टुकबहादुर रामदाम, मस्कट (ओमन) ।
ओमानस्थित २४ सङ्घसंस्था तथा नेपाली दूतावासको आयोजनामा तिहारविशेष कार्यक्रम सम्पन्न भएको छ । अक्टोबर २८, २०२२ शुक्रबारका दिन ओमानको राजधानी मस्कटको एउटा फार्महाउसमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि ओमनस्थित नेपाली राजदूत डोरनाथ अर्यालले पानसमा बत्ति बालेर गर्नुभएको थियो । सो अवसरमा नौमती बाजासमेत बजाइएको थियो ।
कार्यक्रममा आयोजक संस्थाहरू गैरआवासीय नेपाली सोसल क्लब ओमान, ओमान नेपाली एकता समाज, जनसम्पर्क समिति, नेपाल जनप्रगतिशील मञ्च, प्रवासी नेपाली एकता मञ्च, प्रवासी नेपाली मञ्च, प्रवासी नेपाली एकता समाज (पानस), तमु समाज, नेपाल मगर सङ्घ, दलित एकता समाज, बागलुङ सेवा समाज, मोरङ–सुनसरी सेवा समाज, नेपाली समाज, नेपाली महिला समूह, गुल्मी सेवा समाज, नेपाल तामाङ समाज, बुद्ध भिजन, पाल्पाली परिवार, म्यादी प्रवासी नेपाली मञ्च, अन्तर्राष्टिय साहित्य च्याप्टर, रक्तदान समूह, सगरमाथा समूह, झापाली समाजका अध्यक्ष तथा प्रतिनिधिलाई पनि अतिथिको आसन ग्रहण गराइएको थियो ।
कार्यक्रममा मगर समाज, तमु समाजलगायतका संस्थाले सांस्कृतिक विविधता झल्काउने भेषभूषा प्रदर्शन गरेका थिए । सो अवसरमा सम्पूर्ण संस्थाको तर्फबाट देउसीभैलो प्रस्तुत गरिएको थियो ।
दोश्रो चरणको कार्यक्रम प्रवासी मञ्च ओमानका अध्यक्ष रन्जित आचार्य र ओमान नेपाली एकता समाजका महासचिव शालिकराम आचार्यले सञ्चालन गर्नुभएको थियो । आकर्षक पुरस्कारसहितका खेल कार्यक्रमको सञ्चालन राजेश महर्जनले गर्नुभएको थियो ।
कार्यक्रममा भाग्यचिट्ठालगायत खेलमा विजेता तथा कार्यक्रम प्रायोजकलाई सभाध्यक्ष र राजदूत महोदयबाट धन्यवादका साथै सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको सभाध्यक्ष नेपाली सोसल क्लबका अध्यक्ष विकल झाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नेपाली प्रगतिशीलका सचिव पूर्ण पहाडी विक र तामाङ समाजकी अध्यक्ष अनिता तामाङले गर्नुभएको थियो ।


