काठमाडौं । माघ १ गते देशभर माघे संक्रान्ति पर्व मनाइएको छ । विभिन्न जिल्लाबाट काठमाडौं आई बसोबास गर्ने थारु र मगर समुदायले काठमाडौंको टुँडिखेलमा छुट्टाछुट्टै माघे सक्रान्ति मनाएका छन् ।
थारु समुदायले बुधबार ‘माघी महोत्सव’को आयोजना गरी धुमधामका साथ माघी मनाएका हुन् । यो समु्दायमा पनि माघी पर्वलाई नयाँ वर्षको रुपमा पनि मनाउने गर्दछन् । महोत्सवमा थारु समुदायले आफ्नो संस्कृति झल्कने पहिरनमा सजिएर विभिन्न नाचगान सहित रमाइलो गरी मनाएका छन् । महोत्सवमा थारु संस्कृति भल्कने घाटो, सामा चकेवा, झम्टा, थारु लगायतका नाचको प्रदर्शनी गरेका थिए ।
महोत्सवमा थारु जातिका विभिन्न खानाका परिकार राखिएको थियो । माघीमा विशेषगरी खिचडी, अन्दीको रोटी, चामलको पिठोबाट बनाइएको ढिक्री, मेवाको अचार, सुँगुरको मासु, घुँघी लगायतका परिकारहरु खाने प्रचलन छ । त्यस्तै महोत्सवमा थारु समुदायले एक अर्काबीच शुभकामना आदानप्रदान र मिष्ठान्न भोजन गरी रमाइलो गरेका थिए ।
यस्तै, मगर समुदायले माघे सक्रान्ति पर्वलाई नयाँ वर्षको रुपमा समेत मनाएका छन् । देशका विभिन्न भागमा बसोबास गर्दै आएका मगर समुदायले आफ्नो सांस्कृतिक र ऐतिहासिक महत्वको रुपमा यो पर्वलाई मनाएका छन् । मगर समुदायमा आफ्ना छोरी चेलीको पूजा गरी आशीर्वाद तथा दक्षिणा दिने चाडका रुपमा समेत माघे संक्रान्ति मनाउने गर्छन् । विभिन्न जिल्लाबाट काठमाडौं आई बसोबास गर्ने मगर समुदायले बुधबार काठमाडौंको टुँडिखेलमा सांस्कृतिक कार्यक्रम गरी माघे संक्रान्ति मनाएका छन् । कार्यक्रममा मगर समुदायको मौलिक नृत्य हुर्रा, कौरा, मारुनी, भ्यउरे, टम्पा र सालैज्यू लगायतका नाचहरु र झाँकी समेत प्रस्तुत गरेका थिए ।
माघे संक्रान्तिका अवसरमा विभिन्न परिकारहरु बनाएर खाने प्रचलन अनुसार तरुल, सखरखण्ड, गिठ्ठा, भ्याकुर, खिचडी लागयतका परिकारहरु तयार गरी वितरण गरिएको थियो ।
