काठमाडौं । चितवन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट परेको छ ।
रविको नेपाली नागरिकताबारे विवाद भइरहँदा काठमाडौंका युवराज पौडेल ‘सफल’ले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
संवैधानिक इजलासमा दायर रिटमा लामिछानेको सांसद पदसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि खारेजी माग गरिएको छ।
‘मतदान गर्ने, उम्मेदवार बन्ने र राजनैतिक दल खोल्ने अधिकार केवल नेपाली नागरिकलाई मात्रै प्रदान गरिएकोले विपक्षी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र सदस्यता गैरकानूनी घोषणा गरी पाऊँ’ रिटमा भनिएको छ, ‘सो हैसियतमा प्राप्त गरिएको सम्पूर्ण लाभ अर्थात् मतदाता भएर गरिएको मतदान, निर्वाचनमा भएको उम्मेदवारी र त्यस्तो उम्मेदवारी आधारमा प्राप्त सांसद पद (प्रतिनिधि सभा सदस्य) समेत उत्प्रेषणको आदेशले बदर गरी पाऊँ।’
रिटमा यो मुद्दाको अन्तिम किनारा नलागेसम्म रविलाई सांसदका रुपमा काम गर्ने कुरामा रोक लगाउन पनि माग गरिएको छ।
त्यस्तै चितवन २ बाट विजयी भएका रविको सांसद पदलाई पनि मान्यता नदिन भनिएको छ।
‘यस्तो गैरकानुनी पद, हैसियत र लाभलाई मान्यता नदिनु र निर्वाचन कार्यालयमा अभिलेख भएको निजको राजनैतिक दलको सदस्यता एवम् सभापतिको पद खारेज गर्नु भनि विपक्षीहरु नाममा परमादेशको आदेश जारी गरी पाऊँ’ रिटमा उल्लेख छ ।
रिटमाथि पुस ६ गतेको संवैधानिक इजलासमा पेसी तोकिएको छ। रविको नागरिकता विवादमा अहिले काठमाडौं प्रहरी परिसरले पनि छानबिन अघि बढाएको छ।