नारायणगढ । राष्ट्रिय जनमोर्चाको समानुपातिक उम्मेदवार केन्द्रीय प्रचार अभियानले चितवनस्थित नारायणगढको चौबिसकोठीमा सभा सम्पन्न भएको छ ।
केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको प्रमुख आतिथ्यमा २०७९ कात्तिक २७ गते उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालीले प्रतिगमनलाई हराउन वाम–लोकतान्त्रिक गठबन्धनलाई आगामी मङ्सिर ४ गतेको चुनावमा भोट दिनुपर्ने बताउनुभयो ।
‘प्रतिगामी शक्तिहरूलाई पराजित गर्न पाँच दल मिलेर वाम–लोकतान्त्रिक गठबन्धन बनाएका छौँ’ उहाँले भन्नुभयो– ‘यो गठबन्धनलाई विजय गराउन हामीलाई मतदान गर्नुहोला ।’
उहाँले समानुपातिकतर्फ सबैले राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।
राजमोका उम्मेदवारलाई जिताएर मात्रै देश गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको विरोध तथा सङ्घीयताको खारेजीमा मदत पुग्ने बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले वाम–लोकतान्त्रिक गठबन्धन रहरले नभएर बाध्यताले बनेको बताउनुभयो ।

‘नेकपा (एमाले) लाई हामीले मित्रशक्ति मानेका छौँ’ एमालेको नेतृत्वमा २०७२ सालको सरकारमा सामेल भएको प्रसङ्ग जोड्दै उहाँले भन्नुभयो– ‘जब मित्रशक्तिले नै जनआन्दोलनको उपलब्धि समाप्त गर्न खोज्यो, त्यसपछि हामीले यो गठबन्धन बनाउनुपर्यो ।’
उपाध्यक्ष शर्माले एमालेले भारतको सहयोगमा नेपालमा प्रतिगामी कदम उठाएको बताउनुभयो ।
प्रतिगमनलाई निस्तेज पार्नका लागि मङ्सिर ४ गतेको चुनावमा गठबन्धनमा सामेल दललाई भोट दिनुपर्ने आवश्यकतामा उहाँको जोड थियो ।
कार्यक्रममा नेकपा (मसाल) चितवनका प्रवक्ता मेघराज ढकाल, प्रतिनिधि सभातर्फ राजमोकी उम्मेदवार देवी शर्मा र बागमती प्रदेशमा राजमोका समानुपातिक उम्मेदवार डम्मर पुरीले पनि मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, रक्तिम सांस्कृतिक अभियानका महासचिव जीवन शाही, राजमो केन्द्रीय सदस्य मोहनमणि ढकाल, वामपन्थी नेता इन्द्र पौडेल र बागमती प्रदेशमा राजमो समानुपातिक उम्मेदवार सीता क्षेत्रीको आतिथ्य रहेको थियो ।
राजमो चितवनका उपाध्यक्ष अमर क्षेत्रीको अध्यक्षता तथा जिल्ला सदस्य विष्णु पौडेलको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
जिल्लास्तरीय प्रचार पनि सँगै
यता, राजमो चितवनले जिल्ला विभिन्न स्थानमा समानुपातिक उम्मेदवारको प्रचार अभियान पनि सँगै चलाइएको छ ।

साङ्गीतिक कार्यक्रमसँगै जिल्लाका विभिन्न स्थानमा अभियान चलाइएको युगदर्शनका चितवन संवाददाता कृष्ण केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो अभियानमा चितवनबाट प्रतिनिधि सभा तथा प्रदेशसभाका राजमो समानुपातिक उम्मेदवार र राजमो चितवनका नेताहरूको सहभागिता रहेको थियो ।
