काठमाडौँ । एक सय तिसौँ माओत्सेतुङ जन्मदिवसको अवसरमा अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) ले चिनियाँ सर्वहारा सांस्कृतिक कार्यक्रमबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
“साहित्यमा महान् सर्वहारा सांस्कृतिक क्रान्ति” विषयक उक्त अन्तरक्रिया कार्यक्रम २०७९ पुस ११ गते भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
कार्यक्रममा दुई जना प्रमुख अतिथि वक्ताहरूलाई विषयवस्तु प्रस्तुत गर्नका लागि निम्त्याइएको थियो । उहाँहरू हुनुहुन्थ्यो : अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्ष प्रा.डा. श्रीधर गौतम र प्रगतिवादी साहित्यकार तथा चिन्तक डी.आर. पोखरेल ।
कार्यक्रममा मन्तव्य राख्दै प्रगतिवादी साहित्यकार डी.आर. पोखरेलले सर्वहारा सांस्कृतिक क्रान्ति सर्वहारा क्रान्तिपछिको विषय नभएर त्यसभन्दा पहिल्यै कम्युनिस्टहरूले व्यवहारमा उतार्नुपर्ने विषय भएको बताउनुभयो ।

नेपालमा सत्तामा पुगेका कम्युनिस्ट नामधारीहरूले सर्वहारा सांस्कृतिक क्रान्तिबाट शिक्षा नलिएको उहाँले बताउनुभयो । आत्माआलोचना समाप्त भइसकेको तथा आलोचनासम्म सुन्न नचाहने विकृत प्रवृत्ति नेपाली कम्युनिस्ट आन्दोलनमा देखा परेको उहाँले बताउनुभयो । उहाँले नेपालमा कम्युनिस्ट राजनीति गर्नेहरूले चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिबाट सिक्नुपर्ने बताउनुभयो ।
साहित्यकार पोखरेलले माओत्सेतुङले पहिलेदेखि नै सर्वहारा संस्कृतिको पक्षमा लेख्दै र बोल्दै आइरहेकोमा रुसमा संशोधनवादको प्रभाव बढेपछि त्यसको शिक्षास्वरूप चीनमा सर्वहासा सांस्कृतिक क्रान्ति अगाडि बढाइएको बताउनुभयो । त्यसका साथै उहाँले नयाँ जनवादी क्रान्तिपछि चीनमा देखा परेको गैरसर्वहारा प्रवृत्तिको विरुद्ध पनि उक्त क्रान्ति लक्षित रहेको थप्नुभयो ।
अर्का अतिथि वक्ता अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्ष प्रा.डा. श्रीधर गौतमले माओत्सेतुङले सबैभन्दा पहिला चीनको अध्ययन गर्नमा अत्यधिक समय लगाएको बताउनुभयो । पहिला चीन र त्यसपछि माक्र्सवाद–लेनिनवादको अध्ययन गरेपछि माओको दृष्टिकोण परिपक्व भएको उहाँले बताउनुभयो ।

साहित्यमा माओत्सेतुङ महत्त्वपूर्ण योगदान रहेको बताउँदै संशोधनवादी राजनीतिक र संस्कृति पुराना नेताहरूले अपनाएकाले त्यसको विरुद्ध १९६४ देखि १९६६ सम्म तयारी गरेर १९६६ देखि १९७६ सम्म महान् सर्वहारा सांस्कृतिक क्रान्ति चलाइएको बताउनुभयो । उहाँले सो क्रान्तिको माझमा नेताहरू जनताको माझमा उनीहरूबाट सिक्न पठाइएको प्रा.डा. गौतमले बताउनुभयो ।
उहाँले सर्वहारा सांस्कृतिक क्रान्तिभन्दा पहिले नै माओत्सेतुङले येनान गोष्ठीमार्फत जनता नै साहित्यको स्रोत भएको तथा सर्वहारा साहित्य पनि जनताकै लागि भएको तथ्य स्थापित गरिसक्नुभएको बताउनुभयो । क्रान्तिकारी राजनीति र कलामा एकता भयो भने राजनीतिले सही दिशा पक्रन्छ भन्नेबारेमा माओत्सेतुङ पहिलेदेखि नै प्रष्ट हुनुहुन्थ्यो भन्ने प्रा.डा. गौतमको भनाइ थियो ।
अन्पाका अध्यक्ष समीर सिंहको अध्यक्षता तथा महासचिव प्रकाश थापामगरको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा केन्द्रीय सदस्य तारामणि न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
गिरीप्रसाद बुढा, नेत्रलाल शर्मा र रवि पौडेलले पूरक जिज्ञासा राख्नुभएको उक्त कार्यक्रममा देशविदेशबाट सहभागिता रहेको थियो ।

