बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको निर्वाचन व्यक्तिको जित हार नभएर लोकतन्त्रको जित हारको निर्वाचन भएको बताउनुभएको छ ।
शुक्रबार बागलुङ निर्वाचन क्षेत्र नं. १ अन्तरगत काठेखोला गाउँपालिका वडा नं ८ मा जनभेटघाट तथा चुनावी प्रचार प्रसार कार्यक्रममा बोल्दै केसीले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
बागलुङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ का उम्मेदवारसमेत रहेका केसीले लोकतन्त्र रक्षाका लागि गठबन्धन गर्नुपरेको दोहोर्याउनु भयो ।
केसीले भन्नुभयो, ‘यो निर्वाचन व्यक्ति विशेषले जित्ने भन्दा पनि लोकतन्त्रले जित्ने कि हार्ने भन्ने भएकोले लोकतन्त्र र संविधानको रक्षाका लागि वाम लोकतान्त्रिक गठबन्धन बनाउनुपरेको हो ।’
गठबन्धनले शुक्रबार काठेखोला अन्तर्गत लेखानीको बाङ्गाबास, शिवालय, भुमेचौर र कादेशमा जनभेटघाट तथा प्रचार प्रसार कार्यक्रम गरेको थियो ।
कार्यक्रममा निर्वाचन क्षेत्र नं. १ क का प्रदेशका उम्मेदवार तथा नेपाली कांग्रेस बागलुङका पूर्वसभापति दिपेन्द्र बहादुर थापाले गठबन्धनले स्थायी सरकार र दिगो विकास दिन सक्ने भएकोले गठबन्धनको विकल्प नभएको बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस बागलुङका पूर्वसभापति तथा गण्डकी प्रदेश पर्यटन उद्योग तथा वाणिज्य मन्त्री मणिभद्र कँडेल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङगाना, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, नेकपा एकीकृत समाजवादी बागलुङका अध्यक्ष लालबहादुर थापा, नेसपाका केन्द्रीय सदस्य चित्र सापकोटा, संविधान सभा सदस्य रत्ना सेरचन, नेपाली कांग्रेसका प्रदेश समानुपातिक उम्मेदवार ज्ञान कुमारी श्रीस कँडेल, चम्पादेबि खड्का, राष्ट्रिय जनमोर्चा प्रदेश समानुपातिक उम्मेदवार पियारी थापा, नेकपा माओवादी केन्द्रका प्रदेश समानुपातिक उम्मेदवार कुशुम बुढाले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम पाँचदलीय गठबन्धन निर्वाचन परिचालन समिति काठेखोला–८ का संयोजक सूर्य कँडेलको अध्यक्षता, चानसिङ श्रीसको सञ्चालन र दिल बहादुर छन्त्यालको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा पाँचदलीय गठबन्धनका केन्द्र, प्रदेश, जिल्ला र पालिकास्तरीय नेता तथा कार्यकर्ताहरुको आतित्थ्यता रहेको थियो ।






