दिनेस रैदास, दाङ ।
राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले राष्ट्रियता रक्षाका लागि राष्ट्रिय जनमोर्चालाई जिताउन आम मतदातासँग आग्रह गर्नुभएको छ ।
राष्ट्रिय जनमोर्चाको केन्द्रीय समानुपातिक अभियान टोलीले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालीले संघीयताको खारेजी र राष्ट्रियता रक्षाका लागि राजमोका प्रतिनिधिहरु संसदमा जान जरुरी रहेको बताउनुभयो ।
उहाँले एमालेले गरेको प्रतिगमनका कारण राष्ट्रिय जनमोर्चा संविधान र लोकतन्त्र बचाउन पाँचदलीय गठबन्धनमा सामेल भएको स्पष्ट पार्नुभयो । उहाँले लोकतन्त्र रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई प्रतयक्षतर्फ र राष्ट्रियता जोगाउन राजमोलाई समानुपातिकमा मत दिन आग्रह गर्नुभयो ।
‘संघीय प्रणाली नेपालका लागि अफापसिद्ध भइसकेको स्पष्ट भएको छ । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता संसदबाट पास भएको छ । अमेरिकी सैन्य मिसन एसपीपीमा नेपाल सामेल गर्न खोजिएको छ । नागरिकता विधेयक ल्याएर देशलाई फिजीकरण गरिँदैछ । यस्तो अवस्थामा राष्ट्रियता जोगाउन राजमोका बढी भन्दा बढी प्रतिनिधि संसदमा जानुपर्ने आवश्यकता छ’ नेपालीले भन्नुभयो, ‘त्यसकारण लोकतन्त्र जोगाउन गठबन्धनका उम्मेदवारलाई र राष्ट्रियताका लागि समानुपातिकमा राजमोलाई भोट दिन आवश्यक छ ।’
त्यसक्रममा कार्यकारी अध्यक्ष नेपालीको राजमोले यही कात्तिक १७ गतेदेखि सञ्चालन गरिरहेको समानुपातिक अभियानबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा राजमो केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा, केन्द्रीय सदस्य तारा थापा, अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल युवक संघका पूर्वकेन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेल, रक्तिम सांस्कृतिक अभियानका महासचिव जीवन शाही, अखिल नेपाल कानुन व्यवसायी संघ केन्द्रीय उपाध्यक्ष नुमानन्द आचार्य, राजमो समानुपातिक उम्मेदवार कृष्णा राना, केशरी आचार्य, वलदेव विश्वकर्मा, राजमो नेता चुनचुन केसीको आतिथ्य रहेको थियो ।
राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष र लुम्बिनी प्रदेश समानुपतिक उम्मेदवार गणेश आचार्यको अध्यक्षतामा अघि बढेको कार्यक्रममा राजमो जिल्ला सदस्य सुशील पोख्रेलले स्वागत गर्नुभएको थियो भने सञ्चालन शुक्रराज भण्डारीले गर्नु भएको थियो।






