काठमाडौँ । धर्मको नाममा यौनशोषणलगायतका विभिन्न गतिविधिमा संलग्न टर्कीका कथित धर्मगुरु अदनान ओक्तारलाई आठ हजार ६५८ वर्ष कैदसजाय तोकिएको छ । टर्कीको एउटा अदालतले उनलाई उक्त सजाय सुनाएको हो ।
यसअघि, जनवरी २०२१ मा अदनानलाई उनीमाथि लागेको १० अलग अलग आरोपमा एक हजार ७५ सालको सजाय सुनाइएको थियो । त्यसमा क्रिमिनल ग्याङ सञ्चालन गरेको, राजनीतिक र सैन्य कूमा सामेल भएको नाबालिग किसोरीसँग यौनशोषण बलात्कार तथा ब्ल्याकमेल गरेको, यातना दिएको जस्ता आरोप सामेल थिए ।
सोही मुद्दामा इन्स्तानबुल हाई क्रिमिनल कोर्टले १७ नोभेम्बरमा अदनान ओक्तारलाई गैरकानुनी रूपमा धर्मको आडमा अर्गनाइजेसन सञ्चालन गरेको, शिक्षा र यौन अधिकारलाई उल्लङ्घन गरेको, यातना दिएको, निजी डाटा चोरी गरेको, आपराधिक ग्याङ बनाएको, राजनीतिक व्यक्ति तथा सेनाको जासुसी गरेको कसुरमा ८ हजार ६५८ सालको कैद सजाय सुनायो ।
अदालतले यो मामिलामा १० अन्य दोषीलाई पनि ८ हजार ६५८ सालको कैद सजाय तोकेको थियो ।
अदनानलाई दिइएको सजाय टर्कीको इतिहासमै दोस्रो लामो जेलसजाय हो । यसअघि अर्का एक व्यक्तिलाई ९ हजार ८०३ वर्ष ६ महिनाको कैद सजाय सुनाइएको थियो ।
अस्पतालमा साइकियाट्रिस्ट परीक्षणका क्रममा अदनानलाई पारानोयड स्किट्सफ्रिनिया नामको रोग रहेको तथ्य प्रकाशमा आयो । यो एक प्रकारको पागलपन अर्थात् दिमागी समस्या हो, जसमा रोगीको मनमा अनेक प्रकारका भ्रम हुन्छन् र उसले आफ्ना सपना र वास्तविकतामा फरक पाउँदैन । (एजेन्सी)





