विष्णु शर्मा
साहुले बिदा दिएन दिदी,
सकिनँ आउन ।
अहिले पनि जुरेन हाम्लाई,
फूलमाला लगाउन ।
दिदी र बहिनीको सम्झना धेरै,
आउँछ तिहारमा ।
इन्दे्रणीसरि झल्काउन टीका,
नपाउँदा निधारमा।।
अखण्ड परिवार खण्डित हुन्छ छि ?
डर भो मनमा ।
एकताको प्रतीक फूलको माला,
नहुँदा गलामा ।
नझिम्काई आँखा हेरेकी हौली,
म आउने बाटोमा ।
मलाई नै भनी रोपेकी हौली,
झिनुवा पाटोमा ।
टाढा टाढा अरूलाइ देख्दा,
मेरै भाइ भन्दियौ ।
छिनभरमै टीका लगाएको,
कल्पना गर्दियौ ।
खानाका व्यञ्जन बनाएकी हौली,
भाइ आउँछ भनेर ।
बसेकी हौली मुछेर टीका,
फूलमाला उनेर ।
बजार गई आएकी हौली,
उपहार लिएर ।
प्रफुल्ल बन्न पाइनौ नि दिदी,
भाइलाई दिएर ।
चाडको बेला यो मन थाम्न,
सकिनँ केही गरी ।
छैन नि दिदी खाडीमा कुण्ठा,
बिसाउने चौतारी ।
मायाका सबै कोसेली मेरा,
सुरक्षित राख्नू है ।
मनको तिम्रो आशाको दियो,
बालेरै बस्नू है ।
समय आफ्नो विपरीत हुँदा,
हिम्मत झन् बढाउनू ।
परिस्थितिले रुवाउन खोजे नि,
आँसु न बगाउनू ।
रुनु भा’होला बाबा र आमा,
फुल्याउनू सम्झाई ।
मेरो अनुपस्थितिमा राख्नू है दिदी,
घरआँगन सजाई ।
अफ्ठ्याराहरु सबै पार गरि,
अर्को साल आउने छु।
त्यो न्यानो हातको संतरंगी टीका ,
निधारमा लाउने छु।