काठमाडौं । उत्तर सिक्किमको जेमा भन्ने ठाउँमा भारतीय सेनाको गाडी दुर्घटना हुँदा १६ जवानको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार सैनिक घाइते भएका छन्।
दुर्घटनामा परी ज्यान गुमाउने जवानहरूमध्ये तीनजना जुनियर कमिशन्ड अफिसर पनि छन् ।
सेनाले एक विज्ञप्ति जारी गरी बताएअनुसार आज बिहान जवानहरू लिएर सेनाका तीनवटा वाहन उत्तर सिक्किमको चेट्टानबाट थङ्गुतर्फ गइरहेका थिए।
यसैबिच जेमा पुग्दा सेनाको एक वाहन अचानक दुर्घटनामा परÞ्यो, जसका कारण सेनाका १६ जवानको घटनास्थलमै मृत्यु भने अन्य चार जना घाइते भएका छन्।
सेनाले तत्कालै राहत अनि उद्धार कार्य गरेको थियो। घाइते चार जवानलाई हेलिकप्टरमार्फत उपचारका लागि पठाइएको बताइएको छ।
अर्कोतर्फ, राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र रक्षा मन्त्री राजनाथ सिंहले गहिरो दु:ख व्यक्त गर्दै मृतक जवानका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
साथै, उनीहरूले घाइते जवानहरूका शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।