गुलरीया । तत्कालिन शाही सरकारद्वारा हत्या गरिएका शहिद टोपबहादुर कार्कीको १७ औँ स्मृति दिवस मंगलबार विविध कार्यक्रम गरी मलाइएको छ। शहिद टोपबहादुर कार्कीको जीवनसंगीनि पावर्ती कार्कीको प्रमुख आतिथ्यता रहेको बर्दियाको बाँसगढीमा आयोजित स्मृति सभालाई अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष तुल्सीराम सापकोटा, अखिल नेपाल युवक संघका महासचिव कृष्ण पाण्डे, अखिल नेपाल जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढा,रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्ष मान बहादुर भण्डारीलगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
त्यस्तै,राजमोका पूर्व महासचिव तथा पूर्व सांसद हरि आचार्य,राजमो बाँके जिल्ला अध्यक्ष भिम प्रसाद देवकोटालगायत अतिथीहरुले शहिद स्वर्गीय कार्कीको फोटोमा माल्यापर्ण गरि शोक व्यक्त गर्नुभएको थियो । राजमो बर्दियाका जिल्ला उपाध्यक्ष निर्मला अर्यालको अध्यक्षता तथा राजमो बर्दियाका जिल्ला सचिव लोक बहादुर रानाले कार्यक्रमको सञ्चाल तथा शहिद कार्कीको जिवनी बारे प्रकाश पर्नुभएको थियो । कार्यक्रममा शहिद कार्कीको छोरीहरु सावित्री कार्की,बसन्ती कार्की,मनिसा कार्की र छमी कार्कीको समेत उपस्थिती रहेको थियो ।
२०५९ पुस ३० गते तत्कालीन शाही सेनाले टोपबहादुर र उहाँका बुवा भोजबहादुरको गोली हानी निर्मम हत्या गरेको थियो । बर्दियाको राजापुरस्थित मानपुर टपरामा घरबाट दुबै बाबुछोरालाई अपहरण शैलीमा लतार्दै निकालेर नजिकैको तोरीबामरीमा पुर्याएर गोली हानेर मारिएको थियो ।
नेपाली सेनामा कार्यरत उहाँका छिमेकी हरिराम चौधरीले जग्गाको सीमा विवादका कारण माओवादीको आरोप लगाएर हत्या गराएका थिए । कार्कीको हत्यापछि राजमोले देशब्यापी विरोध गरेको थियो । त्यस क्रममा सेनाले घटना छानबिन गरी गोली हान्न आदेश दिने कमाण्डरसहित घटनामा संलग्नहरुलाई आन्तरिक कारबाही गरेको थियो ।
शाहीकालमा सेनाले गोली चलाएको घटनामा आफ्ना कमाण्डरविरुद्ध कोर्टमार्शल गरेको त्यो पहिलो घटना थियो । राजमोले त्यतिबेलै कार्कीलाई शहिद घोषणा गरेको थियो ।
सहादत प्राप्त गर्ने बेला टोपबहादुर तत्कालीन जनमोर्चा नेपाल बर्दियाको सदस्य, अखिल नेपाल जनवादी युवा संघ बर्दियाका सचिव र भेरीकर्णाली क्षत्रीय समितिको सदस्यमा रहेर पार्टीको जिम्मेवारीमा सक्रिय हुनुहुन्थ्यो ।
आफ्ना सहकर्मीको हत्याबारे स्मरण गर्दै युवक संघका महासचिव कृष्ण पाण्डेले युगदर्शनसँग भन्नुभयो, ‘एउटा असल साथी र पार्टीको इमान्दार सदस्य गुमाउनुको पीडा अहिले पनि उस्तै छ । हरेक वर्ष उहाँको स्मरण गरी शहिद कार्कीले देखाएको बाटोमा निरन्तर अघि बढ्ने सबैले प्रण गर्नुपर्छ ।’
शहिद कार्कीको परिवार निरन्तर राजमोमा संलग्न रही राजनीतिप्रति क्रियाशील छ । कार्कीकी धर्मपत्नी पार्वती कार्की अखिल नेपाल महिला संघ बर्दियाको उपाध्यक्ष हुनुहुन्छ ।

