दिलिप विक, निर्मला दहाल, भारती परियार, किसन परियार, सूर्य बहादुर बनिया, चक्र राहुल लगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा एकता समाज बेंगलुरु उत्तर नगर समितिका उपाध्यक्ष दशरथ विक, सदस्य नरेश कुमार विक, चन्द्रकान्त शर्मा, डिल्ली प्रसाद शर्मा, गोबिन्द शर्मा, मानबहादुर विकलगायतले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
दुई मिनेट मौनधारण पछि अबिर र फूलका गुच्छाले श्रद्धासुमन प्रकट गरिएको शोक सभाको अध्यक्षता मृतकका बुवा धरम पहरी र सञ्चालन ओम बहादुर दाहालले गर्नुभएको थियो ।
गत ३१ डिसेम्बर साँझ करिब ६ बजे मैसूरबाट पिकनिक सकि आफ्नो निवास वेंगलोरतर्फ मोटर साइकलमा फर्किने क्रममा विजय र उनका साथीलाई वेगंलोरको दुरे भन्ने स्थानमा ट्रकले ठक्कर दिएको थियो । साथीको घटनास्थलमै र विजयको उपचारका क्रममा निधन भएको थियो ।
रक्तिमका कलाकारसमेत रहेका २२ वर्षीय विजय मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य एवं वेंगलोर उत्तर नगर समितिका अध्यक्ष धरम पहरी र महिला क्षेत्रीय विभागकी सदस्य दुरा पहरीका कान्छा छोरा हुन् ।
रक्तिमका कलाकार विजय पहरीको मोटरसाइकल दुर्घटनामा निधन

